बिहे र पूजापछि गाउँभरि कोरोना

श्रीभद्र पौडेल
वैशाख ३१, २०७८
ghobang gau

हेमजा । पछिल्लो २ सातायता अन्नपूर्ण गाउँपालिका–५, झोवाङमा बिहे हुने क्रम तीब्र भएसँगै त्यहाँ कोरोना संक्रमण बढेको छ ।
उक्त गाउँमा वैशाख १७ गते २, २४ गते २ तथा बुधबार लगातार बिहे भए । त्यस्तै ११ र २२ गते रुद्री, ब्रतबन्ध साथमा चौतारी र पोखरीको बिहेसमेत भयो ।
बिहेमा गाउँलेका अलवा टाढाका आफन्तजन समेत बोलाइयो । फलस्वरुप कतिपय आफन्तजन पनि सहभागी भए । धेरै महिला दिदीबहिनी मिली रत्यौली पनि खेले भने बिहेको भोलिपल्ट प्रीतिभोज समेत गरियो ।

अहिले झोबाङ गाउँ पूरै सिल गरिएको छ । गाउँ छिर्ने ५ नाका बन्द गरिएको छ

ती रमाइला कार्य गर्दा सजगता नपाएकै कारण अहिले गाउँभरि कोरोना फैलिएको छ । ती कार्यमा स्वास्थ्य सावधानी अपनाइएन । जसकारण धेरै गाउँलेहरुमा एकैचोटी कोभिड संक्रमण देखा प¥यो । वैशाख २४ गते लिइएको पछिल्लो पिसिआर परीक्षणको नतिजा २८ गते आउँदा त्यहाँका २१ जनामा कोभिड पोजेटिभ देखियो ।

त्यसपछि गाउँलेहरु छाँगाबाट खसेजस्तो भए । वडा कार्यालय, गाउँपालिका र सम्बन्धित निकायसँग हार गुहार मागे । जसअनुसार बुधबार कन्ट्रयाक टे«सिङ गरियो भने त्यसका आधारमा बिहीबार नयाँपुलमा शंकास्पद ६० जनाको पिसिआर परीक्षणका लागि स्वाब संकलन पनि गरिएको छ ।

अहिले झोबाङ गाउँ पूरै सिल गरिएको छ । गाउँ छिर्ने ५ नाका बन्द गरिएको छ । अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन पनि भनिएको छ । त्यसको निगरानीका लागि स्थानीय प्रहरी प्रशासनलाई खटाइएको छ । त्यस्तै कुनै स्वास्थ्य समस्या आए स्थानीय सामुदायिक स्वास्थ्य इकाइलाई तयारी अवस्थामा राखिएको छ । जहाँ २ स्वास्थ्यकर्मी कार्यरत छन् ।
गाउँपालिका स्वास्थ्य संयोजक ऋषिराम पौडेलको अगुवाइमा बिहीबार पिसिआर परीक्षण गरिएको हो । जसको रिपोर्ट अबको एक हप्तापछि मात्रै आउने छ । नजिता नआउँदासम्म घरमै बस्न र अन्य व्यक्तिसँग सम्पर्कमा नजान गाउँलेलाई निर्देशन पनि दिइएको छ ।

झोवाङ सहित गरी यतिबेला अन्नपूर्ण गाउँपालिकाभर ३५ सक्रिय संक्रमित छन् । १/२ जना बाहेक सबै होम आइसोलेसनमा उपचाररत छन् ।

यसैबीच गाउँपालिकाले कोरोना प्रभाव समुदायस्तरमै फैलन लागेको भन्दै त्यसको रोकथामका लागि प्रयास भने जारी राखेको छ । जसअनुसार बिहीबारदेखि गाउँपालिका र मातहातका कार्यालयबाट प्रदान गरिने अत्यावश्यक बाहेकमा अन्य सम्पूर्ण सेवा बन्द गरिएको छ । अत्यावश्यक र स्वास्थ्य सेवालाई भने उच्च प्राथमिकतामा राखेका अध्यक्ष युवराज कुँवरले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width