एमाले एकतामा अझै संशय, केपी ओलीको शैली सुध्रिनेमा नेपाल पक्ष सशंकित

आदर्श समाज सम्वाददाता
जेठ १, २०७८
uml meeting

पोखरा । नेकपा एमालेको माधव–झलनाथ पक्षले शुक्रबार सिंहदरबारमा भएको द्विपक्षीय वार्तामा रामबहादुर थापालाई सहभागी गराएको विषयमा आपत्ति जनाउँदै अध्यक्ष केपी ओलीप्रति संका व्यक्त गरेको छ।

आज भएको केन्द्रीय सदस्यहरुको भर्चुअल छलफलमा नेताहरुले अध्यक्ष ओलीको कार्यशैली शंकास्पद भएको निष्कर्ष निकालेका हुन्। उनीहरुले बैठकमा थापाको सहभागिताको विषयलाई दिएर कडा आपत्ति जनाएका छन्।

केन्द्रीय सदस्यहरुले कडा आपत्ति जनाएपछि वरिष्ठ नेता माधवकुमार नेपालले प्रतिक्रिया दिँदै हिजो नै आफूहरुले एमालेको मात्रै अहिले छलफल भएकाले बादलजीलाई किन सहभागी गराउनुभएको भन्दै आपत्ति जनाएको प्रष्टीकरण दिएका थिए।

‘अदालतको फैसलाअनुसार २०७५ जेठ २ मा फर्किनुपर्ने र फागुन २८ यताका सबै निर्णय खारेज हुनुपर्ने बटमलाइन भइरहेका बेला बैठकमा बादललाई पनि सहभागी गराइयो, एक केन्द्रीय सदस्यले भने, ‘यो भनेको अध्यक्ष केपी ओलीले धोका दिन खोजेको देखिन्छ। यसमा गम्भीर हुनुपर्छ।’ बादललाई समेत राखेर कार्यदल गठन र विवाद समाधान गर्न खोजेपछि ओली सुध्रने संकेत नदेखिएको केन्द्रीय सदस्यहरूको निष्कर्ष छ। केन्द्रीय सदस्यहरुले नेतृत्वलाई कमजोरी नगर्न पनि आजको छलफलमा सुझाव दिएका छन्।

आजको छलफलमा पार्टीलाई २०७५ जेठ २ मा लैजाने र गत फागुन २८ गतेको निर्णय खारेजी हुनुपर्ने सबै नेताहरुको एकमत रहेको केन्द्रीय सदस्य जगन्नाथ खतिवडाले जानकारी दिए।

‘नेता नेपालले राखेको ६ बुँदे मागलाई बटमलाइन बनाएर कार्यदलमा छलफल गर्न नेताहरुको सुझाव छ,’ उनले भने, ‘हिजोको बैठकमा बादललाई सहभागी गराएको विषयमा पनि आपत्ति जनाएका छन्।’

आजको छलफलमा सहभागी भएका केन्द्रीय सदस्यहरुले कार्यदलका नाममा ढिलो नगर्न र जतिसक्दो छिटो निकास निकाल्नुपर्ने धारणा व्यक्त गरेका छन्। एमाले विवाद मिलाउन दुवै पक्षका पाँच–पाँच जना रहने गरेर कार्यदल गठन गर्ने सहमति भएको छ।

तर, कार्यदलको अहिलेसम्म घोषणा भइसकेको छैन। ओली पक्षबाट कार्यदलमा सहभागी हुने सदस्यहरुको अझै टुंगो लागेको छैन। विष्णु पौडेल, सुवास नेम्वाङ र शंकर पोखरेलको भने निश्चित भइसकेको छ। यता माधव–झलनाथ पक्षले भने नेताहरु भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र रघुजी पन्त रहने बताइसकेको छ।

एमाले संसदीय दलका उपनेता सुवास नेम्बाङले आज दुवै नेताहरुले कार्यदलको टुंगो लगाएर गठन हुने बताएका थिए।

सर्वोच्च अदालतले फागुन २३ गते गरेको फैसलापछि नेकपा एमालेलाई नवौं महाधिवेशनबाट बनेको संरचनामा नलगेर एकलौटी गरेको भन्दै माधव–झलनाथ पक्षले समानान्तर कमिटी सञ्चालन गरेको छ। एमाले विभाजन हुने अवस्थामा पुगेकै बेला एकाएक बिहीबार ओली र माधव नेपालबीच भएको चार घन्टा लामो वार्ताले परिस्थिति नयाँ दिशातर्फ मोडिएको हो।

विवादकै बीच वैशाख २७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने दिनमा यो समूहले बैठक बहिष्कार नै गरेको थियो, जसका कारणले ओली सरकार ढल्न पुग्यो। त्यसपछि ओली र माधव नेपाल दुवै पक्षका दोस्रो तहका नेताहरुको सक्रियताले बिहीबार दुई नेताहरुबीच वार्ताको वातावरण बनेको थियो। सो वार्तामा कार्यदल बनाएर विवाद समाधान गर्न सहमति भएको थियो।

Related News

सम्बन्धित समाचार

hero news full width