कोटेसनको चलखेलमा अल्झियो सरकारी आइसोलेसन

धनबहादुर गुरुङ
वैशाख २९, २०७८
Isolation 1

पोखरा । ‘मणिपालको जिन्दगी । भर्ना ६० हजार, डाक्टर चार्ज दैनिक २२ हजार, औषधी १ ओटा १२ हजार अन्य औषधी १५ हजार प्लस कुरूवा खर्च । सर्वसाधारण बाँच्न गाह्रो त्यसै भएको हैन । कोभिड’ भन्दै पत्रकार पदम श्रेष्ठले आइतबार फेसबुकमा पोस्ट गरे ।

आफ्नी ७८ वर्षीया हजुरआमालाई कोरोना संक्रमणपछि उनी शनिबारदेखि रेखदेखमा अस्पताल छन् । नजिकमात्र होइन, अक्सिजनलगायत औषधीमा सुविधा होला भनेर मणिपाल पु¥याएको त साह्रै महँगो भएको उनले प्रतिक्रिया दिए । ३ दिनमै १ लाख ५० हजारभन्दा बढी खर्च भइसकेको उनले बताए ।

वैशाख १४ मा कोरोना पोजेटिभ देखिएपछि गण्डकी प्रदेशसभा सदस्य मनकुमारी गुरुङले चरक मेमोरियल अस्पतालमा १ दिनको करिब ६० हजार तिरिन् । चरकमा १ रातको ५८ हजार बुझाएर उनी अर्को दिनदेखि गण्डकी मेडिकल कजेलमा भर्ना भइन् । गण्डकीमा पनि महँगै रकम बुझाएर अहिले घरमै आराम गरिरहेको उनले बताइन् ।
पोखराका चरक मेमोरियल, गण्डकी मेडिकल कलेज र फिस्टेल हस्पिटल लगायत निजी अस्पतालमा कोरोनाको उपचार गर्न सामान्य नागरिकको क्षमताभन्दा महँगो छ । त्यसैले सर्वसाधारण सरकारी आइसोलेसन नै खोजिरहेका छन् ।

तर कोरोना संक्रमितको ग्राफ बढ्दै जाँदा सरकारी आइसोलेसन भरिँदै गएका छन् । प्रदेश मातहतको संक्रामक तथा सरुवा रोग अस्पताल र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा ५० बेडको कोभिड आइसोलेसन ‘हाउसफुल’ भएको छ ।

संक्रमित बढ्न थालेसँगै पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले नवनिर्मित सुत्केरी तथा बच्चा वार्ड भवनलाई कोभिड अस्पतालमा रुपान्तरण गर्ने निर्णय पनि ग¥यो । तर निर्णय भएको लामो समयसम्म पनि आइसोलेसन तयार हुन सकेको छैन । २ सय संक्रमित लक्षित गरी आइसोलेसन बनाउन लागिएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्देशक सहप्राध्यापक डा. अर्जुन आचार्यले जानकारी दिए । टेन्डर/कोटेसनलगायत कामले ढिलो भएको उनले स्वीकारे । प्रतिष्ठान संघ सरकार मातहतमा रहे पनि प्रदेश सरकारको सहयोगमा बन्न लागेको आइसोलेसन टेन्डर र कोटेसनमा अल्झिएको छ । अरु सबै व्यवस्था भए पनि ग्यासको पाइपलाइनले काम ढिलो भइरहेको उनले बताए । ‘हामी प्रक्रियामै छौं, अझै १/२ हप्ता लाग्छ,’ उनले भने ।

प्रदेशकै ठूलो अस्पताल पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा अहिलेसम्म ग्यास प्लान्ट छैन

३ तले भवनमा माथिल्लो २ तलालाई संक्रमितको उपचार गर्ने तथा भुइँतलामा ओपिडी सेवा सुरु गर्ने योजना रहेको प्रतिष्ठानका कोभिड सम्पर्क व्यक्ति (फोकल पर्सन) डा. शरदचन्द्र बरालले बताए । बेडहरु तयार रहे पनि अक्सिजन पाइप लाइन जडानले गर्दा ढिलो भएको उनको भनाइ छ ।

कोरोना संक्रमितको उपचारमा सहयोग पुर्‍याउन प्रदेश सरकारले पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई ६२ लाख रुपैयाँ दिने भएको छ । गत वैशाख १९ मा बसेको प्रदेश कोभिड–१९ संकट व्यवस्थापन समितिको बैठकले आवश्यक सामान खरिदको लागि उक्त रकम दिने निर्णय गरेको सामाजिक विकास मन्त्री नरदेवी पुनले जानकारी दिइन् । त्यहाँ आवश्यक करिब १ सय १० स्टाफ नर्सका लागि संघ सरकारसँग माग्ने तयारी पनि त्यही बेला भएको थियो ।

गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोदबिन्दु शर्माका अनुसार करिब १ सय बेड संघ सरकारबाट आइसकेको छ । ‘संघ सरकारले १ सय एचडियु बेड गण्डकी हस्पिटलमा पठाइसकेको छ,’ उनले भने, ‘यसको मूल्य भनेको १२ करोड ६० लाख हो ।’

अस्पतालमा कोरोना संक्रमितको चाप बढ्न थालेसँगै सोमबारसम्म इमर्जेन्सीमै राख्न बाध्य भएको थियो । मंगलबार भने मेडिकल वार्डमा अक्सिजनसहितको आइसोलेन बेड तयार गरेर सारेको छ । सोमबार इमर्जेन्सीमा पनि बेड भएन भनेर अर्को अस्पतालतिर रिफर गर्नुपर्ने अवस्था आएको प्रतिष्ठानका कोभिड सम्पर्क व्यक्ति डा. बरालले बताए । बरालले यति धेरै अक्सिजन आवश्यक पर्ने बिरामी आउलान् भनेर कहिल्यै सोचेका थिएनन् । भर्ना हुने सबैलाई व्यवस्थापन गर्न गाह्रो परिरहेको डा. बरालको भनाइ छ । मेडिकल वार्डमा बनाइएको आइसोलेसन कक्ष पनि भरिन बेर नलाग्ने उनी बताउँछन् ।

किन छैन गण्डकी अस्पतालमा अक्सिजन प्लान्ट ?

कोरोनाको दोस्रो भेरियन्टका बिरामी अधिकांशमा अक्सिजन आवश्यकता पर्ने भएपछि गण्डकी स्वास्थ्य निर्देशनालयले त्यही अनुसार तयारी थाल्यो । कास्कीबाहेक प्रदेशका १० जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट बनाउन सुरु ग¥यो । अहिले प्रदेशमा अक्सिजनका लागि ग्यास प्लान्ट तयारी अवस्थामा रहेको प्रादेशिक स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्र संयोजक नवराज शर्माले जनाए । ‘प्रदेशका जिल्ला अस्पतालमा ग्यास प्लान्ट तयार भइसकेका छन्,’ उनले भने, ‘मनाङ र गोरखामा उत्पादनमा हुन केही समय लाग्नेछ ।’ म्याग्दी, स्याङ्जा र तनहुँ जिल्ला अस्पतालमा ग्यास रिफिलको कामसमेत गरिसकेको छ । तर प्रदेशको राजधानी पोखरामा संघ मातहतको प्रदेशकै ठूलो अस्पताल पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा अहिलेसम्म ग्यास प्लान्ट बनेको छैन ।

अस्पतालले बर्सेनि टेन्डर प्रक्रियाबाट अक्सिजन खरिद गर्छ । चालु आर्थिक वर्षमा पोखरा अक्सिजन ग्यास प्रालिले टेन्डर पारेको छ । यो त्यही ग्यास उद्योग हो, जहाँ क्षेत्रीय अस्पतालमा कार्यरत चिकित्सककै लगानी छ । १८ वर्षअघि पोखरा औद्योगिक क्षेत्रमा सञ्चालनमा आएको यो उद्योगको सञ्चालक समितिका अध्यक्ष डा. वसन्तकुमार ताम्राकार हुन् । उनले लामो समय सोही अस्पतालमा कार्यरत रहेर अवकाश लिएका छन् । अस्पतालको मेडिकल सुपरिटेन्डेन्टका रूपमा झन्डै ६ वर्ष बिताएका र पछिल्लो क्रममा प्रतिष्ठानको उपकुलपतिका रुपमा ४ वर्ष बिताएका डा. बुद्धिबहादुर थापासमेत उक्त उद्योगका सेयरधनी हुन् । उद्योगमा २७ सेयरधनी छन् । अस्पतालमा कार्यरत अधिकांश डाक्टरहरुको ग्यास कम्पनीमा लगानी रहेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width