सराङ्कोटमा शिव मन्दिर

श्रीभद्र पौडेल
वैशाख २१, २०७८
shiva mandir sarangkot

हेमजा । सराङ्कोट बजारका कृष्ण तिमिल्सिनाले स्थानीय शिव मन्दिरमा धूपबत्ती गर्न थालेको पनि करिब १०/१२ वर्ष भयो ।

सुरुका १/२ वर्ष खुला स्थानका शिला भगवान् मानेर पुजेका उनले केही वर्षको अन्तरालमा गाउँलेले ढुंगाको गारो लगाएर मन्दिर निर्माण गरेपछि पनि पूजा गरे । तर छानो गतिलो भएन । पानी पर्दा सबै चुहिने । कतिपय अवस्थामा भलबाढी पनि पस्थ्यो ।

सामान्य पूजाविधि जानेका उनलाई स्थायी संरचनाको मन्दिर निर्माण गर्न पाए हुन्थ्यो भन्ने महसुस भयो । जसअनुसार सराङ्कोट धार्मिक एवं पर्यटन क्षेत्र विकास समिति अध्यक्ष प्रेमबहादुर जिसीको टोलीसमक्ष कुरा राखे । जिसीले सबै कुरा मिलाएर यज्ञ गर्ने बताए । सबैसँग हात फैलायो भने कसो मन्दिर निर्माण गर्न नसकिएला भन्ने जिसीलाई लाग्यो ।

त्यसपछि कुन माध्यमबाट पैसा जुटाउन सकिएला भन्ने उनमा जिज्ञासा भयो । उनले सबैमाझ बैठक बसाली यो कुरा राखे । फलस्वरुप गाउँले मन्दिरमा स्थायी संरचना विकासका लागि महायज्ञ लगाउने निर्माण गरे ।

फलस्वरुप २०७५ माघ २१ बाट सप्ताहव्यापी यज्ञ गरियो । जसमार्फत करिब ४ करोड रकम जुट्यो । जुन मन्दिर निर्माण आधार स्तम्भ बन्न पुग्यो । मन्दिर निर्माणमा करिब ८० प्रतिशत रकम तिनै दानवीरको छ । त्यस्तै कतिपय अवस्थामा सहयोग उठाउँदै काम पनि गरिएको छ ।

पछिल्लो यज्ञ सम्पन्नसँगै २०७६ फागुनबाट शिव मन्दिर निर्माण फटाफट सुरु भयो । सोमवारसम्म मन्दिर निर्माण काम करिब ८० प्रतिशत सकिएको छ । तीव्र गतिमा निर्माण भएको देख्दा पण्डित तिमिल्सिना यतिबेला फुरुंग छन् । उनमा निर्माणाधीन मन्दिरको मुख्य पण्डित हुन नसके पनि सहायक पण्डितसम्म त हुन्छु भन्ने आत्मविश्वास समेत पलाएको छ ।

सराङ्कोटलाई पर्यटकीय क्षेत्र अलावा धार्मिक अस्थाको केन्द्रका रुपमा देश विदेशमा चिनाउने मुख्य उद्देश्य साथ भक्तपुरको कृष्ण मन्दिर शैलीमा निर्माण भइरहेको छ । जसका लागि प्रयोग हुने सम्पूर्ण सामग्री र जनशक्ति पनि भक्तपुरबाटै ल्याइएको छ । निर्माणमा हालसम्म ६ करोड बढी खर्च पनि भइसकेको छ ।

विभिन्न समयमा महायज्ञ गरी उठेको रकमबाट निर्माण कार्य जारी राखिएको सराङ्कोट धार्मिक एवं पर्यटन क्षेत्र विकास समिति कोषाध्यक्ष शिवप्रसाद तिमिल्सिनाले जानकारी दिए । यतिबेला हवन कुण्ड तथा बाल निर्माण, तामाको पाताबाट छाना मोड्ने (३ करोड लागत) र १ सय ८ शिवलिंग स्थापना तयारी पनि भइरहेको छ । मन्दिर यसै वर्ष शिवरात्रिसम्म सम्पन्न गरी उद्घाटन तयारी गरिएको छ ।

यसअघि प्रवेशद्वार निर्माण, सामुदायिक भवन, रेलिङ राख्ने लगायत काम भइसकेका छन् । साथै म्युजियम अवधारणलाई पनि अगाडि बढाइएको छ । सराङ्कोट टावरस्थित भूमे कालिका मन्दिर र भैरव मन्दिरको सामान्य स्तरोन्नति सोच पनि राखिएको छ ।

महाशिवरात्रि, तीज, बालाचर्तुदशी लगायत चाडमा यस मन्दिरमा विशेष पूजाआजा हुँदै आएको छ । जसमा ५ वटा भगवान् शिवको परिवारको दिव्य मूर्ति राख्ने तयारी अन्तिम चरणमा छ । मन्दिरको पूर्व उत्तरतर्फ एक सय ८ शिवलिंग तथा पूर्व दक्षिणतर्फ छुट्टै हवनगृह निर्माण भइरहेको छ ।

आउँदो शिवरात्रिमा सम्मानित व्यक्तित्वबाट मन्दिर उद्घाटन गर्ने तयारी समितिको छ । २०६१ सालमा यज्ञ लगाई मन्दिरको स्तरोन्नतिका लागि तदर्थ समिति गठन भएको करिब १७ वर्षपछि मात्रै योजनाले सार्थकता पाउन लागेको हो । मन्दिर निर्माणमा पोखरा महानगरपालिकाबाट हालसम्म करिब २ करोड सहयोग प्राप्त भएको जनाइएको छ ।

मन्दिर पुनर्निर्माणकै लागि फरक फरक स्थान (पोखराको बगर, बास्तोलाथर र काठमाडौंमा समेत) मा गरी हालसम्म ५ महायज्ञ भइसकेका छन् । मन्दिर पुनर्निर्माणमा संस्थापक अध्यक्ष लोकबहादुर थापाको महत्वपूर्ण भूमिका रहेको अध्यक्ष जिसी स्मरण गर्दछन् ।

Related News

सम्बन्धित समाचार

hero news full width