गण्डकी प्रज्ञा प्रतिष्ठानका पदाधिकारीले लिए सपथ

आदर्श समाज सम्वाददाता
वैशाख २१, २०७८
gandaki academy (2)

पोखरा । गण्डकी प्रज्ञा प्रतिष्ठान कुलपतिसहित प्राज्ञ सभा सदस्यले सोमबार सपथ लिएका छन् । कुलपति सूर्य खड्का बिखर्चीले मुख्यमन्त्री एवं प्रतिष्ठानका संरक्षक पृथ्वीसुब्बा गुरुङले सपथ खुवाए । लगत्तै कुलपति बिखर्चीले उपकुलपति गोरेबहादुर गुरुङ, सदस्यसचिव मनकुमार श्रेष्ठसहित प्राज्ञ सभा सदस्यलाई सपथ खुवाए । प्राज्ञ सभामा लोकसाहित्यबाट सुरेन्द्र गुरुङ, भाषा अनुसन्धानबाट कृष्णप्रसाद पौडेल, संस्कृतिबाट दिलकुमारी पौडेल र साहित्यविधाबाट देवकी आचार्य नियुक्त भएका छन् । देवकी सपथमा उपस्थित थिइनन् ।

कार्यक्रममा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गण्डकीमा सभ्य समाज निर्माण गर्न प्रतिष्ठानले महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरे । राजाका पालामा खुलेको प्रज्ञा प्रतिष्ठानजस्तो भजनमण्डली नभई रचनात्मक भूमिका निर्वाह गर्न उनले आग्रहसमेत गरे । नियमावली निर्माणदेखि कार्यालय व्यवस्थानसम्मको काम गर्नुपर्ने भएकाले सुरुआत अलि चुनौतीपूर्ण नै रहेको उनको भनाइ थियो ।

प्रतिष्ठान संरक्षक एवं सामाजिक विकास मन्त्री ठूलो मेहनतपछि प्रतिष्ठान गठन गर्न सफल भएको भन्दै त्यसै अनुसार काम गरेर देखाउन आग्रह गरिन् । थुप्रै दरखास्तमध्येबाट २४ जनाको नाम छनोट गर्न निकै कठीन भएको भन्दै उनले अहिले सूचीमा नपरेका साथीहरु पनि निराश नहुन आग्रह गरिन् ।

नवनियुक्त कुलपति बिखर्चीले प्रदेशको वाङ्मयिक विकास गरी पोखरालाई साहित्यिक राजधानी बनाउने प्रतिबद्धता जनाए । पोखरामा एउटा सिर्जना ग्राम स्थापना गर्ने, साहित्कार र श्रष्टा जीवित छँदै सम्मान गर्ने परिपाटी बसाल्ने उनको भनाइ थियो । मूलत भाषा साहित्य, कला, संस्कृति तथा ज्ञानविज्ञानको उत्थानका निम्ति खोलिएको प्रतिष्ठानले नेपाली वाङ्मयको विकास र सामाजिक चेतना जागरण गर्ने काममा अमूल्य सेवा प्रदान गर्ने उनले विश्वास व्यक्त गरे । उनले भने, ‘अब साहित्यले केबल मनोरञ्जन र आनन्दमात्र प्रदान गर्ने होइन, देश विकास र जनताको हितका लागि सकारात्मक भावना प्रस्तुत गर्नुपर्छ ।’

गण्डकी प्रदेशका भाषा, साहित्य, लोकसाहित्य, संस्कृति, ललितकला, नाट्यकला, संगीतको अध्ययन अनुसन्धान गरी संरक्षण एवं संवद्र्धनका लागि गठन गरिएको प्रतिष्ठानमा नियुक्ति पाउन दरखास्त आह्वान गरिएको थियो ।

दरखास्तकै आधारमा सिफारिस समितिले मुख्यमन्त्रीकहाँ नाम पठाएको थियो । तिनै नाममध्येबाट बिखर्चीलाई कुलपतिमा नियुक्त गरिएको हो । उपकुलपतिमा गोरे गुरुङ र सदस्य सचिवमा मनकुमार श्रेष्ठले नियुक्ति पाएका छन् ।
सामाजिक विकासमन्त्री संयोजक रहेको सिफारिस समितिमा प्रदेश नीति तथा योजना आयोग उपाध्यक्ष र गण्डकी विश्वविद्यालयका कुलपति सदस्य तोकिएको थियो । दरखास्त परेकामध्येबाट ३० जनाको नाम सिफारिस गरिएकोका तिनैमध्येबाट पदाधिकारी र सदस्य नियुक्त गरिएको हो ।

प्रतिष्ठान सदस्यमा गमबहादुर गुरुङ, राजेन्द्र सापकोटा, शंकर बिरही गुरुङ, जयबहादुर परियार, बलबहादुर विक, तारापति सुवेदी, राजबहादुर गुरुङ, एन्जिला गौचन, केबी टन्डन, जसमाया गुरुङ र देउकुमारी महतो थारु नियुक्त भएका छन् । यसैगरी, सरला पाण्डे, इतु जोजिजु, माओत्से गुरुङ, लोकबहादुर थापा, केयरसिंह गुरुङ, पवित्रा घिमिरे सदस्यमा नियुक्त भएका छन् ।

गएको बर्खे अधिवेशनमा गण्डकी प्रदेशसभाले ‘गण्डकी प्रज्ञा प्रतिष्ठान ऐन’ पारित गरेको थियो । प्राज्ञिक संस्थामा नियुक्ति प्रक्रिया नै उपयुक्त नभएको भन्दै यसमा विरोधसमेत हुँदै आएको छ ।

पोखरा महानगरपालिकाले गठन गरेको प्रज्ञा प्रतिष्ठानको विरोध भइरहेका बेला प्रदेशले पनि गठन गरेको हो । प्रतिष्ठानको संगठन संरचनामा प्राज्ञ सभा र प्राज्ञ परिषद रहने व्यवस्था छ । प्रतिष्ठानको सर्वोच्च निकाय प्राज्ञ सभा हो । प्राज्ञ सभामा कुलपति, अध्यक्ष, उपकुलपति उपाध्यक्ष सामाजिक विकास मन्त्रालयका सचिव सदस्य रहनेछन् । यसैगरी भाषा, साहित्य, लोक साहित्य, संस्कृति, ललितकला, नाट्यकला, संगीत, समाजशास्त्र र दर्शनका क्षेत्रमा विशिष्ट योगदान पु¥याएका मध्येबाट कम्तीमा ८ महिलासहित मुख्यमन्त्रीले मनोनीत गरेका २४ जना प्राज्ञ सभाको सदस्य रहने व्यवस्था छ ।

प्राज्ञ परिषदमा कुलपति अध्यक्ष, उपकुलपति उपाध्यक्ष, सभाका मनोनीतमध्येबाट कम्तीमा १ जना महिलासहित मुख्यमन्त्रीले मनोनीत गरेका ४ जना सदस्य रहनेछन् । प्राज्ञसभाको सदस्य सचिवले प्राज्ञ परिषदको पनि सचिव भई काम गर्ने व्यवस्था छ । मुख्यमन्त्री प्रमुख संरक्षक रहने प्रतिष्ठानमा सामाजिक विकास मन्त्री संरक्षक रहनेछन् । कुलपति, उपकुलपति र सदस्य सचिवले तलब पाउनेछन् । प्राज्ञ सभा सदस्यहरुले बैठक भत्ता पाउनेछन् ।

Related News

सम्बन्धित समाचार

  • मिस नेपालको पोखरा अडिसन आज

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । मिस नेपालको पोखरा अडिसन मंगलबारदेखि सुरु हुने भएको छ । द हिडन ट्रेजरले हरेक वर्ष आयोजना गर्दै आएको…
  • वेद विद्याश्रममा छन्दोबद्ध कविता प्रतियोगिता

    आदर्श समाज सम्वाददाता चैत्र ३०, २०८०
    पोखरा । पोखरा चिसाखोला वेद विद्याश्रमले रजत महोत्सव सन्दर्भमा प्रदेशव्यापी खुला छन्दोबद्ध कविता प्रतियोगिता भएको छ । प्रतियोगितामा संगम बस्याल…
  • मदरल्याण्डका शाश्वत निबन्धमा प्रथम

    आदर्श समाज सम्वाददाता चैत्र १९, २०८०
    पोखरा । को–अपरेटिभ प्रेसिडेन्ट सोसाइटी (कोप्स सेन्टर) आयोजनामा भएको निबन्ध प्रतियोगितामा मदरल्याण्ड माविका छात्र शाश्वत रेग्मी प्रथम भएका छन् ।…
  • सरसफाइ विज्ञ भूमिको पुस्तक विमोचन   

    आदर्श समाज सम्वाददाता चैत्र १८, २०८०
    दमौली ।  सरसफाइ विज्ञ नमस्तेलाल भूमिबारेमा लिखित ‘नमस्तेलाल देशभित्र, देशबाहिर’ पुस्तकको आज विमोचन गरिएको छ । तनहुँको बन्दीपुर गाउँपालिका निवासी…
  • ठूलाकोटमा अक्षरयात्राको २०९ औं शृंखला

    आदर्श समाज सम्वाददाता चैत्र १८, २०८०
    पोखरा । गजल सन्ध्या र नवनीत साहित्य सागर आयोजनामा सञ्चालन हुँदै आएको अक्षरयात्राको २०९ औं शृंखला पोखरा २८ ठूलाकोटमा सम्पन्न…

hero news full width