वालिङमा सञ्चालनमा आयो आइसोलेसन केन्द्र

तोलाकान्त बगाले
जेठ १, २०७८
walling Isolation 1

वालिङ । वालिङ नगरपालिकाले निर्माण गरेको अक्सिजनसहितको आइसोलेसन केन्द्र बिहीबार साँझदेखि सञ्चालनमा आएको छ ।

वालिङस्थित गर्‍हौं प्राथमिक अस्पतालमा अक्सिजनसहितको ३५ शड्ढयाको आइसोलेसन केन्द्र सञ्चालनमा ल्याइएको नगर प्रमुख दिलीपप्रताप खाँणले बताए ।

अस्पतालमा निर्माणाधीन भवनमा सञ्चालनमा ल्याइएको आइसोलेसन कक्षमा रहेका प्रत्येक शड्ढयामा अक्सिजन सिलिन्डर तथा अक्सिजन कन्सन्ट्रेटर जडान गरी उपचार गरिने उनले बताए ।

कोभिडको दोस्रो लहरका संक्रमितहरुमध्ये केहीलाई स्वास प्रस्वासमा समस्या देखिने गरेकाले उहाँहरुको अवस्था हेरी अक्सिजन दिएर उपचार गरिने र धेरै नै समस्या देखिएमा वा भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्र्ने अवस्था आएमा थप उपचारका लागि लगिने नगर प्रमुख खाँणले बताए ।

‘बजार तथा गाउँ/गाउँमा संक्रमितहरु हुनुहुन्छ उहाँहरुको प्रत्येक दिन फोनमार्फत स्वास्थ्य अवस्था बुझ्ने गरेका छौं,’ नगर प्रमुख खाँणले भने, ‘कसैलाई स्वास फेर्न अप्ठ्यारो भएमा वा अन्य समस्या भएमा तत्कालै गएर ल्याउँछौं र स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा राखेर उपचार गर्छौं ।’

विश्वव्यापी महामारीकोरुपमा तीब्र गतिमा फैलिरहेको नयाँ भेरियन्टसहितको कोभिड १९ को संक्रमण दर तथा संक्रमितको संख्या स्याङ्जाका एघार पालिकामध्ये वालिङमा धेरै छ ।

 गर्‍हौं प्राथमिक अस्पतालमा दैनिक लक्षण देखिएका विरामी तथा कन्ट्याक्ट ट्रेसिङमा परेका ब्यक्तिहरुको एन्टिजिन विधिमार्फत स्वाबको नमूना लिने गरिएको नगर उपप्रमुख कल्पना तिवारीले बताइन् ।

गर्‍हौं प्राथमिक अस्पतालमा अक्सिजनसहितको ३५ शड्ढयाको आइसोलेसन केन्द्र सञ्चालनमा ल्याइएको

उनका अनुसार अस्पतालमा गरिएको नमुना परीक्षणमा संक्रमण पुष्टि भएपछि आवश्यक औषधिहरु दिएर होम आईसोलेसनमा बस्न आग्रह गर्ने, अप्ठ्यारो भएमा वा कुनै समस्या देखिएमा तत्काल सम्पर्क गर्नकालागि नम्बरहरु दिएर पठाउने गरिएको छ ।

होम आइसोलेसनमा बस्दा स्वास्थ्यसम्बन्धी समस्या देखिएमा तत्कालै आइसोलेसन कक्षमा ल्याई उपचार गरिने उनले बताइन् ।

संक्रमितहरुलाई दैनिक मनोसामाजिक परामर्श दिने गरिएको छ भने घर–घरमै लगेर औषधिहरु पनि उपलब्ध गराउँदै आएको वालिङ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कमलप्रसाद पाण्डेले बताए ।

यसैबीच वालिङ नगरपालिकाले निर्माण गरेको आइसोलेसनका लागि अक्सिजन कन्सन्ट्रेटर खरिदका लागि सहयोग प्राप्त भएको छ । गर्‍हौं प्राथमिक अस्पतालमा रहेको आइसोलेसनलाई दाताहरुले अक्सिजन कन्सन्ट्रेटर खरिद गर्नका लागि नगर प्रमुख दिलीपप्रताप खाँणलाई नगद उपलब्ध गराएका हुन् ।

वालिङ ८ ब्याङतुङ निवासी स्यानीदेवी सुवेदी, गोपालधन सुवेदी, टीकाराम सुवेदी र डाक्टर बालकृष्ण सुवेदीले २ थान अक्सिजन खरिदका लागि २ लाख १३ हजार उपलब्ध गराएका हुन् । उक्त चेक गोपालधन सुवेदीले नगर प्रमुख खाँणलाई शुक्रबार हस्तान्तरण गरे । त्यस्तै वालिङ वडा नं. ८ का वडा सदस्य एवं व्यवसायी चेतनारायण श्रेष्ठले नगर प्रमुख खाँणलाई एक थान अक्सिजन कन्सन्ट्रेटर खरिदका लागि १ लाख ६ हजार हस्तान्तरण गरेका छन् । यसैगरी वालिङ १० बर्तुङ निवासी डोलराज सुवेदीले सोही मेसिन खरिदका लागि २० हजार सहयोग उपलब्ध गराएका छन्

सहयोग रकम बुझ्दै नगर प्रमुख खाँणले विपदका समयमा नागरिकको जीवन रक्षाका लागि अत्यावश्यक पर्ने स्वास्थ्य उपकरण खरिदका लागि नगद उपलब्ध गराएर ठूलो गुन लगाएको बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width