गण्डकी प्रदेशमा एकैदिन २३ जनाको मृत्यु

आदर्श समाज सम्वाददाता
वैशाख ३१, २०७८
Corona Death

फाइल फोटो ।

पोखरा । गण्डकीमा कोरोना संक्रमणबाट थप २३ जनाको मृत्यु भएको छ । गण्डकीका विभिन्न जिल्लाका पोखरामा उपचाररत १९ जनाको जनाको मृत्यु भएको हो भने बाँकी ४ जनाको धौलागिरी अस्पताल बागलुङमा उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ ।

योसँगै गण्डकीमा वैशाख महिनामा मात्र १ सय ३४ जनाको मृत्यु भएको छ भने अहिलेसम्म गण्डकीमा मृत्यु हुनेको संख्या ३ सय ४१ पुगेको छ । कोरोना संक्रमण सुरु भएयता गण्डकीमा एकै दिन यति धेरै मृत्यु भएको यो पहिलोपटक हो । यसअघि सबैभन्दा बढी १६ जनाको ज्यान गएको थियो ।

पोखरा १५ की ४५ वर्षीया महिलाको फिस्टेल अस्पतालमा उपचारका क्रममा शुक्रबार बिहान मृत्यु भएको छ । वैशाख २६ गते चरक मेमोरियलमा भर्ना भएका कास्की ४ का ८२ वर्षीय संक्रमित पुरूषको बिहान मृत्यु भएको छ । यस्तै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत पोखरा १३ का ६० वर्षीय संक्रमित पुरूष, पोखरा २८ कै ४८ वर्षीया महिलाको मृत्यु भएको छ । गण्डकी मेडिकल कलेजमा उपचाररत पोखरा ३३ का ४० वर्षीय पुरुषको मृत्यु भएको छ भने पोखरा १७ का ३१ वर्षीय पुरुषको गण्डकी मेडिकल कलेजमा ज्यान गएको छ । पोखराको मनिपाल शिक्षण अस्पतालमा उपचाररत तानसेन नगरपालिका ३ की ७७ वर्षीया महिला, पोखरा २३ का ७६ वर्षीय पुरुष, पोखरा १७ का ६३ वर्षीय पुरुष, कास्की २५ का ४२ वर्षीय पुरुषको शुक्रबार मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशक विनोद विन्दु शर्माले जानकारी दिए ।

रुपा गाउँपालिका १ का ६६ वर्षीय पुरुष, स्याङ्जा पुतलीबजार नगरपालिका ६ का ३३ वर्षीय पुरुष, आँधीखोला गाउँपालिका ३ स्याङ्जाका ५१ वर्षीय पुरुषको पोखरामा उपचारका क्रममा ज्यान भएको छ ।

यस्तै स्याङ्जा गल्याङ नगरपालिका ३ का २६ वर्षीय पुरुषको ज्यान गएको छ । बागलुङ बडिगाड गाउँपालिका ४ का ४० वर्षीय पुरुष, बागलुङ नगरपालिकाका ३९ वर्षीय पुरुष, बागलुङ ७ का ६३ वर्षीय पुरुषको धौलागिरी अस्पतालमा उपचारको क्रममा ज्यान गएको छ । तनहुँ भीमाद नगरपालिका ६ का ४४ वर्षीय पुरुष, शुक्लागण्डकी ६ का ४८ वर्षीय पुरुष र म्याग्दे गाउँपालिका ३ का ५१ वर्षीय पुरुषको पोखरामा उपचारका क्रममा मृत्यु भएको छ ।

गण्डकी प्रदेशमा ६ सय ८० संक्रमित
गण्डकी प्रदेशमा शुक्रबार ६ सय ८० जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले दिएको जानकारी अनुसार १ हजार ७ सय ५८ जनाको स्वाब परीक्षण गर्दा ३८.६८ प्रतिशतमा कोरोना पोजेटिभ देखिएको हो । योसँगै गण्डकी प्रदेशमा संक्रिय संक्रमितको संख्या ७ हजार २ सय ५७ पुगेको छ ।

शुक्रबार कास्कीमा सबैभन्दा बढी ३ सय ६ जनामा कोरोना पोजेटिभ देखिएको हो । मनाङ र मुस्ताङमा शून्य संक्रमित हुँदा बाग्लुङमा ४ जना थपिएका छन् । नवलपुरमा ८७, गोरखामा ७४, पवर्तमा ६१ र म्याग्दीमा ५२ जनामा कोरोना संक्रमण भएको हो । यसैगरी लमजुङमा ४६, तनहुँमा २७ र स्याङ्जामा २३ संक्रमित भएका छन् ।
नेपालभर ८ हजार ४६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार दिएको जानकारी अनुसार २० हजार ९४८ पिसिआर परीक्षणबाट ८ हजार ४६७ जनामा कोरोना पुष्टि भएको हो । हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ४ लाख ३९ हजार ६५८ पुगेको छ । यस्तै २४ घन्टामा ६ हजार १३५ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै निको हुनेको संख्या ३ लाख २७ हजार ६५३ पुगेको छ ।

नेपालमा सक्रिय संक्रमितको संख्या १ लाख ७ हजार ३३६ पुगेको छ । क्वारेन्टाइनमा ५१६ जना छन् । कोरोना भाइरस संक्रमणबाट थप २०३ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार दिएको जानकारी अनुसार नेपाली सेनाले विभिन्न मितिमा व्यवस्थापन गरेको शवसहित २०३ जनाको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४ हजार ६६९ पुगेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width