विपत्तिका बेला आफ्नै थातथलो प्यारो

रासस
वैशाख ३१, २०७८
Home Return Photo 1

पोखराबाट घर फर्कन पृथ्वीचोकमा गाडी कुर्दै गरेका सर्वसाधारण । तस्बिर : सुमन

गलेश्वर । ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’ अर्थात् आफूलाई जन्म दिने आमा र जन्मिएको ठाउँ स्वर्गभन्दा पनि प्यारो हुन्छ । रामायणमा आफ्ना भाइ लक्ष्मणलाई सम्झाउँदै भगवान रामले भनेको यो उक्तिले अहिलेको बिपद्कालीन अवस्थामा आफ्नै जन्मथलो सुरक्षित ठान्दै सहरबाट गाउँ फर्किएका व्यक्तिहरूको मनोभावनालाई समेत सम्बोधन गरेको छ ।

गाउँ नै गाउँले भरिएको नेपाली समाजका अधिकांश युवाहरूको सहर पस्ने, वस्ने, पढ्ने, जागिर खाने र रमाउने चाहना हुन्छ । त्यही चाहनालाई पूरा गर्न सहर पसेर गाउँलाई बिर्सनेहरू पनि धेरै नै हुन्छन् ।

सहरमा रमाएर गाउँलाई विर्सने भनेको सहज परिस्थिति हुँदा मात्र रहेछ भन्ने तथ्य विपत्ति तथा महामारीका बेला देखिने रहेछ । हाल विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमणले यो अवस्था र परिस्थितिलाई बुझ्ने तथा बुझाउने अवसर दिएको महसुस भएको छ ।
हुनत चाडपर्व र विशेष उत्सव/महोत्सवमा पनि मानिसहरू गाउँ फर्किन्छन् तर त्यसरी केही दिनका लागि रमाइलो गर्न गाउँ आएकाहरूको तुलनामा यतिखेरको अवस्था भने निकै नै फरक छ । त्यसरी भन्दा अहिले घरगाउँ फर्र्किएका मानिसमा ग्रामीण जीवन र वातावरणप्रति अझ बढी अपनत्व र स्नेह पाइएको छ । यसैले बिपत्तिका बेला आफ्नो थातथलोको महत्व र आवश्यकता अहिले देखिएको छ ।

यसपटक सहरमा कोरोना महामारीको बोझलाई थेग्न नसकेर सहरभन्दा गाउँ नै सुरक्षित मानि आफ्नो थातथलोमा फर्किएका म्याग्देलीहरूमा पनि आफ्नो जन्मथलो र आफ्नो माटोप्रति विछट्टै माया र स्नेह देखिएको छ ।

विश्वव्यापी रुपमा कोरोना महामारी सुरुभए यता म्याग्दीमा देशका विभिन्न सहर र विदेशबाट गरी करिब चार हजारको हाराहारीमा युवा गाउँ फर्केका छन् । यस जिल्लाका छवटा स्थानीय तहका जनप्रतिनिधिहरूबाट प्राप्त सूचनाका आधारमा यतिधेरै युवा अघिल्लो दुई हप्तामा जिल्ला भित्रिएका हुन् । एक नगरपालिका र पाँचवटा गाउँपालिका रहेको म्याग्दीमा छवटा स्थानीय तहहरू छन् ।

विसं २०६८ को जनगणनाअनुसार यहाँको कुल जनसंख्या एक लाख १३ हजार ६४१ रहेको छ । त्यसमा महिलाको ससंख्या ६२ हजार २४६ अर्थात् कूल जनसंख्याको ५४ दशमलव ७७ प्रतिशत रहेको छ भने पुरुषको ५१ हजार ३९५ अर्थात् ४५ दशमलव २३ प्रतिशत छ ।

‘सहर सम्पत्ति हुँदा मात्र आफ्नो जस्तो लाग्ने हो, वास्तवमा विपत्तिको बेला चाहिने भनेको त गाउँ नै रहेछ

पुरुषभन्दा महिलाको संख्या बढी रहेको म्याग्दीका अधिकांश युवाहरू वैदेशिक रोजगारका लागि विदेशमा छन् । जिल्ला प्रशासन कार्यालयको तथ्यांकअनुसार १९ देखि ४० वर्ष समूहका ४२ प्रतिशत युवाहरू बैदेशिक रोजगारीमा छन् । बाँकी रहेका युवा पनि अध्ययन, व्यापार, रोजगार वा अन्य प्रयोजनका लागि गाउँ छोडेर सहर पसेका थिए । अहिले कोरोना महामारीको दोस्रो लहरबाट बँच्न सहरबाट अधिकांश युवाहरू गाउँमा भित्रिएका मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले बताए ।

म्याग्दीको सदरमुकाम बेनीसँग जोडिएको पर्वतको पारीबेनीस्थित न्यू होराइजन आवासीय उच्च माविका प्रिन्सिपल तथा सञ्चालक अर्जुन पौडेल यतिबेला विद्यालयमा होइन गाउँको खेतवारीमा व्यस्त छन् ।

बेनी नगरपालिका–६ का पौडेल अहिले मिनिट्रेलर हलोमार्फत् खेतबारी जोत्ने, मकै गोड्ने, तरकारी लगाउने जस्ता कृषि कर्ममा आफूलाई व्यस्त बनाएका छन् । प्रिन्सिपल पौडेल भन्छन्, ‘मान्छे सहरको रमाइलो भुलेजस्तो मात्र गर्दो रहेछ, वास्तवमा गाउँको माटोको सुगन्धमा मान्छेलाई लठ्याउन सक्ने शक्ति हुँदोरहेछ ।’

‘सहर सम्पत्ति हुँदा मात्र आफ्नो जस्तो लाग्ने हो, वास्तवमा विपत्तिको बेला चाहिने भनेको त गाउँ नै रहेछ’ १० वर्ष कोरिया बसेर काठमाडौंमा घर बनाइ होटल व्यवसाय गरी त्यहाँबाट पनि सन्तुष्ट हुन नसकेका बेनी नगरपालिका– २ बगरफाँटका दुर्गाबहादुर थापाले भने, ‘गाउँमा जस्तो अपनत्व र आनन्द सहरमा केही गरी पनि पाउन नसकेर म त सपरिवार आफ्नै गाउँ फर्की आएँ ।’

थापाले गाउँमा आएर १२ रोपनी जमिनमा व्यावसायिक केरा खेती थालेका छन् । श्रीमती, छोरा र बुहारी दैनिक कृषि कर्ममा खटेर लागेका छन् । उनको श्रम देखेर गाउँमा परम्परागत कृषि प्रणाली अपनाउँदै आएका किसानहरूले पनि सिक्ने अवसर पाएका स्थानीय पदमपाणी शर्माले बताए ।

बेनीको कालीपुल बसपार्कका धौलागिरि यातायात कार्यालयको काउन्टरका कर्मचारी गणेश वानियाँका अनुसार जब संकट आइपर्छ तब मानिस काठमाडौं, पोखरा, चितवन तथा बेनी बजार नै छाड्न तछाडमछाड गर्छन् । यो हामीले गत वर्षको लकडाउन र २०७२ साल वैशाख १२ गतेको भूकम्पको बेलामा पनि देशका अरु जिल्लाको जस्तै म्याग्दीमा पनि यस्तै अवस्था देखिएको थियो । अहिले पनि त्यही क्रम दोहोरिएको छ । उनका अनुसार यसपालि विभिन्न ठाउँबाट करिब चार हजारको हाराहारीमा म्याग्देली युवा जिल्ला भित्रिएका छन् ।

संकटका बेला मानिसहरू सहर छोडेर गाउँ फर्किनुमा धेरै कारण हुन सक्छन् । तीमध्ये प्रमुख कारण भनेको आर्थिक पृष्ठभूमि र जीविकोपार्जनसँग जोडिएका कुराहरू नै भएको म्याग्दी बुहुमुखी क्याम्पसका प्राध्यापक तथा नेपाल पत्रकार महासंघ म्याग्दीका निवर्तमान अध्यक्ष तारानाथ शर्माले बताए ।

शर्माका अनुसार नेपाली सहरको संरचना विश्वका अरु मुलुकको संरचनाभन्दा कान्छो छ । वैदेशिक रोजगारसँग नेपाली सहरको साइनो नङ र मासुको जस्तै छ । यहाँको सहरको चरित्र भनेको गाउँसँग साइनो र मितेरीको सम्बन्धको चरित्र हो । नेपाली सहरहरूले अझै पनि गाउँको सहयोग विना विपत्ति र संकटलाई झेल्न नसक्ने भएकोले मानिसहरू विपत्तिको बेला सहरको भन्दा बढी गाउँको नै भर पर्ने गरेका छन् ।

शर्मा भन्छन्, ‘संकट वा बिपत्तिका बेला सहरको वास्तविक स्वरुप र सहरमा वसोवास गरेका मानिसहरूको अवस्था देखिन्छ । उनीहरूमा विभिन्न वस्तुको अभाव देखिने गरेको छ भने यस्तो बिपत्तिबाट बच्नका लागि यहाँका बासिन्दाले आफ्नो घरजस्तो सुरक्षित महसुस गर्न पनि सकेका हुदैनन् ।’

गाउँमा जीविकोपार्जन गर्न सजिलो छ । सहरको जस्तो तनाव र दौडधूप गाउँमा नहुने भएकाले पनि संकटका बेलामा मानिसहरू सहर छोडेर गाउँमा पस्न रुचाउने गरेका आफूले पाएको वुद्धिजीविहरूको भनाइ छ ।

‘संकटका बेलामा काम रोकिन्छ । मानिसको रोजगारी गुमेको छ । दैनिक आम्दानीमा कटौति भएको छ । उता खर्च भने बढेको बढ्यै हुन्छ । अहिले कोरोना भाइरसको महामारीको समयमा स्वास्थ्यको क्षेत्रमा धेरै खर्च भएको छ । अनलाइन कक्षा सञ्चालकले पनि मोबाइल र ल्यापटप किन्न जोड गरिरहेका छन् । कम आयस्रोत हुनेहरूका लागि यो दुर्भाग्यको कुरा हुन सक्छ । त्यसैले मानिसले सहरको महंगो जनजीवन छाड्ने गरेका छन्,’ रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताए ।

करिब १६ वर्षदेखि कुपण्डोल ललितपुरमा व्यापार गरी बसेका म्याग्दीका ४१ वर्षीय ललित खत्री आफ्नी श्रीमती, दुई छोरा र एक छोरीसहित पसल बन्द गरेर गाउँमा फर्किए । ‘सहरमा धेरै भीडभाड छ, संक्रमण हुने खतरा पनि उत्तिकै बढी देखिन्छ । त्यसैले संक्रमणबाट बँच्न गाउँमा फर्किका हौं ।’

‘सहर त पैसा कमाउन्जेलसम्मको मात्रै हो, कमाइ हुन छोडेपछि सहरले हामी गाउँलेलाई चिन्दैन, अप्ठ्यारो परे साथ दिने मान्छे पनि पाइँदैन, कसरी बस्न सकिन्छ र संकटको बेला सहरमा ?’

बेनी अस्पतालका चिकित्सक जीतेन्द्र कँडेलका अनुसार सहरमाभन्दा गाउँतिर नै बढी सुरक्षित हुन सकिन्छ । ‘हो गाउँमा धरै सुरक्षित हुन सकिन्छ किनभने त्यहाँ खुला ठाउँ हुन्छ, भौतिक दुरी कायम गर्न सजिलो हुन्छ तर बढी कोरोना संक्रमित जिल्लाहरूबाट पनि मानिसहरूको आवागमन हुँदा केही जोखिम भने अवश्य छ,’ डा.कँडेलले भने ।

वैदेशिक रोजगारपछि म्याग्दीका नागरिकहरूको दोस्रो गन्तव्य भनेको काठमाडौं र पोखरा जस्ता सुविधासम्पन्न सहर नै हुने गरेको छ । पछिल्लो समय कोरोना संक्रमणको दर बढ्दै जान थालेपछि ती ठाउँहरूबाट धेरै मानिसहरू गाउँ फर्किसकेका छन् । म्याग्दीको रघुगंगा गाउँपालिका– ६ का वडाअध्यक्ष मनकुमार शेरपुंजाका अनुसार काठमाडौं, पोखरा र बेनीबाट गाउँमा फर्किएका युवा युवतीहरूका कारण गाउँको रौनक नै फेरिएको छ । अध्यक्ष शेरपुंजाले भने, ‘युवाविहीन भएका गाउँहरू अहिले भरिभराउ भएका छन्, गाउँको रौनक नै फेरिएको छ, यहाँ आएका युवाहरू खाली बसेका छैनन्, कुनै न कुनै रुपमा कृषि कर्मसँग जोडिएका छन्, स्वास्थ्य सुरक्षा र सावधानीका उपायहरू गाउँलेलाई सिकाउँदै पनि छन् ।’

सम्पत्ति हुँदा र सहज अवस्था रहँदा सहर नछोड्ने युवाहरू बिपत्तिकै बेला भए पनि गाउँ आउनुलाई गाउँका अग्रजहरूले स्वभाविक रुपमा लिएका छन् । उनीहरूको भनाइ छ, ‘सम्पत्ति हुँदा सहर नै प्यारो, बिपत्तिका बेला लुसुक्कै आफ्नै थातथलो प्यारो ।’

अघिल्लो वर्ष पनि यही कोरोना भाइरसको महामारीका कारण भएको लामो समयको लकडाउनले गर्दा यहाँका हजारौं युवा गाउँ फर्किएका थिए । वर्षौंदेखि बाँझो रहेका खेतबारी खनेर, जोतेर उनीहरूले अन्नपात तथा हरियो तरकारी र गेडागुडी राम्रैसँग उत्पादन गरेका थिए । यस समय गाउँ छिरेका युवा पनि कृषि कर्ममै छन् । त्यसैले जिल्लामा कृषि उपज एवं तरकारी उत्पादनमा वृद्धि हुने अपेक्षा गरिएको छ ।

Related News

सम्बन्धित समाचार

    hero news full width

    Fishtail

    sanil ads

    wordlink ads

    trending post

    ट्रेन्डिङ्ग