किन भइरहेको छ हावाहुरी र चट्याङसहित वर्षा ?

रासस
वैशाख ३१, २०७८
chattang2019-05-28

काठमाडौं । यसपालिको मनसुनमा सरदरभन्दा बढी पानी पर्ने आकलन गरिए पनि हालको प्रि–मनसुनमा राम्ररी पानी नपर्दा खडेरी भयो । वर्षाको अभावले डढेलो फैलिँदा जनजीवन नै प्रभावित बनाएको थियो । कतिपय जंगलमा लागेको डढेलो हेलिकोप्टरबाट पानी लगेर निभाउनुपरेको थियो तर पछिल्ला केही सातादेखि भने मुलुकका अधिकांश भेगमा वर्षा भइरहेको छ । त्यसले डढेलोसमेत नियन्त्रणमा आएको छ ।

ठाउँठाउँमा असिना, हावाहुरी र चट्याङसहितको पानी परिरहँदा केही स्थानमा क्षतिसमेत पुगेको छ । लामो समयदेखि आकाशे पानीको अभाव भइरहेको अवस्थामा परेको अहिलेको वर्षाले कृषि क्षेत्रलाई भने केही फाइदा भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेल बताउँछन् । उनका अनुसार चट्याङले भने मानवीय क्षतिसमेत गराइरहेको छ । यही वैशाखमा मात्रै चट्याङ लागेर २१ जनाको मृत्यु भएको छ ।

काठमाडौं उपत्यकामा पनि बुधबार राति र बिहीबार बिहान पानी परेको थियो । यो क्रम केही दिनदेखि जारी छ । रातिको भन्दा अहिले पानी पार्ने मौसम प्रणाली केही कमजोर रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । दिउँसो अर्काे प्रणाली विकास भएर पुनः पानी पर्ने सम्भावना कायमै रहेको मौसमविद्को भनाइ छ ।

यसपालि सददरभन्दा बढी पानी पर्ने आँकलन गरिएकाले मनसुनका बेला विशेष सावधानी अपनान आग्रह

हाल नेपालमा बंगालको खाडीबाट प्रवाह हुने जलवाष्पयुक्त हावाको प्रभाव छ । यस्तै सुदूरपश्चिममा विकास भएको पश्चिमी न्यून चापीय प्रणाली र दक्षिण–पूर्व भूभाग नजिक रहेको पूर्व–पश्चिम फैलिएको न्यून चापीय रेखाका कारण नेपालमा पानी परिरहेको हो । उक्त प्रणाली पूर्वसम्म पुगेकाले अधिकांश भूभागमा सामान्य बदली रही गण्डकी तथा वाग्मती प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मञ्जु वासीका अनुसार बिहीबार देशभर सामान्य बदली तथा केही स्थाना मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने अनुमान छ ।

शुक्रबार प्रदेश १ र अन्य पहाडी भूभागमा बदली भई केही भागमा पानी पर्ने छ । शनिबारबाट भने यो प्रणाली हराएर केही खुल्ने भए पनि पुनः अर्काे प्रणाली आउनसक्ने मौसमविद् वासीको भनाइ छ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ ।

जल तथा मौसम विज्ञान विभागले यसपालिको मनसुनको समयमा मुलुकका धेरैजसो भूभागमा सरदरभन्दा बढी वर्षा हुने आकलन गरिसकेको छ । गत वर्ष सरदर पानी पर्ने भनिए पनि वर्षाका कारण ठूलो जनधनको क्षति पुगेको थियो । यसपालि भने सददरभन्दा बढी पानी पर्ने आकलन गरिएकाले मनसुनका बेला विशेष सावधानी अपनाउनुपर्नेमा पोखरेल जोड दिन्छन् । गत वर्ष पहिरो गएको क्षेत्र र भूकम्पले जोखिम बनाएको क्षेत्र बढी जोखिममा छ । त्यस्ता ठाउँमा सानो पानी पर्दैमा बाढी पहिरोको सम्भावना अधिक हुने भएकाले मनसुनमा बढी सावधानी अपनाउनुपर्ने वरिष्ठ मौसमविद् बरुण पौडेल बताउँछन् ।

हुन त अहिले मनसुन शुरु भएको छैन । मनसुन शुरुपछिको अवधिमा सुदूरपश्चिम, कर्णाली, गण्डकी, वाग्मती प्रदशेका अधिकांश स्थानमा तथा प्रदेश १ को मध्य तथा पश्चिम पहाडी, हिमाली भूभागमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना रहेको छ । त्यहाँ ३५ देखि ६५ प्रतिशत वर्षा हुने अनुमान छ ।

उच्च हिमाली क्षेत्रमा भने ५५ देखि ६५ प्रतिशत वर्षा (हिउँ) हुने आकलन गरिएको विभागको जलवायु विष्लेषण शाखा प्रमुख वरिष्ठ मौसमविद् डा इन्दिरा कँडेलले जानकारी दिइन् । त्यसैले अहिलेदेखि नै क्षति कम गर्नका लागि तयारी गर्नुपर्ने आवश्यकता औँल्याइएको छ । यसपालि कोभिड–१९ को समेत जोखिम बढ्दो क्रममा रहेकाले अझै मुलुक दोहोरो विपद्बाट गुज्रने अवस्था रहेको देखिन्छ ।

Related News

सम्बन्धित समाचार

hero news full width