गण्डकीमा एकैदिन १४ को मृत्यु

धनबहादुर गुरुङ
जेठ १, २०७८
Corona Banner

पोखरा । गण्डकी प्रदेशमा शनिबार एकैदिन १४ जनाको कोरोना संक्रमितको मृत्यु भएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार कास्कीका ६ सहित पर्वतका ३, स्याङ्जाका २, तनहुँ, गोरखा र म्याग्दीका १/१ जना कोरोना संक्रमितको निधन भएको हो ।

कास्कीको पोखरा महानगरपालिका २ की ३९ वर्षीया महिला, वडा नम्बर १५ का ४९ वर्षीय पुरुष, वडा नम्बर १४ की ४५ वर्षीया पुरुष र वडा नम्बर ३० का पुरुषको उपचारको क्रममा शुक्रबार मृत्यु भएको हो । पोखरा १४ का ५२ वर्षीय पुरुषको पनि मणिपाल शिक्षक अस्पतालमा उपचारको क्रममा शनिबार निधन भएको हो । शनिबार नै पोखरा ८ का ४२ वर्षका पुरुषको संक्रामक तथा सरुवा रोग अस्तालमा उपचारको क्रममा ज्यान गएको हो ।

म्याग्दीको बेनी नगरपालिका ५ की ४५ वर्षीया महिलाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा शुक्रबार मृत्यु भएको हो । गोरखाको शहिद लखन गाउँपालिका ४ का ४२ वर्षीय पुरुषको गोरखा जिल्ला अस्पतालमा उपचारको क्रममा शुक्रबारनै ज्यान गएको हो । तनहुँको भीमाद नगरपालिका ५ की २२ वर्षीया पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा शनिबार बिहान निधन भएको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद बिन्दु शर्माले जनाए ।

यसैगरि स्याङ्जाको अर्जुनचौपारी १ का ७० वर्षीय पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारकै क्रममा मृत्यु भएको हो । स्याङ्जा कै वालिङ नगरपालिका ६ का ८७ वर्षका पुरुषको गण्डकी मेडिकल कलेजमा ज्यान गएको हो । उनीहरु दुवैजनाको शुक्रबार मृत्यु भएको हो ।

यस्तै पर्वतको जलजला गाउँपालिका ४ का ५५ वर्षीय पुरुष र पर्वत कै कुश्मा नगरपालिकाकी १२ वर्षीया महिलाको उपचारको क्रममा शुक्रबार मृत्यु भएको हो । शनिबार पर्वतको फलेवास नगरपालिका ५ की ३२ वर्षीय महिलाको पनि उपचारकै क्रममा ज्यान गएको हो । यो सँगै प्रदेशमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ सय ५५ पुगेको छ ।

म्याग्दीमा एकैदिन २ सय ३० जना संक्रमित
गण्डकी प्रदेशको म्याग्दी जिल्लामा एकैदिन २ सय ३० जना नयाँ संक्रमित थपिएका छन् ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार गण्डकी प्रदेशमा ७ सय ७० संक्रमित थप भएका छन् । ती मध्येसबै भन्दा बढि म्याग्दीमा देखिएको हो । दोस्रोमा कास्की रहेका छ । कास्कीमा १ सय ६८ जना थपिएका छन् । नवलपुरमा १ सय ४७ जना संक्रमित थपिदा मनाङ, मुस्ताङ र लमजुङमा कोरोना पोजेटिभको संख्या शून्य रहेको छ ।

बाग्लुङमा ७९, तनहुँमा ५८, गोरखामा ४९, स्याङ्जामा २१ र पर्वतमा १८ जनामा कोरोना पोजेटिभ देखिएको हो । योसँगै गण्डकीमा सक्रिय संक्रमितको संख्या ७ हजार ७ सय १५ पुगेको छ । भने ३ सय जनाले कोरोना जितेका छन् ।

नेपालभर पछिल्लो २४ घण्टामा देशभर थप ८ हजार १ सय ६७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै १ सय ८७ जनाले ज्यान गुमाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जनाएको छ ।

मन्त्रालयका अनुसार शनिबार पिसिआर विधिबाट १७ हजार ९ सय ७१ र एन्टिजेन विधिबाट ५७७ जनाको परीक्षण गर्दा ८ हजार १ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यस्तै सोही अवधिमा ५ हजार ४ सय ८८ जनाले कोरोना जितेका छन् ।

यससँगै देशभर कोरोना निको हुनेको कुल संख्या ३ लाख ३३ हजार १ सय ८ जना पुगेको छ भने कुल संक्रमितको संख्या चाहिँ ४ लाख ४७ हजार ७ सय ४ पुगेको छ ।

हालसम्म संक्रमितमध्ये ४ हजार ८ सय ५६ जनाको मृत्यु भएको छ भने बाँकी १ लाख ९ हजार ७ सय ४० जना सक्रिय संक्रमित रहेका छन् । उनीहरु होम आइसोलेशन र विभिन्न अस्पतालमा उपचाररत रहेका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width