वारागुङ गापाको गाडी अब बिरामी बोक्न प्रयोग गरिने

आदर्श समाज सम्वाददाता
वैशाख २३, २०७८
sarkari gadi ambulance

पोखरा । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले पालिकाबासी बिरामीलाई इमर्जेन्सी सेवा उपलब्ध गराउन गाउँपालिकाको सरकारी गाडी प्रयोग गर्ने निर्णय गरेको छ । वैशाख २० गतेको कार्यपालिका बैठकले निर्णय गरेको गाउँपालिकाका शाखा अधिकृत (सूचना अधिकारी) सुदर्शन पौडेलले जानकारी दिए ।

कोरोना बिरामीको संख्या दिनप्रतिदिन बढ्दै जाँदा स्वास्थ्य केन्द्रसम्म बिरामी पु¥याउन सरकारी गाडी प्रयोग गर्ने निर्णय गरिएको उनको भनाइ छ । ‘गाउँपालिका अध्यक्ष, प्रशासकीय अधिकृत लगायतले प्रयोग गर्ने त्यही एउटामात्रै गाडी हो जुन जनसेवामा प्रयोग गर्ने निर्णय गरिएको छ ।’

गाउँपालिकामा ५ वटा वडा छन्, सबै ४ वटा वडामा स्वास्थ्य चौकी छन् । १ वटामा भने छैन । उनले भने, ‘प्रदेश सरकारसमक्ष स्वास्थ्य चौकी निर्माणका लागि माग गरी पठाएका छौं ।’
गाउँपालिकाका स्वास्थ्य चौकीमा आवश्यक औषधी उपलब्ध भए पनि अक्सिजन सिलिन्डर भने कमी रहेका उनको भनाइ छ । उनी भन्छन्, ‘यहाँ त हाइ अल्टिच्युडका कारण पनि स्वास्थ्यमा समस्या आउने गर्छ, थप अक्सिजन अनिवार्य हुन्छ ।’

गाउँपालिकाका प्रशासकीय अधिकृत ज्ञानेन्द्र शर्मा मुस्ताङमा जिल्ला अस्पतालबाहेक कुनै पनि गाउँपालिकामा एम्बुलेन्स नभएको बताउँछन् । उनले वारागुङमा २/३ वर्ष अघि प्रयोगमा रहेको एम्बुलेन्स बिग्रिएपछि पालिका एम्बुलेन्सविहीन भएको बताए । उनले भने, ‘पछिल्लो कार्यपालिका बैठकले एम्बुलेन्स ल्याउने सम्पूर्ण जिम्मेवारी मलाई दिएको छ, तर कोभिड महामारीबीच तत्काल काम गर्न सकिएन, जोखिमपूर्ण यो समयमा जनतालाई सुविधाबाट बञ्चित गर्नु हुँदैन भन्ने उद्देश्यले गाउँपालिकाको गाडी प्रयोग गर्ने निर्णय गरिएको हो ।’

तस्बिरः सुदर्शन पौडेल

Related News

सम्बन्धित समाचार

hero news full width