सर्वसाधारणलाई मास्क वितरण

आदर्श समाज सम्वाददाता
वैशाख २१, २०७८
Bhir kot

स्याङ्जा । भीरकोटका व्यवसायीले सर्वसाधारणलाई मास्क उपलब्ध गराएका छन् । कोरोना संक्रमण न्यूनीकरणका लागि अनिवार्य मास्कको प्रयोग गरौं नारासहित उनीहरुले मास्क वितरण गरेका हुन् ।

कोरोना संक्रमणको दर ह्वात्तै बढ्दा पनि मास्कसम्म नलगाई यत्रतत्र हिड्ने वा सामान खरिद बिक्रीका लागि बजार आउनेलाई व्यापारीले मास्क उपलब्ध गराएका हुन् ।

स्थानीय पालिका र सरकारले तोकेका स्वास्थ्य मापदण्ड अपनाउन सुझाव दिँदै भीरकोट नगरपालिका १ बयरघारीबजारस्थित राधाकृष्ण टोल ९९ चोकका व्यापारीहरुले निशुल्क मास्क वितरण गरेका हुन् ।

अभियान सुरु गर्दै नगरप्रमुख छायाराम खनालले चोकबाट सुरु गरिएको अभियान अन्य बजार क्षेत्रमा पनि बिस्तार गर्न सुझाव दिए । उनले भने, ‘संक्रमण दिनानुदिन बढ्दो छ । स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउन जरुरी छ ।’

खनालले सामान्य समेत लक्षण देखिएमा तत्काल परीक्षण गर्न समेत सुझाव दिए । व्यापारीले पैदल यात्री, सवारी साधनमा सवार यात्रु तथा चालक तथा सामान खरिद बिक्रीका लागि आउने सबैलाई मास्क बाँडेका छन् ।

मास्क र सेनिटाइजरको प्रयोगले संक्रमण नियन्त्रणमा धेरै सहयोग पुग्ने भएकाले सचेतना दिनकै लागि यो अभियान सुरु गरिएकोे राधाकृष्ण टोल विकास समितिका अध्यक्ष ढाकाराम खनालले जानकारी दिए ।

अभियानमा उद्योग वाणिज्य संघ, नगरपालिकाका कर्मचारी, सुरक्षाकर्मी लगायतको सहभागिता थियो । स्याङ्जामा पछिल्लो समय कोरोना संक्रमितको संख्या बढ्दो छ । हालसम्म १ सय ९१ जनामा कोरोना संक्रमित रहेको स्वास्थ्य कार्यालय स्याङ्जाले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width