उपकरण अभावमा खेर जाँदै अस्पतालको अक्सिजन

रासस
वैशाख १९, २०७८
Oxygen

गलकोट । कोरोनाको दोस्रो लहरले नेपालमा कोरोना सङ्क्रमणको दर ह्वात्तै बढाएपछि अक्सिजन अभाव खड्किएको समाचार आइरहेका सन्दर्भमा बागलुङको अक्सिजन प्लान्टमा उत्पादित अक्सिजन भने उपकरण अभावमा खेर गइरहेको पाइएको छ ।

धवलागिरि अस्पताल बागलुङमा गण्डकी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले अक्सिजन प्लान्ट स्थापना गरेको छ । प्लान्टमा उत्पादित अक्सिजन सोझै अस्पतालमा रहेका बिरामीको शय्यामा पाइपलाइनबाट पुग्ने भए पनि अक्सिजन सिलिण्डरमा भर्न मिल्दैन ।

पाइपलाइनबाट खपत भएर रहेको अक्सिजन सिलिण्डरमा भर्न सकेका खण्डमा कोरोना महामारीमा अक्सिजनको अभाव टार्न मद्दत पुग्ने भए पनि अक्सिजनको ‘फिलिङ सिस्टम’ नहुँदा अस्पतालको अक्सिजन प्लान्टमा उत्पादित आधाजस्तो अक्सिजन खेर गइरहेको छ । कोरोना बढ्दै जाँदा गाउँगाउँका स्वास्थ्यचौकीमा समेत अक्सिजन चाहिने निश्चित छ ।

अक्सिजन प्लान्ट नभएका अस्पतालमा सिलिण्डरमा अक्सिजन चाहिने भएको र अहिले मुलुकभर अक्सिजनको समस्या भन्दै समयमै आपूर्ति नभएको सन्दर्भमा धवलागिरि अस्पतालको अक्सिजन प्लान्टबाट उत्पादित अक्सिजन सिलिण्डरमा भर्न सके धेरैको जीवनरक्षाका लागि सहज हुने धवलागिरि अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केबी रानामगरले बताउनुभयो ।

“अस्पतालमा विसं २०७६ पुसदेखि अक्सिजन प्लान्टबाटै बिरामीको शय्यामा अक्सिजन पुर्‍याइएको छ तर अक्सिजनको क्षमताअनुसार उत्पादन भएको अक्सिजन खपत भएको छैन”, अध्यक्ष रानामगरले भन्नुभयो, “अहिले कोरोनाका बिरामीलाई अक्सिजन अनिवार्य देखिएपछि नेपालमा अक्सिजन अभाव भएको सुनेको छु, हाम्रोमा अक्सिजन भर्ने व्यवस्था गर्न सके अरु स्वास्थ्यचौकी तथा अस्पतालमा वितरण गर्न सकिन्थ्यो ।”

पचास शय्याको अस्पताललाई अहिले गण्डकी प्रदेश सरकारले २०० शय्याको उपप्रादेशिक अस्पताल बनाउने निर्णयसँगै केही कामसमेत अघि बढाएको छ । अक्सिजन प्लान्टबाट उत्पादित अक्सिजनले दैनिक ३० सिलिण्डर अक्सिजन भर्ने भए पनि उपकरण अभावमा अस्पतालका बिरामीलाई मात्रै भएको धवलागिरि अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा शैलेन्द्र बी पोखरेलले बताउनुभयो ।

“उत्पादित पूरै अक्सिजन अस्पतालले खपत गरेको छैन, अक्सिजन बिरामीको शय्यामै पुर्‍याइएको छ तर सिलिण्डरमा भर्ने व्यवस्था नहुँदा अन्यत्र पुर्‍याउन कठिन छ”, डा पोखरेलले भन्नुभयो, “अस्पतालमा खपत नभएको समयको अक्सिजन सिलिण्डमा भर्न पाए कोरोना महामारीको समयमा अन्यत्रसमेत अक्सिजन दिन सकिन्थ्यो तर फिलिङ सिस्टम नभएकाले अक्सिजनको कम प्रयोग भएको समयमा अस्पतालको प्लान्टद्वारा उत्पादित अक्सिजन खेर गइरहेको छ ।” अक्सिजन प्लान्ट रु ९० लाख ४० हजारकोे लागतमा गण्डकी प्रदेश सरकारले स्थापना गरेपछि अस्पतालमा अक्सिजन आपूर्ति गर्नुपर्ने अवस्थाको अन्त्य भएको छ तर अस्पताललाई अहिले पनि केही मात्रमा सिलिण्डरकै अक्सिजन आवश्यक परिरहेको भने छ । बिरामीलाई शय्याभन्दा बाहिर ल्याउनुपर्दा, सिफारिस गरी बाहिर पठाउनुपर्दा र हवाई उद्धार गर्दा भने आफ्नै अक्सिजन प्लान्ट भएर पनि केही मात्रामा भने अक्सिजनसहितका सिलिण्डर खरिद गर्नुपर्ने बाध्यता अस्पताललाई छ ।

“अक्सिजन प्लान्ट बन्द गर्न मिल्दैन, चलाउँदा पूरै क्षमतामा चल्छ, कहिले अक्सिजन लगाउनुपर्ने बिरामी धेरै हुन्छन् त कहिले थोरै हुन्छन्, थोरै बिरामी हुँदा बचेको अक्सिजन सिलिण्डरमा भर्न नसक्दा खेर गएको छ”, डा पोखरेलले भन्नुभयो । उहाँका अनुसार आफ्नै प्लान्टको अक्सिजन भर्न नसक्दा कहिलेकाहीँ सिलिण्डरको अक्सिजन आवश्यकता हुँदा बाहिरबाट खरिद गर्नुपर्ने परिस्थिति छ । उक्त अक्सिजन प्लान्टमा भर्ने उपकरण ‘फिलिङ सिस्टम’ खरिदका लागि गण्डकी प्रदेशसँग माग गरिरहेको डा पोखरेलले बताउनुभयो ।

अक्सिजन भर्ने उपकरणलाई रु ३० देखि ५० लाख पर्ने बुझ्नमा आएको उहाँको भनाइ छ । अस्पतालमा प्लान्ट हुनुपूर्व अस्पतालमा निजी कम्पनीले पोखरा तथा बुटवलमा उत्पादन गरेको ‘अक्सिजन सिलिण्डर’ प्रयोग हुँदै आएको थियो । धवलागिरि अस्पतालमा अहिले २५ शय्याको कोरोना वार्ड रहेको छ । अस्पतालमा ११ कोराना सङ्क्रमितको उपचार भइरहेको छ ।

Related News

सम्बन्धित समाचार

  • बेलायती अधिराजकुमार र अधिराजकुमारीद्वारा परेड अवलोकन

    रासस माघ २५, २०८१
    गण्डकी । संयुक्त अधिराज्य बेलायतका अधिराजकुमार एडिनब्राका ड्यूक एड्वर्ड र अधिराजकुमारी डचेस सोफीले शुक्रबार पोखरास्थित ब्रिटिस क्याम्पमा आयोजित कार्यक्रममा बेलायती…
  • ज्येष्ठ नागरिक समाजबाट सम्मान

    आदर्श समाज सम्वाददाता माघ २५, २०८१
    पोखरा ।पोखरा । ज्येष्ठ नागरिक सरोकार समाज, नेपालले ज्येष्ठ नागरिक क्षेत्रमा कलम चलाउने पत्रकार, सासूससुराको राम्रो सेवा गर्ने ‘असल बुहारी’,…
  • प्रेस चौतारीबाट पत्रकार पौडेल र गुरुङ सम्मानित

    आदर्श समाज सम्वाददाता माघ २२, २०८१
    पोखरा । प्रेस चौतारी नेपालको २७ औं स्थापना दिवस अवसरमा कास्की शाखाले मंगलबार प्रेस चौतारी पत्रकारिता पुरस्कारबाट इन्द्रप्रसाद पौडेललाई पुरस्कृत…
  • सल्युट गोर्खाको रक्तदान

    आदर्श समाज सम्वाददाता माघ २२, २०८१
    पोखरा । सल्युट गोर्खा ट्रेनिङ सेन्टर, चाउथेले आयोजना गरेको रक्तदान कार्यक्रममा ३१ युनिट रगत संकलन भएको छ । संस्थाको १६…
  • लमजुङमा पात बजाउने प्रतियोगिता, महिलाले मच्चाए तहल्का

    आदर्श समाज सम्वाददाता माघ २२, २०८१
    लमजुङ । ठाडोभाका लोककला प्रतिष्ठान नेपाल, लमजुङले नवौं स्थापना दिवस अवसरमा आयोजना गरेको पात बजाउने प्रतियोगितामा महिलाले तहल्का मच्चाएका छन्…

hero news full width