कोभिडविरुद्ध जुध्न सहयोग अभियान

आदर्श समाज सम्वाददाता
वैशाख ३१, २०७८
nawalpur

नवलपुर । कोरोनाको दोस्रो लहरको महामारीविरुद्ध जुध्न नवलपुरका निजी क्षेत्रका संघसंस्थाले सहयोग अभियान सुरु गरेका छन् । यहाँका संघसंस्था तथा व्यक्तिसँग सहयोग जुटाएर विपद् व्यवस्थापनमा सहयोगी भूमिका खेल्न विपद् व्यवस्थापन सहयोगी समिति समेत निर्माण गरेको छ ।

नवलपुरका विभिन्न संघसंस्थामा आवद्ध व्यक्तिहरुको सहभागितामा समिति गठन गरिएको हो । कावासोतीमा बिहीबार बसेको बैठकले शिव गिरीको अध्यक्षतामा विपद् व्यवस्थापन सहयोगी समिति नवलपुर गठन गरेको हो । कोभिड १९ र यसबाट उत्पन्न भएका जटिल समस्या, अक्सिजनको अभाव, रगतको अभाव लगायत समाधान गर्ने उद्देश्यले समिति गठन गरिएको हो ।

नवगठित समिति सचिवमा आनन्द श्रेष्ठ, कोषाध्यक्ष नारायण न्यौपाने, सदस्य वेदप्रसाद न्यौपाने, भोजराज दाहाल, भीमलाल अधिकारी, बाबुराम कँडेल, अमृतमाया भुषाल, जगतप्रसाद भट्टराई, चन्द्रबहादुर रानाभाट लगायत छन् ।

विपद् व्यवस्थापन सहयोगी समितिले तत्काल जिल्लामा देखिएको अक्सिजन अभावलाई समाधानका लागि लागिपर्ने समितिका अध्यक्ष गिरीले बताए । उनका अनुसार जिल्लाभरिबाट अक्सिजन सिलिन्डर संकलनको काम सुरु गरिनेछ । व्यक्तिगत रुपमा घरमा रहेका, व्यवसायमा प्रयोग भएका अक्सिजन सिलिन्डर संकलन गरी अक्सिजन आवश्यक पर्ने कोभिड संक्रमितलाई पुर्‍याइने छ ।

सुरुआतमा जिल्लाभरिबाट अक्सिजन सिलिन्डर संकलनको काम सुरु गरी अक्सिजन आवश्यक पर्ने कोभिड संक्रमितलाई पुर्‍याइने छ ।

यस्तै कोभिडका कारण नवलपुरमा रगतको अभाव भएकाले रक्तदाताको नाम संकलन गरी तयारी अवस्थामा राख्ने र कसैलाई रगत आवश्यक परे तत्काल उपलब्ध गरिने समेत उनले बताए ।

समितिलाई हालसम्म प्याव्सन नवलपुरबाट ५० हजार, रोटरी नवलपुरबाट ३० हजार, सिद्धार्थ आवासीय माविबाट १० हजार, नवलपुर बोर्डिङबाट १० हजार, गण्डकी आवासीय मावि कावासोतीबाट १० हजार, निम्स कावासोतीबाट ५ हजार र शिवालय टोल विकास संस्था कावासोतीबाट ५ हजार रकम सहयोग संकलन भएको कोषाध्यक्ष नारायण न्यौपानेले बताए । यसैगरी चन्द्रबहादुर रानाभाट, लक्ष्मीकान्त रिमाल, हरि केसी, भोजराज दाहालबाट १–१ थान अक्सिजन सिलिन्डर प्राप्त भएको छ ।

यसैबीच, ग्रील तथा स्टील व्यवसायी संघ नवलपुरका अध्यक्ष महेन्द्र श्रेष्ठले मध्यविन्दु जिल्ला अस्पताललाई अक्सिजन भरिएका ३ थान अक्सिजन सिलिन्डर सहयोग गरेका छन् । श्रेष्ठले मध्यविन्दु जिल्ला अस्पतालमा उपचाररत कोभिडका बिरामीलाई अक्सिजन आपूर्तिमा सहज होस् भनेर सहयोग गरेको बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width