छटपटीमा बिरामी, स्टोरमै थन्किएका छन् भेन्टिलेटर

आदर्श समाज सम्वाददाता
वैशाख २१, २०७८
Ventilator

स्याङ्जा । कोरोना संक्रमण बढिरहेका बेला धेरै अस्पतालमा भेन्टिलेटरको अभाव खड्किएको छ । तर, उपलब्ध ४ वटा भेन्टिलेटर भने स्टोर कक्षमै थन्क्याउन बाध्य भएको स्याङ्जा जिल्ला अस्पतालले जनाएको छ ।

दक्ष जनशक्ति अभावमा भेन्टिलेटर उपयोगमा ल्याउन नसकेपछि स्टोरमै राख्नु परेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रमेश आचार्यले बताए । उनले भने, ‘भेन्टिलेटर चलाउन एनेस्थियोलोजिस्ट र तालिमप्राप्त नर्स चाहिन्छन् । उनीहरुको अभावमा भेन्टिलेटर चलाउन सकिएको छैन ।’

बिरामीको अवस्था जटिल बनेपछि कृत्रिम श्वास दिनका लागि प्रयोग गरिने मेसिन (भेन्टिलेटर) चलाउने चिकित्सक एवं प्राविधिक नभएको उनको भनाइ छ ।

जिल्ला संकट व्यवस्थापन समितिले अस्पतालमा १० शड्ढयाको आइसोलेसन बनाउने निर्णय गरेको छ । अघिल्लो वर्ष पनि जिल्ला अस्पतालमा आइसोलेसन कक्षा बनाइएको थियो ।

स्याङ्जामा कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढिरहेको छ । मंगलबारसम्म संक्रमितको संख्या २ सय १६ नाघेको छ । संक्रमितमध्ये १ सय ८६ जना होम आइसोलेसनमा छन् । २५ जना विभिन्न स्वास्थ्य संस्था र ५ जना क्वारेन्टिनमा उपचाररत छन् ।

जिल्लामा उपलब्ध १० अस्पतालमा २ सय १० बेड क्षमता भए पनि अहिलेसम्म कुनै पनि अस्पतालमा आइसीयु र भेन्टिलेटरसहितको सुविधा नरहेको स्वास्थ्य कार्यालय स्याङ्जाका प्रमुख विष्णुप्रसाद सुवेदीले जानकारी दिए । उनकाअनुसार वैशाख १ यता ३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width