गण्डकी प्रज्ञा प्रतिष्ठानमा सूर्य खड्का बिखर्ची

आदर्श समाज सम्वाददाता
वैशाख १९, २०७८
surya khadka

पोखरा । गण्डकी प्रज्ञा प्रतिष्ठान कुलपतिमा साहित्यकार सूर्य खड्का विखर्ची नियुक्त भएका छन् । गण्डकी प्रदेशका भाषा, साहित्य, लोकसाहित्य, संस्कृति, ललितकला, नाट्यकला, संगीतको अध्ययन अनुसन्धान गरी संरक्षण एवं संवद्र्धनका लागि भनेर गठन गरिएको प्रतिष्ठानमा नियुक्ति पाउनका लागि दरखास्त आह्वान गरिएको थियो ।

दरखास्तकै आधारमा सिफारिस समितिले मुख्यमन्त्रीकोमा नाम पठाएको थियो । तिनै नाममध्येबाट विखर्चीलाई कुलपतिमा नियुक्त गरिएको हो । उपकुलपतिमा गोरे गुरुङ र सदस्य सचिवमा मनकुमार श्रेष्ठले नियुक्ति पाएका छन् ।

सामाजिक विकासमन्त्री संयोजक रहेको सिफारिस समितिमा प्रदेश नीति तथा योजना आयोग उपाध्यक्ष र गण्डकी विश्वविद्यालयका कुलपति सदस्य तोकिएको थियो । दरखास्त परेका मध्येबाट ३० जनाको नाम सिफारिस गरिएकोका तिनैमध्येबाट पदाधिकारी र सदस्य नियुक्त गरिएको हो ।

गएको बर्खे अधिवेशनमा गण्डकी प्रदेशसभाले ‘गण्डकी प्रज्ञा प्रतिष्ठान ऐन’ पारित गरेको थियो ।

प्राज्ञिक संस्थामा नियुक्ति प्रक्रिया नै उपयुक्त नभएको भन्दै यसमा विरोध समेत हुँदै आएको छ ।

पोखरा महानगरपालिकाले गठन गरेको प्रज्ञा प्रतिष्ठानको विरोध भइरहेका बेला प्रदेशले पनि गठन गरेको हो ।

कानुन अनुसार कुलपति, उपकुलपति र सदस्यसचिवसहित ७ जनाको कार्यकारिणी समिति हुन्छ ।

कार्यकारिणी समितिमा लोकसाहित्यबाट सुरेन्द्र गुरुङ, भाषा अनुसन्धानबाट कृष्णप्रसाद पौडेल, संस्कृतिबाट दीलकुमारी पौडेल र साहित्यविधाबाट देवकी आचार्य नियुक्त भएका छन् ।

प्राज्ञ सभा सदस्यमा लोकबहादुर थापा, एञ्जिला गौचन, देउकुमारी महतो थारु, टन्डन लगायत छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width