गण्डकीका मुख्यमन्त्री बिरामी, आरडिटी पोजेटिभ, पिसिआर रिपोर्ट आउन बाँकी

आदर्श समाज सम्वाददाता
वैशाख २२, २०७८
Gandaki cm ps gurung (3)

पोखरा ।  गण्डकी, लुम्बिनीसहित केन्द्रमा राजनीतिक सरगर्मी बढेकै बेला गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ बिरामी परेका छन् ।

मंगलबार टाउको दुखेर सामान्य ज्वरोको महसुस गरेपछि तत्कालै उनको आरडिटी परीक्षण गरिएको थियो । आरडिटीमा नतिजा पोजेटिभ देखिएको छ ।

अहिलेको आरडिटीको विश्वसनीयता बढ्दै गएको र ९० प्रतिशत नतिजा सही देखाउने स्वास्थ्य प्राविधिकहरुले बताएका छन् ।

उनको मंगलबार नै पिसिआर परीक्षण गरिएको छ । नतिजा आज आउने छ ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको सचिवालयका केही कर्मचारीमा कोरोना पुष्टि भइसकेको छ । प्रेस संयोेजक विक्रम न्योपाने ३ दिनदेखि होम आइसोलेसनमा छन् ।

१३ गते गण्डकीको हिउँदे अधिवेशन सुरु भएकामा एमाले सांसदहरुले पिसिआर नगरी बैठक नचलाउन आग्रह गरेका थिए । त्यतिबेला गरिएको पिसिआरमा राजिव पहारीसहित ३ सांसदमा कोरोना पुष्टि भएको थियो ।

एक सांसदलाई त पहिला नै कोरोना पुष्टि भए पनि संसद र अन्य बैठक र भेटघाटहरुमा सहभागी भएको बताइएको छ ।

मंगलबार सभामुख नेत्रनाथ अधिकारीले डाकेको सर्वदलीय बैठकमा सहभागी मुख्यमन्त्री गुरुङले अहिले कोरोनाको खतरा भएको, प्रशासनले निषेधाज्ञा लगाएको जस्ता कारणले अहिले विशेष अधिवेशनको बैठक नराख्न सुझाएका थिए ।

मुख्यमन्त्री बिरामी परेसँगै प्रदेश सभामा विचाराधीन अविश्वासको प्रस्तावको भविष्य के हुने अन्योल बढेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width