अमिक शेरचनले भने :अधिकारविहीन जेलबाट मुक्त गरीदिनुभएको धन्यवाद्

आदर्श समाज सम्वाददाता
वैशाख २१, २०७८
Amik Sherchan

पोखरा । सोमबारमात्रै पदमुक्त भएका गण्डकीका प्रदेश प्रमुख अमिक शेरचनले पदमुक्त भएकाका आफू अत्यन्तै खुसी भएको बताएका छन् ।
मंगलबार बिहान आफ्नै निवासका पत्रकार सम्मेलन गरेर उनले यो अभिव्यक्ति दिएका हुन् ।

विज्ञप्तिको पूर्ण पाठ

आदरणीय पत्रकार साथीहरु

प्रदेश प्रमुखको पद ग्रहण गरेको आज १८ महिना २ दिन पुगेछ । यस बीचमा मलाई साथी सम्झेर माया गर्ने सबैप्रति आभार प्रकट गर्दछु । कार्यालयका कर्मचारी, सुरक्षामा कार्यरत सबै जवान र सचिवालयका सबै साथीहरुबाट सहयोग र सम्मान पायौँ । यहाहरुप्रति आभार व्यक्त गर्दछौँ ।

पदमुक्त भएकोमा अत्यन्तै खुशी छु । मुरी मुरी धन्यबाद छ राष्ट्रपतिज्यूलाई पहिला ओली जी र पुन प्रचण्डजी मार्फत् ओली जीको प्रस्ताव मैले अस्वीकार गरेको पद थियो । पछि पार्टीको निर्णय सुनाएपछि अनुशाशित कार्यकर्ताको नाताले बाध्य भई स्वीकारेको पद हो यो । अधिकारविहीन खुला जेलबाट मुक्त गरिदिनुभएको मा पनि धन्यवाद् ।

म पदका लागि राजनीति गरेको व्यक्ति होइन । पूर्व राष्ट्रपति डा. रामवरण यादवको कार्यकाल समाप्ति पछि राष्ट्रपतिका लागि मलाई प्रस्ताव आयो । मैले अस्विकार गरें । त्यस्तै ज्ञानेन्द्रकालमा
प्रधानमन्त्रीको प्रस्ताव आउँदा पनि ठाडै इन्कार गरेको व्यक्ति हुँ । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक कमरेड पुष्पलाल, क.यज्ञदेव आले, क.निर्मल आले र क.मोहनविक्रम सिंहजस्ता र्शीषस्थ नेताहरुको निकटमा रहेर सक्रिय राजनीतिक संर्घषमा आफ्नो जीवन समर्पित गरे । पदका लागि कुनै प्रकारको बार्गेनिङ गरिन ।

सन्त नेता क.मनमोहन अधीकारीको निधनपछि एमाले पार्टीको अध्यक्ष पदमा आउन प्रस्ताव गर्दा पनी मैले स्वीकार गरिनँ । पद र सत्ताका लागि असम्बैधानिक पद्वति र अपाच्य दृष्यहरु थोर्पाने पद जोगाउने व्यक्ति म होइन । नत पदकै लागि वैचारिक आस्था बम्बैको कोठीमा बिक्री गर्ने व्यक्ति हुँ । म माक्सवाद, लेनिनवाद र माओ विचारधारामा अटल विश्वास राख्ने एक निष्ठावान पहरेदार नागरिक हुँ । श्रमजीवी सर्वहरा वर्गकोे इमान्दार साथी हुँ र वर्ग सघर्षमा जीवन समर्पित गर्ने योद्वा कार्यकर्ता पनि हुँ ।

राष्ट्रिय अखण्डता र राष्ट्रिय स्वाभिमानमाथि बारम्बार हस्तक्षेप र अतिक्रमण गर्ने भारतीय विस्तारवाद र साम्राज्यवादविरुद्वका संघर्षहरु पञचायत कालदेखि गणतन्त्रकालसम्म राष्ट्रघाती र असमान सन्धी सम्झौता विरुद्धको संघर्षहरुमा मैले कुनै प्रकारका षढ्यन्त्र र गद्धारी गरेको छैन । नत अर्बौं कमिसन र भ्रष्टचारमा डुबेको छु । बरु म मन्त्री हुँदा घुस खुवाउन खोज्ने डिजीलाई पदबाट वर्खास्त गरेको जिउँदो उदाहरण छ मसँग । भ्रष्टाचार र कमिसनहरुको खेलमा दंगदंगी बनाउने आरोप लाग्दा पनि भ्रष्टाचार शून्यमा झार्छु भन्ने ढोंगी व्यक्ति पनि होइन म बरु वैदेशिक हस्तक्षेप सन्धी सम्झौता र भ्रष्टाचार विरुद्धका संघर्षहरुमा ४ वर्षजति जेलयाताना र हजारौं पटक गिरफ्तार र हिरासतमा थुनिएको व्यक्ति हुँ । संघर्षको दौरानमा तत्कालीन सरकारको तानाशाही दमनबाट मेरो खुट्टा, हात, करङ र ढाड फुटेको छ भने गर्धन दुई टुक्रा हुँदा र पटक पटक कैयौं दिनसम्म बेहोस हुँदा पनि वैचारिक आस्थामा विचलन नभएको व्यक्ति हुँ । स्मरण रहोस कमरेड मदन भण्डारीको सुनियोजित हत्याकोविरुद्ध संयुक्त आन्दोलन गर्दा प्रहरी दमनबाट मेरो गदन २ टुक्रा भयो भने सत्र दिनपछि होसमा आएको थिएँ ।

आज देश कोभिडबाट आतंकित र अक्रान्त बनेको छ । दैनिक मृत्युदर बढिरहेको छ, यस्तो अवस्थामा सम्पूर्ण राजनीतिक दलहरुको साझा सहमति र सहकार्यमा देशव्यापी सचेतना अभियान चलाई जनताको जिउ धनको रक्षा गर्नुपर्ने अहम बेलामा पार्टी पार्टी बीचको फुट, पद र सत्तालिप्साको खेलमा देशलाई चुर्लुम्म डुबाइएको छ ।
एकपटक सबैले निधार खुम्चाएर सोचौं, दैनिक सयौंको खुन बगिरहेको अवस्थाबाट घोर निरंकुश प्रतिगमनका विरुद्धका संघर्षमा तात्कालीन आन्दोलनकारी पार्टीहरुको बीचको सहकार्य र समझदारीबाटै सामन्तवादी सत्ताको अन्त्य र गणतन्त्र स्थापना गर्न सफल हुन सकेको हो ।

यस पदमा आएपछि मैले संवैधानिक मर्यादालाई पूर्ण पालना गरेको थिए । कुनै पनि पार्टी विशेषको प्रभाव र छायामा काम गरिनँ । सरकारले जे प्रस्ताव ल्यायो त्यसलाई संवैधानिक नियम अनुसार निर्णय गर्ने गरेर माननीय सांसदहरुबाट जे जे प्रस्ताव आए त्यसलाई पनि संवैधानिक नियम बमोजिम नै निर्णयार्थ सम्पादन गरेको थिए । यसबाट कसैको लागि अप्रिय भएको भए त्यो संविधान हेरेर चित्त बुझाउन अनुरोध गर्दछु ।
अन्तमा लोकतन्त्र संघीयता धरापमा नपरोस् यसका लागि पक्षधरताहरु बीचको सहकार्य र एकतामा अघि बढौँ मेरो हार्दिक अपील छ ।

अमिक शेरचन

Related News

सम्बन्धित समाचार

hero news full width