अन्नपुर्णमा आइसोलेसन सञ्चालन

रासस
जेठ १, २०७८
Annapurna

म्याग्दी । नयाँ भेरियन्ट सहितको दोस्रो लहरको कोरोना (भाइरस)को सङ्क्रम फैलिएपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले नारच्याङ स्थित नेपाली सेनाले प्रयोग गरेको भवनमा २५ शय्याको आइसोलेशन कक्ष पुनः सञ्चालन गरेको छ ।
गत पुष महिनामा स्थापना भएको कोरोना अस्पताल कोरोनाका बिरामी भेटिन छाडेका, नियुक्त गरिएका चिकित्सक र स्वास्थ्यकर्मीको करार अवधि सकिएपछि फागुनमा बन्द भएको थियो । मिस्ट्री र घलेम्दीखोला जलद्यिुत आयोजना निर्माणका लागि आवश्यक पर्ने विस्फोटक पदार्थको भण्डारण र सुरक्षाका लागि नेपाली सेनाको क्याम्प राख्न जलविद्युत आयोजनाले भवन बनाएका थिए । आयोजना निर्माण सकिएपछि ति भवन प्रयोगविहिन बनेका थिए ।

सेनाको क्याम्प सरेपछि खाली भएका भवन मर्मत, रङ्गरोगन, खानेपानी, विद्युत जडान गरेर आइसोलेसन सञ्चालन गरिएको हो । गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले तत्काल मौजुदा स्वास्थ्यकर्मीहरुलाई परिचालन गरेर अस्पताल सुरु गरिसकेको र तलब व्यवस्थापन गरेर चिकित्सक ल्याउने र थप स्वास्थ्यकर्मी भर्ना प्रक्रियामा रहेको बताउनुभयो । उपचारमा खटिने स्वास्थ्यकर्मीलाई तलबको पचास प्रतिशत अतिरिक्त सुविधा गाउँपालिकाल दिने भएको छ । कामको चाप बढेपछि गाउँपालिकाले सञ्चालन गरेको प्रयोगशालाका कर्मचारीहरुको तलब बढाइएको छ । अन्नपूर्णको कोरोना अस्पतालमा १५ सिलिण्डर अक्सिजनको ब्यवस्था गरिएको छ । गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक समुन्द्र बरुवालले छ स्वास्थ्यकर्मीको तीन वटा समूह बनाएर २४ सै घण्टा सेवा दिइएको बताउनुभयो ।

“बेनी अस्पतालका चिकित्सकको सम्पर्कमा रहेर दुई जनालाई अक्सिजन र एक जनालाई आइसोलेसनमा राखेर उपचार भइरहेको छ,” उहाँले भन्नुभयो “अन्नपूर्णमा करिब तीस जना सक्रीय संक्रमित छन् । सात जनाले कोरोना जितेका छन् ।” केहीदिन अघि कोरोना सङ्क्रमण निको भएका सिनियर अहेव विक्रम पुनको नेतृत्वमा आइसोलेसन र कोरोना अस्पताल सञ्चालन भएको छ ।

वडा न। ४ गाडपारमा शुक्रबार एकै परिवारका पाँच जनामा सङ्क्रमण पुष्टि भएको छ । गत चैत तेस्रो हप्ता अन्नपूर्ण–४ नारच्याङमा जलविद्युत आयोजनाका ११ जना कर्मचारी र समुदायका चार जनामा कोरोना सङ्क्रमण भएको थियो । आठ वटै वडाका स्वास्थ्य चौकीमा पनि एक÷एक वटा अक्सिजन सिलिण्डरको ब्यवस्था गरिएको छ । सङ्क्रमितको उपचारका लागि आवश्यक पर्ने औषधि निःशुल्क उपलब्ध गराइने अध्यक्ष पुनले बताउनुभयो ।

Related News

सम्बन्धित समाचार

hero news full width