पिसिआर गर्नै सास्ती

धनबहादुर गुरुङ
वैशाख २५, २०७८
PCR Photo 1

पोखराको प्रदर्शनी केन्द्रमा स्वाब दिन लाइनका बसेका सर्वसाधारण । फाइल तस्बिर

पोखरा । शरीर धान्नै नसक्ने अवस्थामा रहेकी लक्ष्मी गिरी लाइन छाडेर चौरमा थुचुक्क बसेकी थिइन् । उनीसँगै जेठा छोरा पनि थिए । स्वाब दिने पालो कति बेला आउला भनेर मास्कले छेकेको बाफले आँखा पोल्यो भन्दै मिच्दै थिइन् । बेला बेलामा सुइय..सुइय… आवाज निकाल्दै थिइन् ।

पोखरा महानगरपालिका १५ वन क्याम्पस बस्ने देवी गिरीलाई ज्वरो आएको १४ दिन भयो । त्यो बीचमा उनलाई ज्वरोमात्र आएन । खोकी लाग्ने, टाउको दुख्ने, पूरै शरीर दुख्ने भयो । पछि स्वाद नै थाहा नपाएपछि खाना पनि रुचेन । आफ्नो समस्या लिएर नजिकैको मेडिकलमा पनि पुगिन् । केही थान औषधी थमाइयो तर मेडिकलको ओखतीले ज्वरो कम हुनेबाहेक अरु केही कमी भएन ।

१० गते आफन्तको बिहेमा गएर आएदेखि उनमा समस्या देखिएको हो । विवाहमा उनले मास्क, सेनिटाइजर प्रयोग गरेकै थिइन् । तर भौतिक दूरी भने कायम भएन । त्यही भीडबाट केही गडबडी भयो कि भन्ने उनको शंका छ । केही दिन अगाडिदेखि त झन् जेठो छोरोमा पनि टाउको दुख्ने, ज्वरो आउने भयो । कोरोनाकै लक्षणजस्तै समस्या आमा छोरा दुबै जनामा देखिएपछि उनीहरु शुक्रबार रेडक्रसको एम्बुलेन्स चढेर पोखरा प्रदर्शनी केन्द्रमा स्वाब दिन पुगिन् ।

पोखरा महानगरले शुक्रबार प्रदर्शनी केन्द्र र कैलाश आधारभूत विद्यालय हेमजाबाट स्वाब संकलन गरेको छ

वैशाख ३ गते कोरोना पोजेटिभ देखिएकी हेमजाकी शोभा राना पनि पालो कुरेरै बसेकी थिइन्, सँगै थिइन् सासू पार्वती राना । बुहारी शोभालाई कोरोना देखिएपछि परिवारकै कन्ट्याक्ट ट्रेसिङ गर्दा सासूमा मात्र कोरोना देखिएको थियो । घरमा बस्दा बस्दै कताबाट कोरोना स¥यो भन्ने थाहा नभएको सासू बुहारी नै अहिले फिट छन् । तर पहिलो पटक पोजेटिभ देखिएपछि अर्को पटक परीक्षण नगरेका दुबैजना नेगेटिभ/पोजेटिभ के आउँछ भन्ने निश्चित हुन चाहन्छन् । उनीहरु पनि शुक्रबार नै हेमजाबाट नै पोखरा प्रदर्शनी केन्द्र पुगेकी हुन् । नयाँबजारस्थित प्रदर्शनी केन्द्रको चौरमा स्वाब संकलनका लागि पुग्नेहरुको डर भनेकै आफन्तबाट कोरोना सर्‍यो कि भन्ने नै थियो ।

पोखरा महानगरपालिका स्वास्थ्य महाशाखाले स्वाब संकलन कार्यलाई पछिल्लो समय २ समूह बनाएर गरिरहेको छ । शुक्रबार महाशाखाले प्रदर्शनी केन्द्र र कैलाश आधारभूत विद्यालय हेमजाबाट स्वाब संकलन गरेको हो । गत वर्षदेखि सुरु भएको स्वाब संकलन कार्य पहिले कुनै निश्चित १ स्थानबाट मात्र गर्ने गरेको थियो । तर पछिल्लो समय कोरोनाका लक्षणसँग मिल्दो बिरामी धेरै भएका कारण २ स्थानबाट संकलन गरिरहेको स्वास्थ्य महाशाखाका स्वास्थ्य सहायक दीपेन्द्र सुनारले जानकारी गराए । चैत महिनासम्म दैनिक १५÷२० जनाको स्वाब संकलन गरे पनि वैशाख यता दिनमा २÷३ सयको स्वाब संकलन गर्ने गरिएको सुनारले बताए ।

स्वास्थ्य महाशाखाले बिहीबार नयाँबजार प्रदर्शनी केन्द्र र जिल्ला अदालत कास्कीबाट ३ सय ८३ जनाको स्वाब संकलन गरिएको स्वास्थ्य सहायक सुनार जानकारी दिए । शुक्रबार प्रदर्शनी केन्द्रबाट १ सय ६९ र कैलाश आधारभूत विद्यालय हेमजाबाट ५१ जनाको स्वाब संकलन गरिएको उनको भनाइ छ ।

कास्कीमा प्रदेश स्वास्थ्य निर्देशनालय, पोखरा महानगरपालिका र निजी अस्पतालहरुले स्वाब संकलनको काम गरिरहेका छन् । कास्कीमा दैनिक १ हजारभन्दा बढीको स्वाब संकलन भइरहेको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदबिन्दु शर्माले जानकारी दिए । प्रदेशमा क्षयरोग उपचार केन्द्र, पोखरा, बागलुङ र नवलपुरबाट पिसिआर परीक्षण भइरहेको शर्माले जानकारी दिए । निजी ल्याब लाइफ केयर डायग्नोस्टिक सेन्टरबाट पनि स्वाब परीक्षण काम भइरहेको छ ।

Related News

सम्बन्धित समाचार

  • पुरानो पोखरा जोगाउन पहल: मेयर आचार्य

    आदर्श समाज सम्वाददाता वैशाख ६, २०८१
    पोखरा । सम्पदा संरक्षण सम्मान–२०८० बाट पोखराका सुनिल उलक सम्मानित भएका छन् । नागरिक समाज कास्कीको आयोजनामा बिहीबार आयोजित समारोहमा…
  • पाेखरा नयाँबजारमा श्रीमद्भागवत् ज्ञानमहायज्ञ जारी

    आदर्श समाज सम्वाददाता वैशाख ६, २०८१
    पोखरा । पोखराको नयाँबजारमा नयाँ वर्षदेखि सुरु भएको श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ–२०८१ जारी छ । महायज्ञमा विविध कार्यक्रमले नयाँबजारस्थित प्रदर्शनी केन्द्र…
  • सुदुरपश्चिममा सोडारी मुख्यमन्त्री नियुक्त

    आदर्श समाज सम्वाददाता वैशाख ६, २०८१
    पोखरा । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी) का दीर्घ सोडारी नियुक्त भएका छन् । उनले एमाले, माओवादी, नेकपा एकीकृत…
  • प्रेमील गजलकारको भावपूर्ण बिदाइ

    आदर्श समाज सम्वाददाता वैशाख ५, २०८१
    पोखरा। ‘साँझमा दीयो बालिराख्यौ को आउँदै छ आज ? हातका औँला चालिराख्यौ को आउँदै आज ? हिजो अस्ति उक्किएका घरका…
  • लायन्स पोखरा वर्किङ टुगेदरमा जनकराज पौडेल

    आदर्श समाज सम्वाददाता वैशाख ५, २०८१
    पोखरा। लायन्स क्लब अफ पोखरा वर्किङ टुगेदरको वर्ष २०२४/२५ अध्यक्षमा जनकराज पौडेल चयन भएका छन् । बुधबार अधिवेशनले क्लब उपाध्यक्षमा अमृतकुमार…

hero news full width