पोखरा । अस्पताल बन्दै छ । आइसियु कक्ष छैन । प्रदेश सरकारले पठाएको २ मध्ये एउटा भेन्टिलेटर जोडिएको छ । त्यो पनि प्राविधिक नभएकोले त्यसै थन्किएको छ । मनाङमा अहिले ४३ जना सक्रिय संक्रमित उपचाररत छन् । डाक्टर छैनन्, स्वास्थ्यकर्मी पनि निकै कम । कोभिडको बढ्दो ग्राफ थेग्न मुस्किल पर्दै गएको छ । बिरामीहरु संक्रमण देखिएपछि चर्को मूल्यमा हेलिकोप्टर चार्टर गरेर पोखरा र काठमाडौंका अस्पतालमा पुगेका छन् । ‘एउटा भेन्टिलेटर छ । प्राविधिक नभएको हुनाले चलाउन सकिएको छैन । ठाउँ नभएर आइसियु सञ्चालन हुन सकेको छैन,’ प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद लामिछानेले भने, ‘चामेले आइसोलेसन बेड तयार गरेको छ । अरु स्थानीय तहले पनि कोभिड अस्पताल भनेर बनाएका छन् । तर डाक्टर छैनन् । सामान्य स्वास्थ्यकर्मीको भरमा चलिरहेका छौं ।’
मनाङका २ जना बिरामी पोखरा र एकजना काठमाडौंमा हेली चार्टर गरेर पुगेका छन् । ‘बाटो राम्रो छैन । भएको दुईवटा एम्बुलेन्सले पनि खासै काम दिँदैन । बिरामीको स्वास्थ्य कमजोर हुँदै गए हेलिकोप्टरको विकल्प छैन,’ लामिछाने भन्छन्, ‘वास्तवमा दुखद समय व्यहोरिरहेका छौं । हाम्रा लागि कोरोना भारी पर्दै छ ।’ उनका अनुसार अक्सिजनको अभावसमेत बढ्दै छ । ‘कम्तीमा भेन्टिलेटर मात्रै चलाउन सके पनि धेरै आधार हुन्थ्यो । हेलिकोप्टरमा जानुपर्ने बाध्यता हुँदैनथ्यो,’ उनले भने, ‘अक्सिजन र स्वास्थ्य उपकरण तयारी अवस्थामा राखौं भनेर जोहो गर्न स्वास्थ्यकर्मीलाई पोखरा पठाएका छौं ।’ स्वास्थ्य कार्यालयका प्रमुखसहितको टोली अहिले पोखरामा अक्सिजन सिलिन्डर र औषधीको खोजीमा छ ।
स्वास्थ्य उपकरण र चिकित्सक नहुँदा हिमालपारीका जिल्लाका कोरोना संक्रमित हेलिकोप्टर चार्टर गर्नु बाध्यता छ ।
स्वास्थ्य उपकरण र चिकित्सक नहुँदा हिमालपारीका जिल्लाका कोरोना संक्रमित हेलिकोप्टर चार्टर गर्नु बाध्यता छ । मुस्ताङमा यतिबेला ६३ संक्रमित छन् । ४ जनालाई हेलिकोप्टरबाट पोखरा ल्याएको सांसद इन्द्रधारा विष्टले जानकारी दिए । ‘पहिले भन्दा दोब्बर महंगो भाडा छ । स्वास्थ्यकर्मीहरु पनि लगेर बिरामी ल्याउनुपर्छ,’ उनले भने, ‘डेढ/२ लाखमा उड्ने हेलिकोप्टरले यो बेला ५ लाखसम्म माग्छन् । बिरामीको ज्यान बचाउन भन्दा पैसा ठूलो भएन, के गर्नु ?’ यसअघिको कोभिड संक्रमणको बेला यी २ जिल्ला करिब सुरक्षित थिए । यसपालि केही सीप लागेन, कोरोना झन् माथि माथि चढ्दै गयो । दैनिक संक्रमित थपिँदै जाँदा मानसिक त्रास उस्तै थपिएको छ ।
जिल्लामा राम्रो उपचार नपाएर सहर झरेका बिरामीलाई यता पनि राम्रो उपचार छैन । सबैजसो अस्पताल भरिएका छन् । पर्याप्त सिलिन्डर नहुँदा अक्सिजन अभाव सुरु भइसकेको छ । जिल्लाका स्थानीय तहहरूले आइसोलेसन वार्ड तयार पारिरहेका छन् । कतै कोभिड अस्पताल पनि बनेका छन् । तर, स्वास्थ्यकर्मी छैनन् । हिमालपारीका जिल्लासँगै उत्तरी गोरखाको अवस्था पनि जटिल छ । दैनिकजसो बिरामीहरु हेलिकोप्टर चार्टर गरेर सहरी क्षेत्रमा झार्नुपर्छ । मनाङ, मुस्ताङका अधिकांश स्थानीय तहको काम संक्रमणका कारण ठप्प भएको छ भने बाहिरबाट मान्छे छिर्न रोक लगाइएको छ । स्वास्थ्य उपकरणमा सरकारले उतिसारो चासो नदिँदा दुख भोगिरहेका छन्, विकटका नागरिकहरु ।
गण्डकी प्रदेश सरकारले अघिल्लो वर्ष सबै जिल्ला अस्पतालमा भेन्टिलेटर सहितको आइसियु कक्ष तयार गर्न १४ करोड रुपैयाँ विनियोजन गरेको थियो । अधिकांश अस्पतालले सामान खरिद गरे पनि प्राविधिक नहुँदा जडान नगरी थन्क्याएर राखेका छन् । कतिपय ठाउँमा आइसियु कक्ष बनाउने भवन छैन । भवन भएर जोडिएका उपकरण प्रयोग गरिएका छैनन् । मनाङ र मुस्ताङमा २/२ बेड तथा अरु जिल्लामा ५ बेडका दरले आइसियु कक्ष बनाउन लागिएको थियो । सोही समयमा गाडी किन्न दिइएको पैसा सबै खर्च भइसकेको छ, तर उपकरण खरिद केही अस्पतालले अझै सकेका छैनन् ।
Related News
सम्बन्धित समाचार
प्रतिभामा सिमसार बहस गर्दै विद्यार्थी
जरोटुप्पोमा सम जयन्ती र सम्मान
‘शैक्षिक क्षेत्रबाट प्रहरी कार्यालय हटाऊ’
सराङकोटमा फागुन १४ देखि महायज्ञ हुने
नमस्ते हस्पिटल १३ औं वर्षमा
hero news full width
मुख्य समाचार
सहारा एकेडेमीका ६ खेलाडी ब्रिगेड ब्वाइजमा अनुबन्धित
कोटीहोम गोलचक्करमा पोखरा
माघ २८, २०८१थ्रिस्टार सेमिफाइनलमा प्रवेश
माघ २८, २०८१पूर्वराजा ज्ञानेन्द्र पोखरामा
माघ २८, २०८१गण्डकी धौलागिरी पेट्रोलियममा मोहन
माघ २८, २०८१सम जयन्तीमा रंगकर्मीको सम्मान
माघ २८, २०८१