कोभिडविरुद्ध जुध्न सकस

सविन लामिछाने
वैशाख २३, २०७८
tanahu bed

दमौली  । तनहुँमा कोरोना संक्रमितको संख्या बढेको छ । जिल्लामा सक्रिय संक्रमितको संख्या एक सय नाघेको छ । बुधबार साँझसम्म सक्रिय संक्रमितको संख्या १ सय २३ पुगेको हो ।

गएको २४ घन्टामा ४४ जना कोरोना संक्रमित फेला परे । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार व्यास नगरपालिका, शुक्लागण्डकी नगरपालिका र भिमाद नगरपालिकामा ४४ संक्रमित फेला परेका हुन् । शुक्लागण्डकीमा ३१, भिमादमा ११ र व्यासमा २ संक्रमित फेला परेका हुन् । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार सबै संक्रमित होम आइसोलेसनमा छन् ।

हालसम्म तनहँुमा संक्रमितको संख्या १ हजार ६ सय ४२ पुगेको छ । तीमध्ये १ हजार ४ सय ९३ संक्रमणमुक्त भएका छन् भने २६ जनाको ज्यान गएको छ ।

गम्भीर प्रकृतिका संक्रमित नभिटेए पनि पूर्वतयारीलाई प्राथमिकतामा राखिएको छ । कसैलाई स्वास्थ्यमा गम्भीर प्रकृतिको समस्या देखिए तत्काल उपचार सेवा प्रदान गर्न जिल्लामै सघन उपचार कक्ष समेत तयार गरिएको जनाइएको छ ।

सदरमुकामस्थित दमौली अस्पतालमा कोरोना संक्रमित लक्षित गरी ४ भेन्टिलेटर सहितको ७ बेडको आइसियु कक्ष तयार गरिएको अस्पतालका प्रमुख डा. सुनिल पौड्यालले बताए ।

जिल्लाका १० वटै पालिका मिलेर आइसोलेसन भवन तयार गरिए पनि आवश्यक उपकरण अभाव छ

स्वास्थ्य मन्त्रालयको २ करोड रुपैयाँ सहयोगबाट अस्पतालमा आइसियु र भेन्टिलेटर व्यवस्थापन गरिए पनि आवश्यक दक्ष जनशक्ति र अक्सिजनको सहज उपलब्धतामा समस्या देखिएको छ । दमौली अस्पतालमा अक्सिजन प्लान्ट निर्माणको प्रक्रिया अगाडि बढाइएको छ ।

गण्डकी प्रदेश सरकारले अक्सिजन प्लान्ट निर्माणका लागि चालू आर्थिक वर्षमा ७५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । त्यसका लागि टेन्डर प्रक्रिया पूरा भई सम्झौता समेत भइसकेकोले जेठभित्र अक्सिजन प्लान्ट निर्माण पूरा भई प्रयोगमा ल्याउने तयारी भएको अस्पताल व्यवस्थापन समिति अध्यक्ष प्रदीपराज अधिकारीले जानकारी दिए ।

यता, संघीय सरकार मातहतको जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र हाताभित्र ५ भेन्टिलेटरसहित ३० बेड क्षमताको आइसोलेसन कक्ष तयार गरिएको छ । जिल्लाका १० वटै पालिकाको लागत सहभागितामा आइसोलेसन भवन तयार गरिए पनि उपकरण अभाव रहेको केन्द्रका निर्देशक डा. रामकुमार श्रेष्ठले बताए ।

गत वर्ष भाइरस संक्रमण समुदायस्तरमै फैलिएपछि व्यवस्थापनमा समस्या उत्पन्न भएको थियो । संक्रमितमा स्वास्थ्य समस्या नदेखिएपछि जिल्लाका अधिकांश संक्रमित होम आइसोलेसनमै बसेका थिए । सहजै निको हुन थालेपछि पालिकाले तयार गरेको आइसोलेसन भवन प्रयोगमा ल्याउन कुनै चासो नदेखाउँदा हाल केन्द्रमा दक्ष जनशक्ति भए पनि उपकरण अभावले उपचार सेवा प्रदान गर्न समस्या देखिएको हो । जिल्लाका १० पालिकाको लागत सहभागितामा निर्माण गरिएको आइसोलेसन भवनमा अक्सिजनसहित ३० वेड तयार गरिएको छ । ५ बेडको आकस्मिक कक्ष तयार गरिएको छ । अस्पतालमा आवश्यक दक्ष जनशक्ति भए पनि भेन्टिलेटरसहितको आइसियु कक्ष सञ्चालनलाई आवश्यक उपकरण नहुँदा चुनौती खडा भएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width