अन्तर्राष्ट्रिय नर्सिङ दिवस : पिपिइभित्र गुम्सिँदै सेवामा नर्सहरू

आदर्श समाज सम्वाददाता
वैशाख ३०, २०७८
nurse

चितवन ।   विश्वभर दिवस मनाइरहँदा पिपिईभित्र गुम्सिँदै सेवामा तल्लीन छन् यहाँका नर्सहरू । तराईको चर्काे गर्मीमा हावासमेत नर्छिने पिपिई लगाएर निरन्तर सेवामा खटिइरहेका हुन् उनीहरू ।

जिल्लाका अस्पतालहरूमा अहिले कोभिड संक्रमित बिरामीको संख्या उल्लेख्य छ । अस्पतालहरूले बिरामीका लागि श्यया पु¥याउन धौधौ भइरहेको बेला जहाँ खाली ठाउँ छ त्यही श्यया तयार गरेर संक्रमितको उपचार गरिरहेका छन् । मुख्य रूपमा चौबिसै घण्टा सेवामा तल्लीन नर्सहरूलाई न गर्मीका प्रवाह छ, न त आफ्नो पीडाको नै । विगतमा गर्दै आएका काममा नर्सहरूलाई दोब्बर कामको जिम्मेवारी थपिएको छ । जिल्लामा यसरी दुई हजार हाराहारी नर्सहरूले काम गरिरहेका छन् ।

भरतपुर अस्पतालमा विगत लामो समयदेखि बिरामीको सेवा गर्दै आउनुभएकी सरिता भण्डारी अहिले कोभिडका बिरामीका कारण बस्ने फुर्सदसमेत पाउन कठिन भएको बताउँछिन् । अस्पतालले सञ्चालन गरेको कोभिड वार्डमा नर्सिङ प्रमुखका रूपमा कार्यरत उनी ३० जना जनशक्तिले १४५ जना संक्रमितको चौबिसै घण्टा सेवा गरिरहनुपरेको गुनासो गर्छिन् ।

उनले भनिन्, ‘हाम्रा लागि नर्सिङ दिवस बिरामीको सेवा गर्न पाउनु रहेको छ ।’ अस्पतालमा ड्युटीमा रहेका नर्सहरूले वार्डमा छिरिसकेपछि पानी पनि नखाई सेवा दिँदै आएको उनले बताइन् । उनले थपिन्, ‘गर्मीको समय छ । पिपिई लगाएर भित्र छिरेपछि ६ देखि ७ घण्टा त्यो नखोली काम गर्ने हो ।’ बिरामीको कठिनाइ देखेर आफूहरूको दुःख हराउने गरेको अनुभव उनले सुनाइन् । नर्सहरूलाई बिरामी भएको ठाउँमा पठाउँदा पहिले नै आवश्यक खाना, नास्ता खुवाएर मात्र पठाउने गरेको उनीको भनाइ छ ।

 दुई मिनेट मात्रै अक्सिजन छुट्यो भने बिरामीको ज्यान जान्छ, त्यो सबै व्यवस्थापन नर्सहरूले गरिरहेका छन्

यस्तै विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा कार्यरत प्रशंसा शर्मा कोभिड संक्रमितको उपचार गर्न पाउँदा खुसी लागेको बताउँछिन् । सुरुआतको समयमा केही कठिनाइ भए भए पनि अहिले त्यस्तो नरहेको उनको अनुभव छ । अहिले अस्पतालको क्वारेन्टिनमा रहेकी उनले भनिन्, ‘एक साता १२ घन्टाका दरले काम गरे पनि थकान महसुस हुन पाएन ।’
बिरामी भएको ठाउँमा जाँदादेखि आफ्नो काम नसकिन्जेल सामान्य तय पिपिई नखोली बस्नुपर्ने र खाना, पानीलगायत केही खान नपाउने भए पनि बिरामीको सेवा नै धर्म हो भन्ने महसुस गरेर उपचारमा खटिएको उनको भनाइ छ । उनले भनिन्, ‘संक्रमितको उपचारमा लागेर बिरामी निको भएर फर्कंदा झन् धेरै खुशी लग्छ ।’

नेपाल नर्सिङ संघ जिल्ला शाखा चितवनका सचिव विष्णुमाया अधिकारी अहिले देशभरका नर्सहरूले खाईनखाई उच्च जोखिम मोलेर सेवामा समर्पित भएको बताउँछिन् । यद्यपि नर्सहरूप्रति आम सर्वसाधारण जनता, सरकार र व्यवस्थापकहरू सकारात्मक रूपमा नलिएको उनको गुनासो छ ।

कोरोना संक्रमितको सेवामा जुट्दै गर्दा आवश्यकताअनुसार सुरक्षा कवच नभएको, पारिश्रमिक समयमा प्राप्त गर्न नसकेको, सरकारले तोकेअनुसारको पारिश्रमिक नपाएको, जोखिम भत्ता पाउन नसकेको उनको दुखेसो छ । बिरामी अस्पताल छिरेदेखि डिस्चार्ज हुँदासम्म ९० प्रतिशत उपचारमा नर्सिङ स्टाफहरू खट्ने अधिकारी बताउँछिन् ।

संघकी जिल्ला अध्यक्ष मथुरा सापकोटा उत्पादनको अनुपातमा रोजगारी कठिन भएको बताउँछिन् । बिरामी संख्याका आधारमा न्यून नर्सहरूबाट काम गर्नु परेको उनको भनाइ छ । उनले भनिन्, ‘थोरै संख्यालाई धेरै काम लगाइएको छ । यो नेपाल सरकारको नीति विपरीत पनि हो ।’ आवश्यक मात्रामा तालीम पाउन नसक्दा गुणस्तर बढाउन नसकिएको उनको भनाइ छ ।

दैनिक १२÷१४ घण्टासम्म बिरामीको उपचारमा नर्सहरू लाग्नु परेको बाध्यता पनि उनले सुनाइन् । उनले भनिन्, ‘आफू बिरामी भएर पनि बिरामीको सेवामा हाम्रा नर्सहरू लागिरहेका छन् ।’ जिल्लामा मात्रै चार सयभन्दा बढी नर्सहरू कोभिड संक्रमणमा परेको भन्दै उनले यसरी जोखिममा काम गर्दासमेत सरकार र अस्पताल सञ्चालकहरूले नर्सहरूका माग सम्बोधन गर्न नसकेको बताइन् ।

अस्पताल स्थापना, सञ्चालन तथा स्तरोन्नति मापदण्ड निर्देशिका २०७३ (संशोधन) मा शल्यक्रिया प्रदान गर्ने कक्षमा प्रतिश्यया कम्तीमा एक शल्यचिकित्सक, एक एनेस्थेटिक्स, एक इन्चार्ज, एक शल्यक्रिया सहायक र एक नर्स हुनुपर्ने, जनरल कक्षमा प्रतिचारदेखि ६ श्ययामा एकजना स्टार्फ नर्सको व्यवस्था भएको हुनुपर्ने व्यवस्था छ ।

यस्तै, इमर्जेन्सी तथा पोष्ट अपरेटिभ कक्षमा प्रति दुई श्ययामा एक स्टार्फ नर्सको व्यवस्था हुनुपर्ने, सघन उपचार कक्ष (आइसियु, एनआइसियु, सिसियु आदि) मा प्रतिश्यया एकजना नर्सको व्यवस्था हुनुपर्ने र प्रसूति कक्षको लेबर श्ययामा प्रतिबेड दुई एसबिए तालीम प्राप्त नर्स वा मिडवाइफरीको व्यवस्था हुनुपर्ने व्यवस्था छ ।

भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारी कोरोनाका बिरामीको उपचारमा नर्सहरूको भूमिका प्रशंसनीय रहेको बताउँछन् । उनले भने, ‘दुई मिनेट मात्रै अक्सिजन छुट्यो भने बिरामीको ज्यान जान्छ, त्यो सबै व्यवस्थापन नर्सहरूले गरिरहेका छन् ।’ एउटा बिरामीको उपचारमा ९० प्रतिशतत भूमिका नर्सहरूको रहने उनीको भनाइ छ । कोरोना संक्रमितहरूको छुट्टै औषधि नहुने, अक्सिजन र सेवाबाटै उपचार हुने हुँदा नर्सहरूको भूमिका थप महत्वपूर्ण भएको उनले बताए ।

फ्लोरेन्स नाइटिंगेलको जन्म दिनका अवसरमा यो दिवस मनाउने गरिएको छ । नेपालमा २०१३ सालदेखि नर्सिङ पेशा शुरु भएको मानिन्छ । विश्व नर्सिङ दिवस हरेक वर्ष मे १२ को दिनमा मनाउने गरिए पनि नेपालमा भने राष्ट्रिय नर्सिङ दिवस माघ १५ गते मनाइन्छ । नारायण अधिकारी (रासस)

Related News

सम्बन्धित समाचार

hero news full width