मुस्ताङको गुमनाम पुस्तकालय

प्रकाश ढकाल
वैशाख २६, २०७८
lomanthang (2)

लोमान्थाङमा अहिले पनि राजसंस्था जीवित छ । औपचारिक घोषणा नभए पनि पूर्व राजकुमारले राजकाजको जिम्मा सम्हाल्दै आएका छन् । विशेषतः यार्तुङ, तिजी लगायत पर्वमा राजाको महत्व बढी हुन्छ । त्यसबाहेक न्याय सम्पादन र महत्वपूर्ण भेटघाटमा राजसंस्था अनिवार्य छ । पहिलेजस्तो राजगद्धीमा बसेर शासन चलाउँदैनन् । जनता र आफ्नो अधिकार क्षेत्रको रेखदेख राजासरह नै गर्छन्, राजकुमार जिग्मे सिंगी परवल विष्ट । जिग्मे परवल विष्टको निधनपछि दरबारमा पुरानो चहलपहल छैन तर लोमान्थाङवासी राजकुमारलाई राजा मान्छन् । लोमान्थाङको राजसंस्था नेपालको पुरानोमध्ये पर्छ । करिब ७ सय वर्ष पहिलेदेखि यहाँ राजकाज चल्न थालेको हो । छुट्टै भूगोल, छुट्टै परिवेश । फरक भाषा, फरक संस्कृति । त्यतिमात्र होइन, लोमान्थाङसँग धेरै पुराना र महत्वपूर्ण पहिचान छ ।

लोमान्थाङका दोस्रो राजा आङग्युन साङवोले दरबारलाई गाउँ नजिक ल्याए । त्यतिबेला भवन बनाउन थालियो । आवश्यक सबै संरचना सुरु भयो । लेमान्थाङवासी बुद्ध धर्म मान्छन् । त्यसैले राजाले बुद्ध धर्मको मुख्य ग्रन्थ पनि बनाउन लगाए । कंग्युर र तिंग्युरका पुस्तक हातैले लेख्न लगाए । त्यो पनि शुद्ध नेपाली कागजमा सुन र चाँदी जोडेर । बुद्ध धर्मको ग्रन्थ राखिएको लोमान्थाङ दरबारभित्र पुस्तकालय नै छ । तेस्रो राजा टासी ग्युनले यो पुस्तकालय पूरा गराए । ‘५–६ पाना जोडेर एउटा पेज बनाइएको छ । त्यसमाथि सुन र चाँदीले अक्षर कोरिएको छ,’ त्यहाँबाट प्रतिनिधित्व गर्ने प्रदेश सांसद इन्द्रधारा विष्टले भने, ‘६ सय वर्ष पुरानो यो पुस्तकालय अहिले पनि गुमनाम छ । राज्यलाई धेरै पटक भन्यौं, खासै चासो गरेन ।’ कहिलेकाहीँ अनुसन्धानका लागि आएका र उच्च व्यक्तिले अनुरोध गरे भने राजाको अनुमति लिएर देखाइन्छ । सबै पुस्तक र्‍याकभित्र थन्क्याएर राखिएको छ । ‘अनुसन्धान गर्नेले रिक्वेस्ट गरे देखाउँछौं । त्यो पनि राजा भएको बेलामा मात्रै,’ उनले भने, ‘धेरैले हेर्न पाएका छैनन् । राज्यले संरक्षण गरेर विश्वमा प्रचार गर्न सके यहि हेर्न पनि धेरै मान्छे नेपाल आउँछन् ।’

६ सय वर्षदेखि पुरानो पुस्तकालय, जहाँ सुन र चाँदीले कुँदिएका किताब छन्

तिब्बतमा रहेको शाक्य गुम्बाको पुस्तकालयलाई महँगोमध्येकै पुस्तकालय मानिन्छ । यहाँ धेरै पर्यटक पनि पुग्छन् । त्यहि हाराहारीमा नभए पनि लेमान्थाङ अनुसन्धान गर्नेहरुको लागि महत्वपूर्ण गन्तव्य बन्ने दरबारका आम्ची घ्याच्चो विष्ट बताउँछन् । ‘पुस्तक कंग्युर नामको घर नै छ । हातले लेखिएका पुस्तक दराजभित्र सुरक्षित छन्,’ उनले भने, ‘यसलाई अलि व्यवस्थापन मिलाएर सबैका लागि खुला गरौं भनेको हो । सरकारले अपनत्व लिएको छैन ।’ कंग्युरमा १ सय १ वटा तंग्युरमा २ सय ३१ पुस्तक हुन्छ । ‘एउटै पुस्तकमा ३ सय देखि ५ सयसम्म पेज हुन्छन् । सबै पुस्तकका अक्षर सुन र चाँदीले कुँदिएका छन्,’ उनले भने, ‘चिसो ठाउँ भएकोले कीरा, धमिराको डर छैन ।’

आम्ची तेन्जिङ साङबोका अनुसार महँगो पुस्तक बनाउँदा लामो समयसम्म सुरक्षित हुने भएकोले सुन चाँदीले लेखेको बताउँछन् । ‘सस्तो बनाएको भए त्यो सुरक्षित हुने थिएन । महँगो बनाएको भएर अहिलेसम्म रह्यो,’ उनले भने, ‘पुर्खाहरुले त्यही बुझेर सुनले लेख्नुभयो । त्यसमा उबेलाका धनी मान्छेहरुको पनि योगदान छ ।’ बुद्ध नेपालमै जन्मिए पनि नेपालकै भूमि लोमान्थाङमा भारत र तिब्बतबाट यो धर्मको प्रचार पुग्यो । अहिले पनि उनीहरु लुम्बिनीभन्दा बढी तिब्बतसँग नजिक छन् । ‘मुस्ताङको वास्तविक धर्म संस्कार सबै तिब्बतसँग मिल्छ । लवाइखवाइ मिल्छ । विहेवारी समेत उतै हुने भएकोले लुम्बिनीबाट भन्दा तिब्बतबाट बढी प्रचार भयो,’ आम्ची भन्छन्, ‘हाम्रोमा अहिले पनि उतैको प्रभाव बढी छ । तर राजनीतिक रुपमा कुनै सम्बन्ध छैन ।’

लोमान्थाङ जस्तै नजिकैको चराङ दरबारमा पनि यस्तै पुस्तकालय छ । बुद्ध धर्मावलम्बी अति आवश्यक परेमात्रै यसलाई खोलेर हेर्छन् । नत्र पछि अनुवाद भएका कागजका पुस्तक पल्टाएर धर्मकर्म चलाउँछन् । अहिले लुकाएर राखिएको पुस्तकालय खोलेर पर्यटनसँग जोड्न सके नयाँ गन्तव्यको रुपमा विकास गर्न सकिने जानकार बताउँछन् ।

Related News

सम्बन्धित समाचार

    hero news full width

    sanil ads

    wordlink ads