जोखिममा खट्ने ‘रियल हिरोहरु’

आदर्श समाज सम्वाददाता
वैशाख २५, २०७८
main news

पोखरा । कोरोनाको महामारीले नेपाल १४ महिनादेखि आक्रान्त छ । एकै दिनमा झन्डै १० हजार नयाँ संक्रमित भेटिन थालेका छन् । मृत्युको ग्राफ पनि दिनानुदिन बढेको छ । अक्सिजन नपाएरै कतिले ज्यान गुमाएका छन् ।

भाइरसको दोस्रो लहर फैलिएसँगै स्थिति भयावह हुँदै गएको स्वयं स्वास्थ्यकर्मीहरु बताउँछन् । तैपनि ज्यानको जोखिम राखेर स्वास्थ्यकर्मीहरु दिनरात उपचारमा खटिएकै छन् । कोरोनाका बिरामीको उपचारमा जुट्ने र खट्ने नै रियल हिरो हुन् । पिपिईका भरमा कोरोना संक्रमितको हेरचाहमा खटिने स्वास्थ्यकर्मीहरुको पीडा पनि कम्ता छैन । जोखिम भत्ताबिनै लगातार सेवामा खटिने उनीहरुलाई घरमा फर्किंदा समेत समाजले नराम्रो दृष्टिले हेर्ने गरेको यदाकदा सुन्ने गरिन्छ ।

शुक्रबार बिहान साढे ११ बजे बजे, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल हाताभित्र निर्मित आइसोलेसन वार्ड परिसरमा भेटिए मेडिकल अधिकृत डा. शरदचन्द्र बराल (३७) । उनी पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा कोभिडका बिरामीको उपचारमा सम्पर्क व्यक्तिको रुपमा खटिएका छन् । यत्तिकैमा एक महिला नजिक आइन् । र, भनिन्, ‘डा. सा’ब बुवाले तपाईंलाई नै खोज्नुभयो । तपाईंको बोली सुने पनि रिलिफ हुन्छ भन्नुुहुन्छ ।’ डा. बराल मुस्कुराएमात्र । स्याङ्जाकी शारदा सुवेदीका ६१ वर्षीय बुवामा कोरोना संक्रमण देखिएपछि आइसोलेसन बार्डमा भर्ना छन् । वार्डमा दिनैपिच्छे संक्रमितको संख्या बढेको छ । ५० बेड क्षमताको वार्डमा जसोतसो ५५ जनाको उपचार भइरहेको डा. बरालले बताए । उनका अनुसार अधिकांशलाई अक्सिजन दिइराखिएको छ ।

डा. बराल बिरामीको लागि यत्तिकै खोजीका पात्र होइन रहेछन् । उनको सरलता, उपचार विधि र विज्ञताले यो प्रष्ट्याउँछ । डा. बराल उनै हुन्, जो स्वास्थ्य मन्त्रालयले पहिलो पटक उनलाई उत्कृष्ट स्वास्थ्य सेवा पुरस्कारबाट पुरस्कृत गरेको थियो । साथै उनी स्वास्थ्य खबरबाट पनि स्वास्थ्य खबर अवार्ड प्राप्त गर्ने चिकित्सक हुन् ।

पिपिईका भरमा संक्रमितको हेरचाहमा खटिने स्वास्थ्यकर्मीहरुको पीडा पनि कम्ता छैन

आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्न रुचाउने डा. बरालले आव २०७३/०७४ मा दुर्गम अछाम जिल्ला अस्पताललाई देशभरकै सरकारी अस्पतालमा उत्कृष्ट बनाएका थिए । अछाममा जिल्ला जनस्वास्य प्रमुख उनले ३ वर्षसम्म सेवा गरे । बिरामीको चाहनामात्र नभइ स्वास्थ्यकर्मीहरुका लागि पनि डा. बराल प्रेरणाका स्रोत हुन् । अरुलाई प्रेरित गर्दै आफू दिनरात खटिने बराल पोखरा आएको ७ महिना भयो । उनी पोखरा आउनुअघि वीर अस्पतालमा एमडीको कोर्स गर्दै थिए ।

पोखरा–१५, रामबजार निवासी डा. बराल आफ्नै गृहजिल्लामा आएर जोखिमपूर्ण भए पनि पिपिईका भरमा कोरोना संक्रमितको सेवा गर्न पाउँदा खुसी छन् । चिकित्सा क्षेत्रमा ८ वर्षदेखि निरन्तर कार्यरत बरालले जहाँ गए त्यही उत्कृष्ट बनाउनुपर्छ भन्ने मान्यता राख्छन् । मोरङको मंगलबारे प्राथमिक स्वास्थ्य केन्द्रमा तथा नवलपरासीमा पनि पनि उनी खटिएका थिए ।

कतैबाट गुनासो आए, सम्बोधन गरिहाल्नुपर्छ भन्ने भावना जाग्ने उनी बताउँछन् । मानवीय संकटको बेला एकअर्कालाई सहयोग गर्नुपर्छ, उनी भन्छन्, ‘परिवारमा एक जना संक्रमित भए अन्य सदस्यलाई पनि सहजै संक्रमण देखिने गरेको पाइन्छ । व्यक्तिगत सुरक्षाका उपायहरु अपनाउन जरुरी छ । मास्क प्रयोग गर्ने, नियमित हात धुने, सेनिटाइजर प्रयोग गर्ने, संक्रमित भइहाले स्वास्थ्यकर्मीको सल्लाह लिएर उपचार विधि अपनाउनुपर्छ ।’ यस सिजनमा हालसम्म ७० जनाले सेवा लिएकोमा २८ डिस्चार्ज भइसकेको उनले जानकारी दिए ।

पोखरा ड्यामसाइडकी अनिषा पौडेल भर्खरैमात्र उमेरले २३ टेकिन् । उनी हुन् ल्याब टेक्निसियन । कोरोना संक्रमितसँग प्रत्यक्ष ‘टच’ भई सेवामा निरन्तर खटिने गरेकी छन् । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको कोरोना ल्याबमा कोरोना परीक्षण गर्न जानेहरुको स्वाब कलेक्सन गर्ने गर्छिन् । काम गर्दा कत्तिको जोखिम छ ? भन्ने जिज्ञासामा पौडेल सहजै उत्तर दिन्छिन्, ‘जोखिम त छ नि ! दिनमै एक सय भन्दा बढीको स्वाब कलेक्सन गर्नुपर्छ ।’ त्यतिमात्र हैन, आइसोलेसन वार्डमा उपचार गराइरहेका बिरामीको पनि ब्लड लिने काम उनैको हो । पिपिई लगाएर घन्टौसम्म आइसोलेसनमा छिर्दा असिनपसिन हुने गरेको उनको अनुभव छ । गत मंगलबार अस्पतालको चौरमै एक्कासी ढलिन् । सहकर्मीहरुले तत्कालै पानी खुवाए । लामो समय पिपिई लगाएकी उनले बाहिर आएर फुकालेर कपडा परिवर्तन गर्न खोज्दा एक्कासी ढलेर बेहोस् बनेको सहकर्मी शंकर भण्डारीले जानकारी दिए । बिहीबार उनले ९० जनाको स्वाब संकलन गरेको बताइन् ।

उनी भन्छिन्, ‘काम गर्दा जोखिमपूर्ण भए पनि सरल ठान्छु । दैनिक १० देखि ११ बजेसम्म नाम इन्ट्री गर्ने हो । अनि पिपिई लगाएर स्वाब कलेक्सन गर्नुपर्छ । दैनिक १ सय जना स्वाब कलेक्सन गर्छु ।’ सरकारले दिने भनेको जोखिम भत्ता अहिलेसम्म पाएकी रहिनछन् । घरका सदस्यले अहिलेको जोखिम देखेर काम छोड्न सल्लाह दिन्छन् रे । तर उनी मान्दिनन् । भनिन्, ‘बुवा आमाले अब काम छोड्दा नि हुन्छ भन्नुहुन्छ । तर मलाई सेवामा खटिँदा खुसी लाग्छ ।’

चित्रबहादुर थापा (२६) एम्बुलेन्स चालक हुन् । कोरोनाको त्राहीमाम हुँदा गत वर्ष असार महिनाको अन्त्यतिर हो, उनलाई जनस्वास्थ्य कार्यालयबाट फोन आयो–कोभिड संक्रमितलाई गण्डकी अस्पताल छोड्नुपर्‍यो ।

उनी तोकिएको जिम्मेवारी पूरा गर्न तयार भए । सुरुमा त डर नलागेको पनि हैन । तैपनि आवश्यक स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाउँदै पिपिईमा उनी पोखराको काहूँखोलामा संक्रमित लिए । सुरुमा आफूलाई डर लागे पनि बिरामीको अवस्था देख्दा दुःख लागेर आएको उनी सम्झिन्छन् ।

पानी र बिस्कुटमात्र लिएका भर्खरका एक युवक चारैतिरबाट मानिसले घेरिएका थिए । कसैले पनि छुन आँट गरेका थिएनन् । सबैले रमिता हेरिरहेको देखेपछि उनले तुरुन्तै एम्बुलेन्समा राखेर गण्डकी अस्पताल छोडेका थिए । भर्खर विदेशबाट फर्किएका ती युवक अन्ततः केही दिनको उपचारपछि निको भई घर फर्किएका थिए ।

त्यसपछि लगातारजसो उनले कोरोना संक्रमितलाई निवासबाट आइसोलेसन वार्डसम्म पु¥याउने काममा खटिए । पछिपछि सहज लाग्यो । कसैको सेवा गर्न पाउँदा यी ठिटोलाई समाजसेवामा समर्पित भएको अनुभूति हुँदो रहेछ । चित्रले एम्बुलेन्स चलाउन थालेको ४ वर्ष पुग्यो । कोरोनाको महामारीमा शुद्ध तलबबाहेक सरकारीस्तरबाट जोखिम भत्ता नपाएको उनको गुनासो छ । उनी अझै भन्छन्, ‘पोखरामा प्रत्येक एम्बुलेन्स ड्राइभरले कोरोना बिरामी बोक्छौं । नबोक्ने हैन तर पोखराको एउटा अस्पताल एम्बुलेन्स चालकको लागि छुट्याउनुपर्छ । जोखिमपूर्ण काम गर्दा हामीहरुलाई संक्रमण भइहाल्यो भने अहिलेजस्तो अक्सिजन अभाव तथा उपचार अभाव नहोस् ।’ पोखरामा विभिन्न सामाजिक संघसंस्था तथा अस्पतालका गरी करिब ५० एम्बुलेन्स सञ्चालनमा छन् ।

Related News

सम्बन्धित समाचार

  • कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । कास्कीमा माध्यमिक शिक्षा एसइईका उत्तरपुस्तिका परीक्षण रोकिएको छ । १० वर्षदेखि उत्तरपुस्तिका परीक्षण पारिश्रमिकमा वृद्धि नभएको भन्दै शिक्षकहरुले…
  • सहारा एकेडेमीमा यु–१४ फुटबल प्रशिक्षण

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । सहारा क्लब पोखराको व्यस्थापनमा प्रदेश खेलकुद परिषद् गण्डकीले ‘खेल्छ गण्डकी’ कार्यक्रमअन्तर्गत उक्त यु–१४ फुटबल प्रशिक्षण दिएको छ । दोबिल्लास्थित…
  • गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । गण्डकी प्रदेशमा डायलाइसिस सेवाको लागि पर्खाइमा रहेका व्यक्तिको संख्या शून्यमा झार्ने लक्ष्य पूरा भएको छ । बुधबार गण्डकी…
  • स्वदेश फर्किए कतारी अमिर

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा ।  नेपालको दुई दिने राजकीय भ्रमणमा रहेका कतारका अमिर शेख तमिम बिन हमाद अल थानी स्वदेश फर्किएका छन्। उनलाई…
  • अधिकारी सरकारको मुख्य न्यायाधिवक्ता चिरन्जीवी शर्मा !

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । चैत २५ मा एमालेका खगराज अधिकारीलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले मुख्यमन्त्री नियुक्त गरे । त्यसको पर्सिपल्ट कांग्रेसका सुरेन्द्रराज…

hero news full width