आँखाले देखेको तिलिचो

दुर्गाप्रसाद आचार्य
वैशाख २५, २०७८
tilicho (2)

वैशाखको दोस्रो हप्ताको दोस्रै दिन थियो । पोखराको आकाश निकै मैलो थियो र देशैभरि यस्तै । फाट्टफुट्ट परेको पानीले मैलो आकाश पखालिएकै थिएन । दिन धमिलो थियो । मनाङबाट खबर आयो ‘ हिजो निकै हिँउ पर्‍यो । छिनछिनमा मौसम बिग्रिरहेको छ यहाँ । तपाईंहरु कहिले हिँड्ने हो ? अर्को हप्तातिर आउनु भए माथि (तिलिचो) जान सजिलो होला ! बाटोभरि हिउँ छ । गाह्रो हुन्छ यस्तोमा त ।’ मैले यो कुरा जस्ताको तस्तै प्रमोद सरलाई सुनाएँ । तत्काल कुनै जवाफ दिनुभएन सरले । भन्नुभयो साथीहरु सँग सल्लाह गर्छु र अनि ।’

आजकल मेरो अफिस ढुंगेपाटनदेखि अलि पर छ, विजयपुरमा । साथीहरुसँग भेटघाट कम हुन्छ । केही समयपछि फोन गर्नुभयो प्रमोद सरले । ‘भ्रमण त नसारम् । जहाँसम्म सकिन्छ जाम । फेरि निषेध आदेश जारी हुन पनि सक्छ कोभिड यस्तो बढेको छ । सबै तयारी भइसकेको छ, दायाँ बायाँ कुरा नगरम अब जाने हो ।’ तोरणजी बोल्नुभयो ब्याकराउन्डमा । तिलिचोमात्र होइन थोरङ्ला नि पास गर्ने हो भन्नु हुन्छ उहाँ । केहीबेर फोनमा कुराकानी गरेपछि जाने कुरा पक्का भयो स्वीकृत भ्रमण कार्यक्रम अनुसार नै । बसको व्यवस्था गर्ने जिम्मा दियौंं गुणराजलाई । माइक्रो बसको व्यवस्था भयो बेंसीसहरसम्मका लागि । भोलिपल्ट बिहान ७ः३० बजे छुट्ने कुरा भयो पृथ्वी चोकबाट । त्यसै अनुसार तयारी अवस्थामा रहन सूचना गरियो, भ्रमणदलका सबै सदस्य साथीहरुलाई ।

निर्धारित समय अनुसार नै पोखराबाट माइक्रोबस छुट्यो । सूचना गरेअनुसार नै सबै साथीहरु तयारी अवस्थामा हुनुहुँदोरहेछ । माइक्रो बस ढुंगेपाटनसम्म आइपुग्दा १२ जना साथीहरु पुग्यौंं । हाम्रो जम्मा भ्रमण दलको सदस्य सख्या पनि यही नै थियो ।

जोड जोडले हावा चल्न थाल्यो, अनि हावासँगै ढुंगा झर्न । बाटो सर्लक्क हिउँले ढाकेको छ । उकालो चढ्नुपर्ने

अब भने माइक्रो बस पृथ्वी राजमार्गमा हुइँकन थाल्यो । साथीहरु भने आआफ्नो सुरमा गफिन थाले । गुणादीमा पुगेर माइक्रो बस रोकियो । हामीहरु ओर्लेर चिया खाजा खायौंं । गुरुजीले माइक्रो बस घ्यार्र पारे । सबैजना माइक्रो बस चढ्यौंं । बस अगाडि बढ्दै थियो । गीत बज्न थाल्यो ‘… दमौली, हिँड माया सँगसँगै रमाउली ।’ ठाउँ अनुसारको गीत रोजेछन् गुरुजीले । सबै जनाले ताली बजाउन र गाउन थाले ।

दाँया बायाँ मोड्दै बिहान ११ बजे बेंसीसहर पुर्‍याए गुरुजीले । केही साथीहरु किनमेलतर्फ लाग्नुभो । केही जना हामी बिहानको खाना अर्डर गर्न तर्फ लाग्यौंं । होटलका साहु–साहुनीले निकै मेहनत गरेर पकाउनुभएछ । निकै मिठो भयो खाना । थपी थपी खायौंं । यही बसाइका क्रममा हाम्रा १ जना पुराना मित्र शशीन्द्र पनि भेटघाट भयो । उहाँँकै सहयोगमा साथी तोरणजीले मनाङ जाने जिपको बन्दोबस्त गर्नुभएको थियो । झण्डै झण्डै दिउँसोको १ बज्नै लागेको थियो । हामीहरुलाई लिन जिप आइपुग्यो । जिप चढेर लागियो चामेतर्फको यात्रामा ।

यात्रा सुरु भयो मस्र्याङ्दीको किनारै किनार । चट्टान खोपेर बनाएको साँगुरो बाटो । दर्जनौं छाँगा, छहरा अनि झरना । कति हो कति, तर्नुपर्ने पुलहरु । घुम्ती मोड्दै हाम्रो जिप उत्तरतर्फ उकालो चढिरहेको छ । मस्र्याङ्दी भने निकै हतार हतारमा दक्षिणतर्फको ओरालो झरिरहेको छ । चर्को आवाजमा सुसेल्दै चट्टानमा ठोकिँदै, सायद उसको पर्खाइमा कोही बसिरहेको छ । हामी भने ठाउँ ठाउँमा ओर्लंदै फोटो खिच्दै । साथीभाइका रमाइला गफ सुन्दै बेलुकी साढे ६ बजेतिर चामे बजार पुग्यौंं ।

निकै चिसो थियो चामे । इगल आई गेस्ट हाउस एन्ड रेस्टुरेन्टमा बस्ने चाँजोपाँजो मिलाउनु भएको थियो तोरणजीले । कोठामा ब्याग थन्क्याएर डाइनिङ हलतर्फ लाग्यौंं सबैजना । आगो ताप्दै तिबेतियन नुनचिया अर्डर गरियो । चिया लिएर आए साहुजीले । देख्दा निकै छरिता र फुर्तिला देखिन्थे, नाम म्याक्स रहेछ उनको । चिया निकै स्वादिलो थियो । मलाई हेलम्बुको याद अयो । यस्तो चियाको स्वाद मैले पहिलो पटक हेलम्बुमा लिएको थिए । साथी जीवनसँग झण्डै २ हप्ता बिताएको थिएँ मैले हेलम्बुमा । केही साथीहरुले मन पराउनु भएन सायद पहिलोपटक भएर होला । फेरि चौंरीको घ्यु मिसाएको हुन्छ । म्याक्स हामीहरुसँग गफिन खोजे । ‘हिजोसम्म त हिउँ परेको थियो । मौसम पनि कस्तो कस्तो । आज राम्रो भएको छ । सायद यस्तै रह्यो भने जान सक्नुहुन्छ । तर अहिले परेको हिउँले अलि गाह्रो हुन्छ ।’ उनले हामीहरुलाई त्यँहाको वस्तुस्थितिबारे जानकारी गराए । हामी चुपचाप उनको कुरा सुनिरह्यौंं । आफ्नो कुरा सकेर खानाको अर्डर लिएर म्याक्स भाइ किचनतिर पसे ।

योजना त हाम्रो तिलिचो गएर थोरङ्ला पनि पास गर्ने थियो । प्रतिकूल मौसमले गर्दा यसपटक थोरङ्ला पास नगर्ने निर्णय गर्‍यौं । साबिक पोखरामा खाने खालको चिया पिएर होइन, तिबेतियन नुनचिया पिएर ! किचनमा खाना पाक्दै छ । साथीहरु दिनभरिका किस्सा सुनाउँदै हुनुहुन्छ । आगोले हल तातिरहेको थियो । प्रमोद सरले म्युजिक बजाएर वातावरण झन् तातो बनाउनुभयो । साथीहरु नाच्न थाल्नुभयो । उहाँहरुको रमाइलो नृत्य देखेर गेस्ट हाउसमा भएका जर्मन नागरिकहरु पनि मिसिन आइपुगे । राजु सरको नाच झन् राम्रो हुन थाल्यो । केहीबेरपछि खाना पाक्यो । तातो तातो दाल भात तरकारी खाएर सुत्न लाग्यौंं । चिसो चामे बजार सुनसान हुँदै गयो । तल मस्र्याङ्दीले भने अविरल सुसेलिरहेको थियो ।

यात्राको दोस्रो दिन बिहान साढे ६ बजे हामी सबैजना उठेर नित्य कर्म सकिसकेका थियौंं । तिबेतियन पुरी, उसिनेको अण्डा, तरकारी र चिया खाएर चामेबाट मनाङ (खंग्सार) तर्फको यात्र सुरु भयो । त्यतिबेलासम्म हिमालमा सूर्यको किरणले लीला देखाइसकेको थियो । सुत्ने बेलामा चाँदीजस्तै देखिएको हिमाल नम्बरी सुन जस्तै टल्केको थियो । हाम्रो यात्रा फेरि मस्र्याङ्दी किनारै किनार सुरु भयो । चट्टान खोपेर बनाएको साँगुरो टनेलजस्तो बाटोमा जिप केहीबेर अगाडि बढेपछि स्वर्गद्वारी पुगियो । त्यहाँको अद्भूत दृश्यले हामी सबैलाई पुलकित बनायो । सबैका अनुहारमा लाली चढेको थियो, हिमालमा परेको बिहानको घामको किरण जस्तै ! हिउँ ओडेर सुतेका ती पत्थरहरु निकै लोभ लाग्दा थिए र उत्तिकै मनमोहक पनि ।

हाम्रो जिप बिस्तारै अगाडि बढ्दै गयो । यति बेला पिसाङ पुगिएछ । दाँया बाँया देखिने ती कोणधारी सल्ला र धूपीका बोटहरुमुनि सेताम्य हिउँका थुप्राहरु । अलिपर टलक्क टल्कने हिमाल अनि खुलेको त्यो नीलो आकाश । यात्रा साँच्चिकै सुनौलो थियो । वरपर पानी जमेका ससाना पोखरीहरु । अनि खर्कमा चरेका भेडा, बाख्रा, च्यांग्रा र याकका बथानले झनै सुन्दरता थपिदिएको थियो त्यँहाको ।

साढे १० बजेको थियो मनाङ पुगिएछ । बाहिर जोडले हावा चलेको थियो । मैले ज्याकेटको जिप बन्द गरेँ र टोपीको डोरी कसेँ अनि अलिकति चिपिस्टिक ओठमा दलेँ । हामीहरु गंगापूर्ण ताल अवलोकन गर्नतर्फ लाग्यौंं । हावा भने निकै चलेको थियो । मात्तिएको घोडाजस्तो एकातिर जाला भन्यो अर्कैतिर बटारिने । म गंगापूर्णमा फोटो खिच्दै थिएँ, साथीहरु त जिप चढिसक्नुभएछ जिपले हर्न बजायो ।

खग्सारको पोताला गेस्ट हाउसमा खाना तयार भइसकेको थियो । गेस्ट हाउसको आँगनमा अस्ति परेको हिउँको थुप्रो मंसिरको खलामा छाडिएको भुसको डंगुरजस्तै थियो । अञ्जुलीमा लिएर छ्याप्न लाग्नुभयो साथीहरु, एक अर्कालाई । खाना लगाइसक्नु भएको रहेछ साहुजीले ‘खाना त चिसो भयो सरहरु’ बोलाउनुभयो उहाँले । खाना खान लाग्यौंं हामीहरु । साहुजीले भन्नुभयो । खास त यो हिउँ पर्ने सिजन होइन यसपालि के भो कुन्नि अचानक नसोचेको हिँउ पर्‍यो । आज पनि पर्छ कि जस्तो छ फेरि । पर्‍यो भने तिलिचो जान गाह्रै छ तपाईंलाई । बाटो पत्ता लगाउनै गाह्रो हुन्छ ।’ साहुजीको कुरा सुनेपछि केही साथीहरु खंग्सारमै रहने कुरा गर्नु भो । बाटो अप्ठ्यारो छ, मौसम पनि त्यस्तै बस्ने साथीलाई जाने जोडबल गरेनौं । उहाँहरुलाई खंग्सारमै छोडेर जम्मा हामी ६ जना साथीहरु अघि बढ्यौंं ।

त्यहाँबाट दुई घन्टा हिँडेपछि श्री खर्क पुगियो । साथीहरुको चिया पिउने मनसाय रह्यो । कालो चिया अर्डर गरेँ मैले । चिया खाँदै गर्दा साढे ३ हुँदै थियो । अचानक मौसम परिवर्तन भएर अयो । फुरुरु हिँउ पर्न थाल्यो । हामीले पनि त्यहीं हिमालयन गेस्ट हाउसमा बस्ने निर्णय गर्‍यौं ।

बाहिर पातलो हिउँ परिरहेको थियो । निकै चिसो थियो । प्रमोद सर र म डाइनिङ्मा आगो ताप्दै थियौंं । विदेशी पदयात्रीहरुको एउटा समूह आइपुग्यो । उनीहरु तिलिचोबाट आउँदै रहेछन् । दुई जना गाइड पनि थिए नेपाली । उनीहरु हाम्रो छेवैमा आएर बसे । उनीहरुसँग हामीले निकैबेर कुराकानी गर्‍यौं । सुरुमा त खुल्न चाहेनन् । पछि पेमा शेर्पा निकै खुलेर कुरा गरेँ । उनीबाट हामीले धेरै कुरा जान्ने मौका पायौंं । श्री खर्कमा राति निकै जोडले हावा चलिरेको थियो ।

यात्राको तेस्रो दिन बिहानै उठेर हामीहरु तिलिचो बेसक्याम्पका लागि तयारहुँदै थियौंं । हाम्रा दुईजना साथीहरु तोरणजी र विष्णु म्याडमको स्वास्थ्यमा केही समस्या देखियो । उहाँहरुलाई श्री खर्कमा छाडेर हामी ४ जना लाग्यौंं तिलिचो बेसक्याम्पतर्फ कालो चिया पिएर ।

घाम कलिलै थिए । तलबाट मस्र्याङ्दी सुसाइरहेको थियो । हिमालमा ठोकिएर आउने सिरसिरे बतासले नाक निकै चिसो भयो । रुमाल झिकेर नाक छोपेँ मैले । प्रमोद सरले मोबाइलमा हिन्दी फिल्म केदारनाथको गीत बजाउनु भएको छ । पञ्जा लगाएको हातले माबाइल चलाउन निकै गाह्रो भो, चिसो भए पनि पञ्जा खोलेर ब्यागमा राखिदिए । मोबाइलमा फोटो खिच्दै हिँडेको ल्यान्डस्लाइडिङ एरियातिर पुगिएछ । बाटो अप्ठ्यारो मोबाइल खल्तीमा थियो । १ हुल ब्लुसिप (भारल) सँग हाम्रो जम्का भेट भयो । नजिकैबाट तिनीहरुको फोटो खिच्ने प्रयास सफल भएन हाम्रो । हामी प्रोफेसनल फोटोग्राफर नभएर पनि होला । क्षण भरमै हाम्रो आँखाबाट धेरै टाढा भए तिनीहरु । त्यो भिर, त्यो पहाड अनि हाम्रो अप्ठ्यारो बाटामा तिनीहरु बानी परिरहेका थिए ।

बिहानको १० बजे हामीहरु तिलिचो बेस क्याम्प पुगियो । न्यु तिलिचो बेसक्याम्प गेस्ट हाउसमा बस्ने व्यवस्था मिल्यो । डाइनिङ हलमा मीठो घाम लागेको थियो । हामीहरु त्यहीँ आराम गरेर बस्यौंं । बिहानको खाना तयार भएछ । गेस्ट हाउसका भाइले खाना टेबलमा राखिदिए । हामीहरुले खाना खायौंं । यहाँ त यस्तै हो क्यारे सर, हरियो परियो पाइँदैन खाना दिने भाइले हाँस्दै सुनाए । हामीले कुनै प्रतिक्रिया जनाएनौं । दाल भने थपी थपी खायौंं ।

त्यस गेस्ट हाउसको भाइले दिएको सल्लाह अनुसार त्यो दिन हामीले वरपरका पहाड र थुम्कामा चढेर बितायौं । सुत्नभन्दा आफूलाई एक्टिभ बनाइराख्नु भयो भने भोलि सजिलो हुन्छ भाइले दिएको सल्लाह यही थियो । दिनभर घुमेर बेलुकी गेस्ट हाउस फक्र्याैं । हामी लक्की रैछौं सर मैले प्रमोद सरलाई बिस्तारै भनें ‘आज हिउँ पनि परेन, मौसम पनि निकै सफा रह्यो । प्रमोद सर मुसुक्क हाँस्नु भयो । बाहिर हिमाल पनि हाँसिरहेको थियो । सायद यो जुनेली रात थियो ।

यात्राको चौथो दिन बिहान साढे ५ बजे तिलिचोतर्फ लाग्यौं । जम्मा ४ जना साथीहरु । हामीभन्दा अघि २ जना विदेशी पर्यटक थिए । पछाडिबाट ५/६ जना युवाहरुको समूह आइरहेको छ । झण्डै २ घन्टा हिँडिएछ । निकै अप्ठ्यारो छ अबको बाटो । जोड जोडले हावा चल्न थाल्यो, अनि हावासँगै ढुंगा झर्न । बाटो सर्लक्क हिउँले ढाकेको छ । उकालो चढ्नुपर्ने । चिसो हावाले ओठ फुटिसके, गाला राता भए । बाटो गाह्रो त छँदै छ अनि फेरि लेक लाग्ने डर तेत्ति नै । धेरै हतार गर्न पनि भएन । हिउँमाथि चिप्लँदै त कतै गड्दै धारिला ढुंगा छल्दै हामीहरु नीलो हिमालको नाकैमा पुगियो । सायद यो नीलो भएर नै निलगिरि नाम राखिएको होला, मैले लख काटेँ । हिउँमाथि परेका पाइला पछ्याउँदै हामीहरु अघि बढ्यौं । अब भने एउटा इनडेक्स भेटियो । केहीबेर आराम गरेर फोटो खिच्यौं । त्यसमा लेखिएको थियो, तिलिचो ३५ मिनेट । फेरि हामी पाइलाहरु पछ्याउँदै अघि बढ्यौं । नजिकैको नीलो हिमालमा ठोक्किएर आउने हावाको झोक्काले घरिघरि त जुरुक्कै उचाल्ला जस्तो गथ्र्याे !

बिहान पौने ११ बजेको थियो क्यारे ! हामीहरु तिलिचो ताल पुग्यौं । हाम्रा आँखाले भ्याएसम्म चारैतिर हिउँ नै हिउँ थियो । जब तिलिचो पुगियो, तलका सारा दुख, ती अप्ठ्यारा क्षणभरमै कुन दुलोभित्र हराए थाहै भएन । आज आफ्नै आँखाले देखेको तिलिचोमा नीलो पानी थिएन । चाँदीको कचौरामा राखेको भक्तपुरको जुजु धौ (दही) जस्तै ! जमेको थियो तिलिचो ताल । जति हेरे पनि नपुग्ने, जति फोटो खिचे पनि कमै हुने बिरलै देख्न पाइने तिलिचोको त्यो चाँदीय सुन्दरताले निकै गद्गद् बनायो । त्यहाँ पुग्ने हाम्रा साथीहरुको खुसी तिलिचोको आँगनमाथि पसारिएको हिउँसँग पोखिइरहेको छ । आआफ्नै तालमा फोटो र भिडियो बनाउँदै त्यहाँको सुन्दरतालाई मोबाइलभित्र छिराइरहनु भएको छ । म भने एकतमास ती हिमालहरु हेरिरहेको छु । अफिस जाँदा लगाउने त्यो सेतो सर्ट उज्याला (नीर) राखेर चम्काएजस्तो त्यो निलगिरिले मलाई चिने जस्तै गरी हेरिरहेको छ । मेरो मनमा एउटा अनुभूति भइरहेछ,‘के यही होइन त स्वर्ग ?’ १ अञ्जुली हिँउ उचालेर बेस्सरी नीलो कञ्चन आकाशतर्फ फालिदिएँ मैले । मन औधी रमाइरहेको थियो ।

साँच्चिकै त्यहाँबाट देखिने तिलिचो हिमाल, निलगिरि हिमाल, खंग्सार हिमाल र मुक्तिनाथ हिमालको त्यो अद्भूद दृश्यको वर्णन कसरी होला र यहाँ ! अप्ठ्यारो बाटोको त्यो पट्यार लाग्दो समय । अत्यासलाग्दो हिंडाइ । यहाँ आएपछिको समय भने कति छिटो बित्यो पत्तै भएन । बिस्तारै घामको राप र हावाको चाप बढ्न थाल्यो । हामीहरु भने तल ओर्लने तरखरमा लाग्यौं ।

(लेखक पोखरा विश्वविद्यालयका उप–प्रशासक हुन्)

Related News

सम्बन्धित समाचार

    hero news full width

    sanil ads

    wordlink ads