पर्सिबाट कास्कीमा लकडाउन : हेर्नुहाेस के गर्न पाइन्छ, पाइन्न ?

आदर्श समाज सम्वाददाता
वैशाख १९, २०७८
cdo kaski

पोखरा । जिल्ला प्रशासन कार्यालय कास्कीले पर्सिबाट निषेधाज्ञालाई कडाइ गरेकाे छ । अति आवश्यक वाहेकका सेवामा पूर्ण प्रतिबन्ध लगाइएकाे छ । वैशाखभर सार्वजनिक गाडी चलाउन राेक लगाइएकाे छ ।

कास्की जिल्लाका प्रमुख जिल्ला अधिकारीबाट जारी गरिएको आदेश

विश्च महामारिको रुपमा फैलिरहेको नयाँ भेरियन्ट सहितको कोभिड–१९ (कोरोना भाईरस) को संक्रमण हालका दिनहरुमा तीब्र रुपमा फैलिरहेको अवस्थालाई गम्भीरतापूर्वक लिँदै कास्की जिल्लामा हुन सक्ने संक्रमण फैलावट रोक्न  कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रणका कार्यहरु प्रभावकारी रुपमा सञ्चालन एवम् व्यवस्थापन गर्न मिति २०७८/०१/०७ गते र २०७८/०१/१३ गते यस कार्यालयबाट जारी गरिएको आदेशका अतिरिक्त मिति २०७८/०१/१९ गते बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको निर्णय समेतका आधारमा संक्रामक रोग ऐन २०२० को दफा २ र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३) बमोजिम मिति २०७८ /०१/२१ गते बिहान ५ः०० बजे देखि २०७८/०१/३१ गते राति १२ः०० बजे सम्म कास्की जिल्लाभर लागू हुने गरी देहाय बमोजिमको आदेश जारी गरिएको छ ।

देहाय

१. अत्यावश्यक काममा बाहेक घर बाहिर ननिस्कने र हिडडुल नगर्ने ।

२. सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार सञ्चालन गर्न, मानिसहरु भेला जम्मा हुन, भीडभाड गर्न, सभा जुलुस गर्न, जात्रा, महोत्सव गर्न निषेध गर्ने ।

३. एम्बुलेन्स, बिरामी तथा कुरुवा बोक्ने सवारी साधन (बढिमा २ जना), दमकल, शववाहन, खाद्यसामाग्री तथा पशुपक्षीका दाना, तरकारी, फलफूल, दुग्ध पदार्थ, माछा, मासु, पानी, ग्याँस तथा पेट्रोलियम पदार्थ बोकेका सवारी साधनहरु, चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले ड्यूटी जाने आउने क्रममा प्रयोग गर्ने सवारी साधनहरु, औषधि तथा स्वास्थ्य सेवाका सामग्री बोकेका सवारी साधनहरु, अत्यावश्यक सरकारी कामकाजका लागि प्रयोग हने सरकारी सवारी साधनहरु बाहेकका कास्की जिल्ला भित्र सञ्चालन हुने यात्रुवाहक सार्वजनिक तथा निजी सवारी साधनहरू सञ्चालन गर्न नपाईने ।

४. मठ मन्दिर, मस्जिद, गुम्बा, चर्च लगायतका धार्मिक स्थलहरुमा जनस्वास्थ्यको मापदण्ड पालना गर्ने गरि नित्य पूजा, ध्यान र प्रार्थना मात्र गर्ने गरि अन्य कार्य नगर्ने, नगराउने ।

५. विश्वविद्यालय, क्याम्पस, विद्यालय लगायत सबै प्रकारका शैक्षिक संस्था, तालिम, प्रशिक्षण केन्द्रहरु तथा विद्यालयबाट भौतिक रुपमा उपस्थित भई सञ्चालन हुने पठनपाठन लगायत सबै परीक्षाहरु स्थगित गर्ने ।

६. सिनेमा हल, पार्टी प्यालेस, होटल, रेष्टुरेण्ट, चिया तथा खाजा पसल, मोटेल, नाँचघर, क्लब, डान्सबार, दोहोरी साँझ, फनपार्क, रंगशाला, फुट्सल, खेलकुद स्थल, जिमखाना, फिटनेश सेन्टर, स्पा, स्वीमिङ पुल, व्युटी पार्लर, शैलुन, सुनचाँदी, टेलरिङ, फुटपाथ पसलहरु लगायतका सेवा एवम् स्थलहरु नखोल्ने तथा सञ्चालन नगर्ने ।

७. विवाह, ब्रतवन्ध एवम् अन्य संस्कारजन्य कार्यक्रमहरु पार्टी प्यालेस तथा होटलमा सञ्चालन गर्न नपाईने । घरमा सञ्चालन हुने त्यस्ता कार्यक्रममा तोकिएका स्वास्थ्य तथा सुरक्षा मापदण्ड अनिवार्य रुपमा पालना गरी १५ जना भन्दा बढि व्यक्ति सहभागी हुन नपाईने ।

८. देहाय बमोजिमका पसलहरु देहायको समयमा मात्र खुल्ला रहने :

क. औषधी एवम् स्वास्थ्य सामाग्रीका पसलहरु २४ सै घण्टा खुल्ला रहने ।

ख. दैनिक उपभोग्य खाद्यान्न, तरकारी, फलफूल, दुध तथा दही, माछा, मासु विक्रि वितरण गर्ने पसलहरु विहान ५ः०० बजे देखि विहान ९ः०० बजे सम्म मात्र सञ्चालन गर्ने ।

ग. डिपार्टमेन्टल स्टोर्सहरुको हकमा खाद्यान्न सामाग्री मात्र विक्रि वितरण विहान ५ः०० बजे देखि विहान ९ः०० बजे सम्म सञ्चालन गर्ने ।

घ. उपरोक्त बमोजिम बाहेकका अन्य पसल, डिपार्टमेण्टल स्टोर्स सपिङमल लगायतका सबै पसल पूर्ण रुपमा बन्द रहने ।

९. उद्योग र सार्वजनिक निर्माण कार्यमा संलग्न कर्मचारी तथा श्रमिकहरुलाई उद्योग परिसर वा निर्माण स्थल नजिकै खाना र बासको व्यवस्था गरी स्वास्थ्य तथा सुरक्षा मापदण्ड पूर्ण रुपमा अपनाई सञ्चालन गर्ने ।

१०. ढुङ्गा, गिट्टी, बालुवा, रड, सिमेन्ट जस्ता निर्माण सामाग्री बोक्ने सवारी साधनहरु दिनको १ः०० बजे देखि साँझ ५ः०० बजे सम्म मात्र सञ्चालन गर्न पाइने ।

११. आयोजनामा निर्माण सामाग्री द्रवानी गर्ने सवारी साधनका चालक, सहयोगी र श्रमिकहरुलाई ओसारपोसार गर्न आयोजनाले जारी गरेको परिचयपत्रको आधारमा सवारी साधन प्रयोग गर्न दिने ।

१२. स्वास्थ्य, सुरक्षा, सञ्चार, विद्युत, खानेपानी, औषधि तथा औषधिजन्य उत्पादन तथा विक्रि वितरण लगायतका अत्यावश्यक सेवा तथा कार्य गर्ने बाहेकका अन्य सरकारी तथा गैरसरकारी कार्यालयहरुबाट प्रदान गरिने सेवाहरु प्रवाह नगर्ने।

१३. सञ्चारकर्मीको हकमा सूचना तथा प्रसारण विभागबाट जारी प्रेस पास, नेपाल पत्रकार महासंघबाट जारी प्रेस पास वा सम्बन्धित सञ्चारगृहले जारी गरेको परिचयपत्रको आधारमा आवातजावत गर्न सकिने ।

१४. बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाह हुने दैनिक सेवा नेपाल राष्ट्र बैंक, प्रादेशिक कार्यालय पोखराको समन्वयमा शाखा प्रबन्धकले एक चौथाई कर्मचारीको उपस्थितिमा एक चौथाई शाखाहरु सञ्चालन गर्ने ।

१५. अन्तराष्ट्रिय विमानस्थल प्रयोग गरी विदेश जाने यात्रुको हकमा भिसा सहितको पासपोर्ट र हवाई टिकटको प्रतिलिपी साथमा लिई एक जना आफन्त सहित यात्रा गर्न सकिने छ । त्यसरी यात्रामा गएको आफन्त काठमाण्डौबाट फर्कदा विदेश यात्रामा गएको व्यक्तिको भिसा सहितको पासपोर्ट र हवाई टिकटको छाँया प्रति साथमै राख्नु पर्ने छ ।

उल्लेखित आदेशको अवज्ञा गरी कार्य गरे गराइएको पाइएमा स्थानीय प्रशासन ऐन,२०२८, संक्रामक रोग ऐन, २०२० एवम् अन्य प्रचलित कानून बमोजिम कारवाही हुने व्यहोरा समेत जानकारी गराइन्छ ।

Related News

सम्बन्धित समाचार

hero news full width