‘३ महिना पुग्ने खाद्यान्न स्टक छ नआत्तिऔं’

धनबहादुर गुरुङ
वैशाख २३, २०७८

पोखरा । कोरोनाको दोस्रो भेरियन्ट चेन ब्रेक गर्न कास्की प्रशासनले वैशाख १५ देखि निषेधाज्ञा जारी गर्‍यो । १५ देखि २१ सम्म जारी निषेधाज्ञा केही खुकुलो थियो । मानिसको आवतजावत चलेकै थियो । जोरबिजोर प्रणालीमा गाडी हुइँकिएकै थिए । बजार, पसल, सुपरमार्केटमा किनमेलमा कुनै समस्या थिएन । वैशाख १९ मा फेरि अर्को आयो । केही खुकुलो निषेधाज्ञा सर्वसाधारणले अटेर गरेको भन्दै प्रशासन कडा रुपमा प्रस्तुत हुने निर्णय गरेको थियो । तर नागरिकले उल्टो बुझे–बजारमा अब खाद्यान्न पाइन्न कि ?

आदेशमा प्रष्ट रुपमा दैनिक उपभोग्य खाद्यान्न, तरकारी, फलफूल, दुध दही माछा मासु बिहान ५ देखि ९ बजेसम्म बिक्री गर्न पाइने भनिए पनि उपभोक्ताको एक्कासी भीड देखियो । खाद्यान्न अभाव हुने डरले बढी मौज्दात थुप्राउन किनमेल गरेको पाइन्थ्यो ।

गण्डकी उपभोक्ता हित संरक्षण मञ्च गण्डकी प्रदेशले भने पोखरामा खाद्यान्न अभाव नहुने स्पष्ट पारेको छ । प्रदेशमा ३ महिनासम्म पुग्ने खाद्यान्न मौज्दात रहेकाले आमउपभोक्ताले घरमा भण्डारण गर्नुपर्ने आवश्यकता नरहेको मञ्च अध्यक्ष कपिलनाथ कोइरालाले बताए । ‘पोखरामा रहेका खाद्यान्न स्टोर्समा अवलोकन गरिसकेका छौं, अरु प्रदेशबाट पनि निरन्तर भित्रिरहेको छ,’ उनले भने, ‘सबैभन्दा बढी खपत हुने क्षेत्र होटल रेष्टुरेन्ट हो, सबै बन्द भएपछि आत्तिनुपर्ने छैन ।’

गत वर्ष ३ महिना बढी लकडाउनमा कुनै पनि मूल्यवृद्धि नभएको र अभाव पनि नभएको उनले बताए । ‘यो पटकको निषेधाज्ञा नलम्बियोस् भन्ने हाम्रो चाहना हो,’ कोइरालाले भने, ‘यदि निषेधाज्ञा लम्बिए पनि खाद्यान्न अभाव र कालोबजारी हुने दिने छैनौं ।’

निषेधाज्ञा लम्बिए पनि खाद्यान्न अभाव र कालोबजारी हुने दिने छैनौं

यसैगरी, तरकारीमा कुनै समस्या नहुने उनको दाबी छ । ‘तरकारी पनि सबैभन्दा बढी खपत हुने भनेकै होटल तथा रेष्टुरेन्टमा हो । स्थानीयले कौसीमा फलाएर पनि काम चलाएका छन्,’ उनले भने । बढी खपत हुने क्षेत्र बन्द भएका कारण हेमजा, मालेपाटन लगायत ग्रामीण क्षेत्रको उत्पादनले पोखराको माग थेग्छ । उत्पादन खेर जाने तर अभाव नहुने कोइरालाले बताए । खाना पकाउने एलपि ग्यास पनि उपभोक्ताले स्टक राख्दा गुनासो आएको थियो । तर ग्यासमा पनि कुनै समस्या नरहेको उनले बताए । पोखरामा उत्पादन हुने शक्ति र गृहलक्ष्मीले निरन्तर आपूर्ति गरिरहेको र बाहिरबाट आउने सिलिन्डर पनि कुनै अवरोध बिना आइरहेको कारण अभाव हुने छैन ।

पोखरामा हाल करिब १९ कम्पनीले ग्यास बिक्री वितरण गर्दै आएका छन् । तीमध्ये शक्ति ग्यास र गृहलक्ष्मी ग्यास मात्र पोखरामै उत्पादित छन् । अरु सबै बाहिरी जिल्लाबाट आउँछन् ।

नेपाल एपिजी ग्यास एसोसिएसन सचिव एवं गृहलक्ष्मी ग्यास उद्योग कम्पनीका अध्यक्ष धर्मराज बर्तौलाले हल्ला फिजिएजस्तो पोखरामा ग्यास अभाव नभएको दाबी गर्छन् । उनले भने, ‘हामीहरु आवश्यकता अनुसार आपूर्ति गर्न सक्छौं ।

दैनिक २२ सय देखि ३ हजारसम्म सिलिन्डर बजार जान्छ । अहिले अल्लि बेसी गएको हो । मानिसले अनावश्यक खाली सिलिन्डर पनि भरेर राख्दा कृत्रिम समस्या उब्जेको हुन सक्छ ।’ उनी कसैले पनि अत्तालिएर ग्यास थुप्राउने काम नगर्न सुझाव दिन्छन् ।

निषेधाज्ञामा बैंकिङ क्षेत्रमा पनि भीड छ । यतिबेला आर्थिक अभाव हुने चिन्ता उपभोक्तामा छ । बैंकहरुमा कारोबार बन्द नहुने सूचना जारी गर्दासमेत सेवाग्राहीको बैंकमा भिड देखिन्छ । तर बैंकहरुले संक्रमणको समयमा डिजिटल माध्यमबाट कारोबार गर्न सुझाव दिन्छन् । पछिल्लो समय ७० प्रतिशतले डिजिटल माध्यम प्रयोग गरे पनि केही बैंकमा धाउने गरेको एनआइसी एसिया बैंकका प्रदेश प्रमुख दीपेन्द्र शर्माले बताए । बैंकमा प्रत्यक्ष उपस्थित भएर कारोबार गर्नेहरुका लागि सीमित कर्मचारीद्वारा केही शाखा सञ्चालन गरिएको शर्माको भनाइ छ । एनआइसीको कास्कीमा ११ शाखा सञ्चालनमा छन् । एनएमबि बैंकका शाखा प्रबन्धक सुदीप पौडेल पनि इन्टरनेट बैंकिङमा जान सुझाव दिन्छन् । इन्टरनेट बैंकिङ नजान्नेहरुका लागि सीमित शाखा बिहान १० देखि २ बजेसम्म खुलाइएको पौडेलले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width