थलिएपछि मात्रै परीक्षण : स्टोरमै थन्कियो पिसिआर मेसिन

सविन लामिछाने
वैशाख २०, २०७८
pcr

दमौली । व्यास ७ का विष्णु आचार्यको जिउ सहनै नसक्ने गरी दुख्न थाल्यो । ज्वरो आयो, टाउको पनि दुख्न थाल्यो । मुख सुख्खा हुने, खान मन नलाग्नेलगायत समस्या बढ्दै गए । उनलाई यस्तो हुन थालेको ७ दिन भइसक्यो ।

आठौं दिन गत शुक्रबार विष्णुलाई छटपटी हुन थाल्यो । सास फेर्न धौ धौ भएपछि अत्तालिएका विष्णु आइतबार बिहानमात्रै कोरोना परीक्षणका लागि दमौली पुगे । तर त्यतिबेला उनले कोरोना परीक्षण गर्न पाएनन् । कारण थियो, जिल्लामा कोरोना परीक्षण हुने कुनै ल्याब नहुनु । पिसिआर जाँच कि पोखरा गएर गर्न सकिन्छ, कि त स्थानीय तहले बोलाएको समयमा । ‘सबै लक्षण हेर्दा कोरोनाजस्तो छ’ उनले भने, ‘अब ठीक हुन्छ कि भन्दै घरमा बसियो । व्यथाले च्यापेपछि कोरोना जाँच्न आइपुगें ।’ उनले थपे,‘ कोरोना जाँच्नका लागि जिल्लामा कुनै ल्याब नै रहेनछ । यहीं गर्न पालिकाले बोलाएको समयमा आउनुपर्ने रहेछ नभए पोखरा जानुपर्ने पर्ने रहेछ ।’

कोरोना भाइरस संक्रमणको दोस्रो लहर तीव्र फैलिँदा कोरोना परीक्षणको काम भने धिमा गतिमा छ । पहिलो लहरको कोरोना संक्रमण हुँदा स्थानीय तहले स्वाब संकलन गरेकोमा यसपटक सो पनि गरेका छैनन्, जसले गर्दा बिरामी सिकिस्त भएपछि मात्रै कोरोना संक्रमणको शंकामा स्थानीय तहलाई सम्पर्क गर्ने तथा अन्य जिल्लामा गएर परीक्षण गर्ने गरेका छन् । जिल्लामा पिसीआर परीक्षणका लागि स्वाबमात्र संकलन गरिँदै आएको छ ।

पिसिआर प्रयोगशालाका लागि आवश्यक पूर्वाधार, प्राविधिक जनशक्ति व्यवस्थापनमा बजेट अभाव

दिनहँु संक्रमणमात्र होइन, मृत्युदरसमेत उकालो लाग्दै गएको छ । यो अवस्थामा पिसिआर परीक्षण बढाउने, सरकारी अस्पतालमा पूर्वाधार, भेन्टिलेटर, आइसियु र उपकरण सुविधा बढाउनुपर्ने हो । थप उपकरणको सुविधा व्यवस्थापन गर्नु त परको कुरा यस्तो महामारीका बेला उपलब्ध उपकरणसमेत सञ्चालनमा ल्याउनु आवश्यक ठानिँदैन यहाँ ।

कोरोनाको पहिलो लहरबीच गत असोज २४ मा दाताले दिएको पिसीआर मेसिन अझै प्रयोगमा आएको छैन । पिसिआर रोटरी क्लब अफ नेपालले जिल्लाको व्यास नगरपालिकालाई पिसिआर मेसिन दिएको ६ महिना पुग्यो ।

नगरपालिकाले दमौली अस्पतालसँग समन्वय गरेर पिसिआर मेसिन प्रयोगमा ल्याउने भनिए पनि ६ महिना पूरा भइसक्दा काम अघि बढाएको छैन । स्थानीय तहमा परीक्षण सहज गराउने उद्देश्यले सहयोग गरे पनि मेसिन सञ्चालनमा नआउँदा दुख लागेको रोटरी क्लब अफ दमौलीका अध्यक्ष दामोदर भण्डारीले बताए । उनले भने,‘सामाजिक दायित्व बहन गर्ने उद्देश्यले हामीले पिसिआर परीक्षण मेसिन उपलब्ध गराएका थियौं । तर उक्त मेसिन सञ्चालनमा नआउनु दुखद् कुरा हो ।’ उनले अघि भने,‘अब कसरी मेसिन सञ्चालन ल्याउने भनिन् हामी सम्बन्धित निकायसँग छलफल गरिरहेका छौं ।’ पिसिआर प्रयोगशालाका लागि आवश्यक पूर्वाधार, प्राविधिक जनशक्ति व्यवस्थापनमा बजेट अभावका कारण मेसिन प्रयोगमा ल्याउन नसकिएको व्यास नगरपालिकाले जनाएको छ । उसो त यो मेसिनलाई कोरोना महामारी सकिएपछि पनि अन्य संक्रामक रोगको परीक्षणमा प्रयोग गर्न सकिन्छ । यो थाहा हुँदाहुँदै पनि बजेट अभावले सञ्चालनमा ल्याउन नसकिएको स्थानीय सरकारको जवाफ छ । १२ लाख रुपैयाँको यो मेसिन प्रयोगमा ल्याउन कम्तीमा ४० लाख रुपैयाँ चाहिने र छुट्टै भवन, दक्ष जनशक्तिको व्यवस्थापन पनि गर्नुपर्ने भएकाले त्यो सहज नभएको नगरपालिकाको भनाइ छ । व्यास नगरपालिका प्रमुख बैकुण्ठ न्यौपानेले भने,‘ प्रयोगशाला स्थापनाका ठूलो बजेटको आवश्यकता पर्ने हुनाले नगरपालिकाले एक्लैले सकेको छैन,’ उनले भने, ‘ संकलन गरिएको स्वांबको रिपोर्ट पोखरा पठाउँदा छिटो छिटो आउने गरेको छ ।’ तत्काल मेसिन सञ्चालन ल्याउने सोचमा नगरपालिका नरहेको उनले बताए । अहिले कोरोना परीक्षणका लागि जिल्लामा स्वाब संकलन गरी पोखरा पठाइने गरिएको छ । पहिला यसरी पठाइएको नमुनाको रिपोर्ट आउन २ साताभन्दा लामो समय लाग्थ्यो । अहिले २४ घन्टाभित्रै आउने भएकाले पिसिआर प्रयोगशाला त्यति आवश्यक पनि नदेखिएको जिल्लाबासीको भनाइ छ । जिल्लाका १० वटै पालिकाको ७२ लाख रुपैयाँ लगानीमा शुक्लागण्डकी नगरपालिकास्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा कोभिड अस्पताल निर्माण गरिएको छ । यहाँ उक्त पीसीआर मेसिन सञ्चालनमा ल्याउने विषयमा छलफल पनि भएको थियो । तर, त्यो पनि कार्यान्वयन हुन सकेन ।

Related News

सम्बन्धित समाचार

hero news full width