गण्डकीमा एकै दिन १६ संक्रमितको मृत्यु

मृत्यु हुनेमा ६० वर्ष मुनिका ९ जना

आदर्श समाज सम्वाददाता
वैशाख २९, २०७८
corona death (3)

पोखरा । गण्डकी प्रदेशमा थप १६ संक्रमितको मृत्यु भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो समय कास्कीका ७, तनहुँ र म्याग्दीका ३÷३, गोरखा, बाग्लुङ र दाङ १/१ जनाको मृत्यु भएको हो । गण्डकीमा कोरोनाबाट यति ठूलो संख्यामा मृत्यु भएको यो पहिलो घटना हो । यो सहित प्रदेशमा कुल ३ सय ४ जनाको कोभिड–१९ का कारण ज्यान गएको छ ।

पोखरा ९ की ६४ वर्षीया महिलाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार क्रममा निधन भएको छ । सोही अस्पतालमा उपचार क्रममा पोखरा १२ का ४५ वर्षीय कोरोना संक्रमित पुरूषको मंगलबार बिहान मृत्यु भयो । तनहुँको व्यास नगरपालिका १ की ३५ वर्षीय कोरोना संक्रमित महिलाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमै उपचार क्रममा मृत्यु भएको हो । तनहुँकै शुक्लागण्डकी नगरपालिका ६ का ६२ वर्षीय पुरूषको बुधबार बिहान फिस्टेल अस्पताल निधन भएको छ ।

म्याग्दीको बेनी नगरपालिका ९ की ३९ वर्षीया महिलाको मणिपाल शिक्षण अस्पतालमा उपचार क्रममा ज्यान गएको छ । मणिपाल शिक्षण अस्पतालमै उपचार क्रममा पोखरा १ का ५२ वर्षीय पुरूषको पनि निधन भएको छ ।

यसैगरी, तनहुँको शुक्लागण्डकी नगरपालिका ७ का ५५ वर्षीय पुरूषको बुधबार मणिपाल शिक्षण अस्पतालमा मृत्यु भयो। म्याग्दीको रघुगंगा गाउँपालिका २ की ३६ वर्षीया महिलाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बुधबार बिहान मृत्यु भयो । म्याग्दीकै मंगला गाउँपालिका ४ का ७६ वर्षीय पुरूषको गण्डकी मेडिकल कलेजमा मृत्यु भयो ।

दाङको लमही नगरपालिका ५ का ९० वर्षीय पुरूषको चरक मेमोरियल अस्पतालमा र पोखरा ३२ की ४८ वर्षीया महिलाको बुधबार गण्डकी मेडिकल कलेजमा मृत्यु भएको छ ।
यस्तै गोरखाको पालुङटार नगरपालिका ९ का ३३ वर्षीय पुरूषको गण्डकी मेडिकल कलेजमा मृत्यु भयो । पोखरा १ की ४९ वर्षीया महिलाको ग्यालेक्सी अस्पताल, पोखरामा उपचार क्रममा मृत्यु भयो । ग्यालेक्सी अस्पतालमै पोखरा १४ की ८६ वर्षीय महिला र पोखरा ८ की ८५ वर्षीया महिलाको मृत्यु भएको छ ।

बागलुङको ढोरपाटन नगरपालिका ४ की ६६ वर्षीया महिलाकोे धौलागिरी अस्पतालमा उपचार क्रममा निधन भएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width