कास्की प्रशासनको नजरमा खाद्य पसल, १० हजार जरिवाना

आदर्श समाज सम्वाददाता
वैशाख २३, २०७८
anugaman

पोखरा । कोरोना महामारीको समयमा जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा बिहीबार बजार अनुगमन गरिएको छ ।

कास्की जिल्ला प्रशासनले जिल्लामा पसलहरुको अनुगमनका क्रममा फरक मूल्य र गुणस्तरमा कमी भएको खाद्य भेटेपछि कारबाही गरेको छ । प्रशासनले बिहीबार मूल्य, गुणस्तर र शुद्धता परीक्षण गर्न पोखराका ८ वटा पसलहरुमा अनुगमन गरेको थियो ।

८ वटा पसल निरीक्षण गरिएकोमा १ पसलले तत्काल खाद्य अनज्ञापत्र समेत उपलब्ध गराउन नसकेकोले १० हजार जरिवाना गरिएको सहायक प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र पौडेलले जानकारी गराए । बाँकी स्टोर्स, सप्लायर्स एवं खाद्यान्न पसलहरुलाई अनुगमनका क्रममा देखिएका सामान्य त्रुटिहरुलाई तत्काल सुधार गर्न निर्देशन दिएको उनले बताए ।

जिल्ला प्रशासन कार्यालय कास्कीको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय कास्की, उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय पोखरा, पोखरा महानगरपालिका, गुणस्तर तथा नापतौल कार्यालय पोखरा, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, पोखरा एवं राष्ट्रिय उपभोक्ता मञ्चका प्रतिनिधिहरुको सहभागिता थियो । उपभोक्ताले खाने तेलमा चर्को मूल्य वृद्धि भएको गुनासो गरे पनि कम्पनीबाटै बढेको आएको पाइएको पौडेलको भनाइ छ ।

‘उपभोक्ताले खाने तेलमा मूल्य बढेको गुनासो गरेका थिए,’ उनले भने, ‘हामीले ८ वटैमा तेलको अवस्थाको बारेमा बुझ्यौं, कम्पनीबाटै मूल्य बढेको ट्याग भेट्यौं ।’ महामारीको समयमा कालोबजारी र खाद्य पदार्थको अभावको शंका लागेर अनुगमन गरिएकोमा अहिलेका लागि अभाव नहुने अवस्था रहेको पौडेलले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width