मनाङेको मन्त्रालयलाई अल्पकालीन बजेट

धनबहादुर गुरुङ
वैशाख २४, २०७८
province sports council (1)

गण्डकी प्रदेशका युवा तथा खेलकूदमन्त्री राजीव गुरुङ (दीपक मनाङे) पोखरा रंगशालाभित्र निर्माण गरिने गण्डकी प्रदेश खेलकूद परिषदको प्रशासनिक भवनको बिहीबार शिलान्यास गर्दै । तस्बिर : कृष्ण दवाडी/रासस

पोखरा । गण्डकी प्रदेशमा सत्ताको खेल भइरहँदा यतिखेर चर्चामा छ, युवा तथा खेलकुद मन्त्रालय । मन्त्रालय भन्दा बढि हिट भए मन्त्री राजीव गुरुङ (दीपक मनाङे) । विगतमा गुण्डागर्दी क्रियाकलापमा होस्, स्वतन्त्रबाट चुनाव लडेर गण्डकी प्रदेशसभामा ‘माननीय’ बन्दा होस् वा अहिले मन्त्री बन्दा । उनी निरन्तर चर्चामा छाइरहे । आफूविरुद्ध अविश्वास प्रस्ताव किनारा नलाग्दै मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विगतमा विवादित छविका राजीवलाई मन्त्रीको पगरी दिएपछि सामाजिक सञ्जालमा विभिन्न टीकाटिप्पणि पनि भइनै रहेका छन् ।

मुख्यमन्त्री गुरुङले सामाजिक विकाश मन्त्रालय फुटाएर मनाङ ‘ख’ का स्वतन्त्र सांसद राजीव गुरुङलाई मन्त्री पद थमाएका हुन् । नवनियुक्त मन्त्री गुरुङ खेलाडी र खेल क्षेत्रमा काम गरिरहेकाले पनि उनको रोजाइमा खेलकुद मन्त्रालय नै थियो । मन्त्री नियुक्त भइसकेपछि उनको प्रतिक्रिया नै रोजाइको मन्त्रालय पाए भन्ने थियो । त्यसो त २ महिना अघि गण्डकी खेलकुद परिषद्मा सदस्यसचिव तेज गुरुङ नियुक्त भइसकेका थिए । मनाङे मन्त्री हुनुभन्दा २ दिन अघिमात्र गण्डकी प्रदेश खेलकुद विकास नियमावली २०७८ प्रदेश राजपत्रमा प्रकाशन भएको थियो । तर द्रुत गतिमा काम गर्ने सोंच बनाएका मन्त्री गुरुङको मन्त्रालय कहाँ रहने, संगठन तथा जनशक्ति व्यवस्थापन कस्तो हुन्छ भन्ने टुंगो अहिलेसम्म लाग्न सकेको छैन् ।

बिना तयारी मन्त्रालय फुटाइएकाले संगठन संरचना र कर्मचारी व्यवस्थापनका लागि चुनौती छ

वैशाख १६ गते मन्त्रीको सपथ लिएका मन्त्री गुरुङले आफू ४–५ वटा भिजन लिएर काम गर्ने बताएका थिए । आफू भाषणमा भन्दा पनि काममा विश्वास गर्ने बताउँदै आएका छन् । द्रुतगतिमा काम गर्ने सोंच बनाएका मन्त्री गुरुङलाई तत्कालका लागि सामाजिक विकास मन्त्रालयको भवनमा नै व्यवस्थापन गरिएको छ । मन्त्रालय कहाँ राख्ने, कति कर्मचारी राख्ने काम मुख्यमन्त्रीको कार्यालयबाट भइरहेको सामाजिक विकास मन्त्रालयका सचिव विनोदबहादुर कुँवरले जानकारी दिए । ‘प्रदेशमा नयाँ मन्त्रालय गठन भयो, सबैभन्दा पहिला व्यवस्थापन तथा सर्वेक्षणको काम हुनुपर्छ,’ उनले भने, ‘यस्को काम मुख्यमन्त्रीको कार्यालयबाट भइरहेको छ ।’ व्यवस्थापन तथा सर्वेक्षण सकिएपछि मात्र दरबन्दी र कर्मचारीको टुंगो लाग्ने कुँवरको भनाइ छ ।

नवगठित युवा तथा खेलकुद मन्त्रालयको संगठन तथा जनशक्ति व्यवस्थापनमा सुझबुझ ढंगबाट अगाडि बढ्नुपर्ने खेल क्षेत्रका जानकारहरु बताउँछन् । गण्डकी प्रदेश खेलकुद विकास नियमावली २०७८ प्रदेश राजपत्रमा प्रकाशन भइसकेकाले आवश्यकता अनुसार प्रयोगमा ल्याउन पनि विज्ञहरुले सुझाव दिएका छन् । संगठन तथा जनशक्ति व्यवस्थापन कसरी अगाडि बढ्ने भनेर प्रारम्भिक काम भइरहेको शाखा अधिकृत प्रकाश ओझाले जनाए । ‘यो वर्ष ३ महिना जतिलाई प्रदेश सरकारबाट अल्पकालीन बजेट व्यवस्थापन हुदैछ,’ उनले भने, ‘त्यही रकमबाट गतवर्ष सामाजिक विकास मन्त्रालयबाट भएका कामलाई युवा तथा खेलकुद मन्त्रालयले निरन्तरता दिनेछ ।’
संगठन तथा जनशक्ति व्यवस्थापन गर्दा धेरै पक्षमा ध्यान दिनुपर्ने खेल विज्ञहरुको भनाइ छ । खेल विज्ञान पढेका, खेल क्षेत्रमा काम गरेका दिग्गजहरु हुनुपर्ने साथै अनुसन्धान, डोपिङ टेस्ट, रेफ्रि लाइसेन्स, गलत गर्नेलाई कारवाही गर्ने क्षमता भएका जनशक्ति व्यवस्थापन गर्नुपर्ने उनीहरु बताउँछन् ।

परिषद्को प्रशासनिक भवन शिलन्यास

नव नियुक्त युवा तथा खेलकुद मन्त्री राजीव गुरुङले गण्डकी प्रदेश खेलकूद परिषद्को प्रशासनिक भवन बिहीबार शिलान्यास गरेका छन ् । पोखरा रंगशालामा निर्माण हुने भवनको मन्त्री गुरुङले शिलन्यास गरेका हुन् । मन्त्री गुरुङले गण्डकी प्रदेशका ११ जिल्लामा रहेका पूर्वाधारहरु र सम्पतीका विषयमा आफूले अध्ययन गरिरहेको बताएका छन । गुरुङले खेलाडीहरुका लागि छात्राबास र मार्सल आर्टकोे सुविधासम्पन्न भवन निर्माणको योजना आफूले बनाएको बताएका छन । जिल्ला जिल्लामा रहेका खेलकुदका भौतिक सम्पतीलाई खेलाडी र युवाको उपयोगमा ल्याउने गरी योजना अघि सारिएको बताए । प्रदेश सरकारको ४० लाख लागतमा स्टील संरचनामा सभाहल सहित ११ कोठाको भवन आगामी तीन महिनाभित्रमा निर्माण गरिसकिने प्रदेश खेलकुद परिषद्का सदस्य सचिव तेजबहादुर गुरुङले बताए । खेल क्षेत्र बुझेको खेलकुद मन्त्री पाउनु आफ्नो लागि धेरै फाइदाको विषय रहेको उनको भनाइ छ । ‘प्रदेश सरकारले सामाजिक विकास मन्त्रालयबाट युवा तथा खेलकुद मन्त्रालय छुट्टै भएपछि खेलकुदको मात्र काम गर्न सजिलो हुन्छ,’ उनले भने, ‘उहाँ आफै खेलाडी भएकाले ११ वटै जिल्लाका पूर्वाधार अध्यन र नवौं राष्ट्रिय खेलकुदमा कसरी राम्रो गर्न भनेर छलफलमा जुटिरहेका छौं ।’

मनाङेको सल्लाहकारमा ध्वजकुमार

गण्डकी प्रदेशको युवा तथा खेलकुद मन्त्रीका सल्लाहकारमा ध्वजकुमार गुरुङ नियुक्त भएका छन् । कास्की जिल्ला बास्केटबल संघका अध्यक्ष समेत रहेका गुरुङलाई बिहीबार मन्त्री राजिव गुरुङले आफ्नो सल्लाहकारमा मनोनयन गरेका हुन् । आफ्नो कार्य सहजताका लागि उनलाई सल्लाहकारमा नियुक्त गरेको मन्त्री राजीव गुरुङले बताए । सोसल पब्लिक स्कुलका संस्थापक समेत रहेका स्याङजा वालिङ नगरपालिका १२ सिर्सेकोटका गुरुङ पोखरामा बसोवास गर्दै आइरहेका छन् । नेपाल राष्ट्रिय ह्यान्डबल टोलीमा रहेर खेलेको अनुभव उनीसँग छ । पश्चिमाञ्चलको ह्यान्डबल टोलीले उनको कप्तानीमा पाँचौ राष्ट्रिय खेलकुदमा पश्चिमाञ्चलबाट पुरुषतर्फ स्वर्ण पदकसमेत जितेको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width