मध्यबिन्दु जिल्ला अस्पतालमा अक्सिजन अभाव

आदर्श समाज सम्वाददाता
जेठ १, २०७८
Oxygen

नवलपरासी । कावासोतीमा रहेको मध्यबिन्दु जिल्ला अस्पतालमा अक्सिजन अभाव देखिएको छ ।

वीरगंजबाट प्रशासनले नवलपुरमा अक्सिजन पठाउन रोक लगाएपछि मध्यबिन्दु जिल्ला अस्पतालमा अक्सिजन अभाव हुन थालेको हो ।

‘जिल्ला अस्पतालमा अक्सिजन दिनुपर्ने २७ जना कोरोना संक्रमित छन् । उनीहरुलाई अहिले दैनिक ३० बढी अक्सिजन सिलिन्डर आवश्यक पर्ने गर्दछ ।’ मध्यबिन्दु जिल्ला अस्पतालका डा. वीरबहादुर थापाले भने, ‘अहिले तत्कालको अवस्था हेर्ने हो भने ११ थान अक्सिजन सिलिन्डरमात्र बाँकी छ ।’

अक्सिजन हाइ फलोमा दिनुपर्ने १ जना बिरामीकै लागि दैनिक १० सिलिन्डरसम्म अक्सिजन आवश्यक पर्ने गरेको उनले बताए ।

अहिले अन्यत्र जिल्लाबाट अक्सिजन आउन छाडेपछि नवलपुरको गैंडाकोटमा रहेको सिद्धिविनायक अक्सिजन उद्योग र दलदलेमा रहेको शंकर डिपोको भरमा नवलपुरमा अक्सिजन आपूर्ति भएको छ ।

गैंडाकोट नगरपालिकामा रहेको सिद्धिविनायक अक्सिजन उद्योगका प्रबन्धक हिमनाथ घिमिरेले आफूहरुकै पुरानो मेडिकल कजेजलाई पहिलो प्रथामिकतामा राखेर अक्सिजन आपूर्ति गर्ने सहमतिमा उद्योग खोलेका कारण पहिलो प्रथामिकता उक्त अस्पताल भएको बताए । तथापि दैनिक ५ देखि १० थान अक्सिजन सिलिन्डर भरेर भने पठाउने गरेको छ ।

प्रमुख जिल्ला अधिकारी मनमाया पंज्ञेनीले अक्सिजन उपलब्ध गराउन आफूले सबैतिर समन्वय गरिहेको जानकारी दिइन् ।

अझै एक हप्ता अक्सिजन अभाव हुने

नवलपुरको गैंडाकोटमा रहेको सिद्धिविनायक अक्सिजन उद्योगले पुरानो मेडिकल कजेजलाई अक्सिजन दिनुपर्ने भएकाले उसले निकै कम मात्रामा जिल्ला अस्पताललाई अक्सिजन बिक्री गर्ने गरेको छ ।

त्यसका अलवा अक्सिजनको डिलर नवलपुरका दलदलेमा रहेको शंकर डिपोले पनि मध्यबिन्दु जिल्ला अस्पताललाई दैनिक १५ को हाराहारीमा अक्सिजन सिलिन्डर भरेर पठाउने गरेको छ ।

त्योबाहेक नवलपुरमा बाहिर जिल्लाबाट अक्सिजन आपूर्ति गर्ने हो । चितवनले यसअघि नै चितवनबाहेक अन्यत्र अक्सिजन आपूर्तिमा रोक लगाइसकेको छ ।

स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईंले भने, ‘नवलपुरमा अझै १ साता अक्सिजन अभाव हुने देखिएको छ । शंकर डिपोले अक्सिजन प्लान्ट साता दिनभित्र सञ्चालनमा ल्याउने तयारी गरेको छ । त्यसपछि आपूर्ति सहज हुनेछ ।
जिल्ला अस्पतालको अक्सिजन प्लान्ट अझै सञ्चालनमा आएन

नवलपुर जिल्लाको मध्यबिन्दु जिल्ला अस्पतालमा जडान गरिएको अक्सिजन प्लान्ट अझै सञ्चालनमा आउन सकेको छैन । दैनिक १५ देखि २० जनासम्मलाई अक्सिजन दिन मिल्ने उक्त अक्सिजन प्लान्टअन्तर्गत अहिले पाइपलाइन जडान कार्य चलिरहेको छ ।

अस्पतालका डा. वीरबहादुर थापाका अनुसार अस्पतालमा अब ३/४ दिनमा प्लान्ट निर्माण कार्य सकिनेछ र सञ्चालनमा आउनेछ ।

यो प्लान्ट निर्माण भएपछि अहिलेकै अवस्थामा रहेको बिरामीलाई थेग्न सहज हुने थापाले बताए । एक्कासि अक्सिजन दिनुपर्ने संक्रमित बिरामीहरुको चाप बढेको खण्डमा भने धान्न नसक्ने अवस्था पुन सिर्जना हुने उनले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width