जनमोर्चाका सांसद खीमविक्रम शाही अस्पताल छाडेर होटेलमा

आदर्श समाज सम्वाददाता
वैशाख २१, २०७८
khim-bikram-shahi

सांसद खिमविक्रम शाही । फाइल फाेटाे

पोखरा । गण्डकी प्रदेश सभामा पेस भएको मुख्यममन्त्रीविरुद्धको अविश्वास प्रस्तावमा मतदान हुने दिन वैशाख १५ गते हराएका जनमोर्चाका सांसद खीमविक्रम शाही अहिले अस्पताल छाडेर होटेलमा बसेका छन् ।

कोभिड १९ संक्रिमत भएको भन्दै १५ गते नै चरक मेमोरियल हस्पिटलको आइसियुमा उनी भर्ना भएका थिए । उनलाई आइतबार साँझ नै अस्पतालबाट निकालेर फेवासिटी हस्पिटल नजिकैको एक सामान्य होटेलमा राखिएको छ । उनले आफू बिरामी नै परेको र कोही कसैको मोलाहिजामा नफसेको बताउँदै आएका छन् । तर उनका गतिविधिले भने शंका गर्ने ठाउँ राखिदिएको छ ।

होटेलमा बसेका उनले अहिले सामान्य खाना खानुका साथै अवस्था पनि सामान्य नै रहेको उनलाई भेटेका एक सांसदले बताए । उनले भने,‘बाहिर मिडियामा के के आएको छ रे भन्दै चिन्ता जनाउनुभएको थियो, उहाँको अवस्था सामान्य नै रहेछ ।’

सांसद शाहीको १५ गते आएका ३ वटा पिसिआर रिपोर्टमा अलग अलग नतिजा आएको छ । १४ गते प्रदेश सभा सचिवालय परिसरमा लिएको स्वाबको नतिजा नेगेटिभ आए पनि १४ गते नै लिइएको भनिएको अर्को स्वाब परीक्षणमा भने कोरोना पोजेटिभ देखिएको थियो । उनको भनिएको दोस्रो स्वाब लाइफकेयरमा परीक्षण गर्दा सिटी भ्यालु १६ उल्लेख थियो । तर सोही दिन परीक्षण गरिएको अर्को स्वाबमा कोरोना पोजेटिभ नै भए पनि सिटी भ्यालु ३९ छ ।

उनै सांसद ‘हराएपछि’ स्थगित भएको गण्डकी प्रदेश सभाको विशेष अधिवेशको बैठक अझै अनिश्चित बनेको छ । बैठक सदन चलाउन सभामुख नेत्रनाथ अधिकारीले हिजो डाकेको बैठक निश्कर्षविहीन भएको छ ।

सर्बदलीय बैठक बसेर निकास खोज्ने भनिए पनि बैठक कहिले र कहाँ बस्ने अझै टुंगो लागेको छैन ।

जनमोर्चाकै सांसद हराएको सूचनाका आधारमा सभामुखले १५ गते बैठक स्थगित गरेका थिए । आफ्ना सांसद बिरामी भएर उपचार गराइरहेको जानकारी जनमोर्चाले सभामुखलाई औपचारिक रुपमा गराइसकेको छ ।

वैशाख २ गते कांग्रेससहित ३ दलले दर्ता गराएको अविश्वास प्रस्तावमाथि वैशाख १५ गते मतदान हुने कार्यसूची थियो । अविश्वास प्रस्ताव पारित गर्न ३१ मत चाहिनेमा जनमोर्चाका खीमविक्रम शाही र स्वतन्त्र सांसद अनुपस्थित भएका कारण कारवाही अगाडि बढाउन सभामुखले रोकेका हुन् ।

६० सदस्यीय गण्डकी प्रदेश सभामा एमालेका २७ सांसद छन् । एमालेलाई १ स्वतन्त्र सांसदको साथ छ । धरमरमा रहेका स्वतन्त्र सांसद राजीव गुरुङ(दीपक मनाङे) लाई मन्त्री बनाएर थप एक भोट सुरक्षित गरेका छन् ।

संसदमा कांग्रेसका १५, माओवादीका १२, जनमोर्चाका ३ र जसपाका २ सांसद छन् । अविश्वास प्रस्तावमा जनमोर्चाको मौखिक समर्थन र २८ सांसदको हस्ताक्षर छ ।

Related News

सम्बन्धित समाचार

hero news full width