कोरोनाले चहलपहल छैन, फेवाका डुंगा चालकलाई हातमुख जाेड्नै सकस

विजय नेपाल
वैशाख २९, २०७८
boat driver~fewa (1)

पोखरा । फेवातालका पुराना डुंगा चालक हुन्, सुन्दर विश्वकर्मा (५२) । उनले डुंगा चलाउन थालेको ३२ वर्ष भो । यतिका लामो समयसम्म डुंगा खियाएका सुन्दरलाई अहिलेजस्तो बेचैनी कहिले भएको थिएन । त्यसको प्रमुख कारण थियो–कोरोना भाइरस महामारी । कास्कीमा गत वैशाख १५ देखि ३१ सम्म जारी निषेधाज्ञाले उनले डुंगा चलाउन पाएका छैनन् । बीचमा केही समय तङ्ग्रिन थालेको व्यवसाय फेरि चौपट्ट छ ।

कोरोनाको जोखिमका कारण १४ महिनाअघि पनि डुंगा साङ्लोमै बाँधेर घरमै बसेका थिए । सरकारले असोजदेखि आंशिकरुपमा खोलेपछि फाट्टफुट्ट काम पाएका थिए । कोरोनाको दोस्रो लहरसँगै उनीमाथि पनि दोस्रो कहर सुरु भएको छ ।

नेपालको पूर्वी जिल्ला सिन्धुलीबाट सुन्दर २०४५ सालतिर कामको खोजीमा पोखरा आएका थिए । सिन्धुलीको सलपाबाट आएका उनी फेवामा डुंगा चलाउने त्यस भेगका सबैभन्दा पुराना चालक हुन् । उनी यहाँ आएपछि धेरै जना सलपावासी फेवामा डुंगा चालक बने । सुन्दर भन्छन्, ‘पूर्वबाट फेवामा डुंगा चलाउन आउने म पहिलो हो । पछि धेरै जना आए । तर यतिका समय बितिसक्दा अहिलेजस्तो अवस्था कहिल्यै भएन ।’ वाराहीघाटमा तैरिने आफ्नो नामका ५ डुंगाले उनको परिवारको गुजारा चल्दैआएको छ ।

२०७६ चैत ११ देखि लकडाउनका कारण डुंगा चल्न रोकिएकोमा संक्रमण दर केही घटेपछि २०७७ असोज १ देखि आंशिकरुपमा चल्न थालेका थिए । त्यसबेला तालवाराही मन्दिरमा प्रवेश निषेध भएकोले मन्दिर वरिपरि घुमाउन र ताल सयर गर्नेहरुले भाडामा लिने गरेका थिए ।

फेवा डुंगा व्यवसायी समितिले फेवामा डुंगा चलाउन आलोपालो प्रणाली लागु गरेको छ । तालका विभिन्न ८ घाटमध्ये सबैभन्दा बढी वाराही घाटबाट ३ सय ५६ डुंगा चल्छन् । वाराही घाटबाट मन्दिरसम्म जान आउन सातादश दिनमा मात्र पालो आउँथ्यो । पछि पुस १० देखि मन्दिरसम्म पनि आवातजावात खुला भएसँगै आन्तरिक पर्यटकको घुइँचो बढेको थियो । डुंगा चालकमा खुसीको सञ्चार सुरु भएकोमा पुनः लकडाउन (निषेधाज्ञा) ले कठिन मोड निम्त्याएको हो । समिति अध्यक्ष बुद्धिबहादुर नेपालीले भने, ‘पोहोर पुस १० देखि राम्रै भएको थियो । मान्छे आउन थालेका थिए । तर अहिले त च्याप्पै भयो । पहिले झैं राहतको खोजी गर्नुपर्ने अवस्था छ ।’

डुंगा व्यवसायी समितिका कर्मचारी सन्देश गिरीका अनुसार पछिल्लो समय ७५ प्रतिशत सुध्रिसकेको थियो । फेरि बन्द हुँदा कोही साथीहरु गाउँतिर गएका छन् भने कोही कोही माछा मारेर दिन कटाएका छन् । उनका अनुसार वाराही घाटबाट वैशाख १५ अघिसम्म मन्दिर घुम्न १ सय जति डुंगा चल्ने गरेका थिए भने भाडामा ५० वटा जति जान्थे । विदेशी पर्यटक अभावै पनि आन्तरिक पर्यटकले धानेका थिए ।

‘निम्न आएका मानिसले छाक टार्ने माध्यम डुंगा पेसा हो । अहिले फेरि यस्तो बेला आयो,’ समिति अध्यक्ष मंगलबहादुर नेपाली अनिश्चय भावमा बोल्छन्, ‘कोरोना कहिले हट्छ र सजिलो होला खै ?’

फेवाताल ५ सय जना डुंगा चालक छन् । सबैभन्दा बढी वाराहीघाटमा मात्रै करिब ८० जना छन् । डुंगा चलाएरै रोजीरोटी चल्ने गरेकोमा कोरोनाकै कारण उनीहरुको गाँस गुम्दै जाने डर छ । विगतमा वडा तथा विभिन्न संघसंस्थाको पहलमा राहत बाँडिएकोमा अहिले भने कसैको पहल भएको छैन ।

फेवातालमा डुंगा व्यवसाय व्यवस्थापनका लागि २०५१ सालमा उनकै अध्यक्षतामा फेवा डुंगा व्यवसायी समिति गठन भएको हो । फेवामा विभिन्न ८ वटा घाटमा हाल ८ सय वटा डुंगा चल्छन् । फेवातालमा वाराहीघाट सहित गौरीघाट, अम्बोट, फिस्टेल, पहारी, फेवा, स्वीमिङ पुल र बंगलादी घाट छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width