सपथलगत्तै लुम्बिनीका मुख्यमन्त्री पोखरेलद्वारा मन्त्रिपरिषद विस्तार

आदर्श समाज सम्वाददाता
वैशाख १९, २०७८
lumbini sapath

पोखरा । नवनियुक्त मुख्यमन्त्री शंकर पोखरेलले पद तथा गोपनीयताको सपथ लिएसँगै मन्त्रिपरिषद विस्स्तार गरेका छन् । मुख्यमन्त्री पोखरेलको सिफारिसमा यसअघि सरकारका प्रवक्ता र आर्थिक मामिला तथा योजना मन्त्रीसमेत रहेका बैजनाथ चौधरी सोही मन्त्रालयमा र प्युठानका हरि रिजाल स्वास्थ्य तथा जनसंख्या मन्त्री नियुक्त भएका छन्। रिजाल पहिलोपटक मन्त्री बनेका हुन् । उनीहरु दुबैजनाले शपथ ग्रहण गरेका छन् ।

यस्तै जसपाबाट मन्त्री बनेका यसअघिका चारै जना मन्त्री भएका छन्। जसमध्ये सन्तोष पाण्डे र विजय यादवले आज पूर्ववत पदमै सपथ लिए। पाण्डे भौतिक पुर्वाधार विकास र यादव भूमी व्यवस्था तथा कृषि मन्त्रीको रूपमा सपथ लिएका हुन्।

कल्पना पाण्डे र सुमन शर्मा रायमाझी उपस्थित नभएकोले भोलि उनीहरूको सपथ गराईने मुख्य मन्त्रीको सचिवालयले जनाएको छ।

यसअघि आजै लुम्बिनी प्रदेश प्रमुख धर्मनाथ यादवले विपक्षी दलहरूको धर्नाका बाबजुद निवासमै पुगेर शंकर पोखरेललाई मुख्यमन्त्रीको सपथ खुवाएका थिए।

आइतबार साँझ मुख्यमन्त्रीको निवासमा पोखरेलले कडा सुरक्षा घेराबीच सपथ लिएका हुन् । प्रदेश प्रमुख यादव सेना, प्रहरीको सुरक्षा घेरामा मुख्यमन्त्री निवास पुगेका थिए ।

आज दिउँसोदेखि विपक्षी दलका सांसदहरु आफूसँग बहुमत रहेको दावी गर्दै प्रदेश प्रमुखको निवासमा धर्ना दिइरहे पनि साँझ ठूलो संख्यामा सुरक्षाकर्मी बोलाएर प्रदेश प्रमुखलाई मुख्यमन्त्रीको निवास लगिएको थियो।

पोखरेलले यसअघि आजै संविधानको धारा १६८ ९२० अन्तर्गत गठन भएको सरकार विघटन गरी धारा १६८ ९१० अन्तर्गत एमालेको एकल सरकार गठन गर्ने भन्दै बिहान राजीनामा दिएका थिए।

मुख्यमन्त्रीको राजीनामा पछि लुम्बिनीको राजनीतिक जोडघटाउ छिनछिनमै फेरियो। हाल कायम रहेको ८१ जना प्रदेशसभा सदस्य मध्ये ४१ जनाको हस्ताक्षरसहित प्रदेश प्रमुख समक्ष शंकर पोखरेलले पुनः मुख्यमन्त्रीको दाबी पेश गरेलगत्तै माओवादी केन्द्र र नेपाली कांग्रेसले कुलप्रसाद केसीलाई मुख्यमन्त्रीमा प्रस्ताव गर्दै ४२ जनाको हस्ताक्षर प्रदेश प्रमुख समक्ष पेश गरेका थिए।

तर प्रदेश प्रमुख यादवले यसअघि नै ४१ जनाको हस्ताक्षर पेस गरेका एमाले संसदीय दलका नेता शंकर पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेका हुन्।

पोखरेल अल्पमतमा परेर पनि सत्ताको दुरुपयोग गर्दै पुनः नियुक्ति लिएको भन्दै बहुमत सदस्य आन्दोलनमा छन्।

बल प्रयोग गरिएपछि सांसदहरुले प्रदेश प्रमुख र प्रहरी दमनको विरोधमा बाहिर नाराबाजीसमेत गरेका थिए।

Related News

सम्बन्धित समाचार

hero news full width