सीता–तीर्थ छात्रवृत्ति कोष स्थापना

आदर्श समाज सम्वाददाता
वैशाख १९, २०७८
nepali bivag

पोखरा । पृथ्वीनारायण क्याम्पस नेपाली विभागमा शनिबार सीता–तीर्थ अधिकारी छात्रवृत्ति कोष स्थापना गरिएको छ ।

आफ्ना साहित्यिक पुस्तकसहित साहित्यकार तीर्थराज अधिकारी र उनकी पत्नी सीतादेवी अधिकारीले कोष स्थापनार्थ विभागीय प्रमुख प्राडा कुसुमाकर न्यौपानेलाई ५० हजार हस्तान्तरण गरेका हुन् ।

स्नातक तह अध्ययनरत मेधावी विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने गरी छात्रवृत्ति कोष स्थापना गरिएको विभागीय प्रमुख न्यौपानेले बताए ।

स्नातकोत्तर तहका विद्यार्थीका लागि पूर्व विभागीय प्रमुख कृष्णप्रसाद पौडेलले कोष स्थापना गरिसकेको र स्नातक तहका विद्यार्थीका लागि पनि कोष स्थापना हुनु गौरवको विषय भएको उनले बताए ।

अनेसास गण्डकी अध्यक्ष दुर्गाबहादुर शाह बाबाले नेपाली मुक्तकलाई विश्व साहित्यमा पुर्‍याउने प्रथम प्रयोक्ता अधिकारी साहित्यका ‘तीर्थ’ नै भएको बताए । उनले अधिकारीलाई साहित्य, शिक्षा र समाजसेवाका त्रिवेणीका रुपमा चिनाए ।

लघुकथा प्रतिष्ठान सचिव कल्याण पन्तले अधिकारीका मुक्तकवाचन गर्दै अनेसासबाट मुक्तकमणि उपाधिबाट विभूषित अधिकारीको ‘साधनाको स्वर्ण वर्ष ः मुक्तकमणि तीर्थराज अधिकारी’ समीक्षाग्रन्थ प्रकाशन तयारीमा रहेको जानकारी गराए ।

नेपाल सरकारको उपसचिवबाट सेवानिवृत्त अधिकारी अहिले अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका बोर्ड अफ ट्रष्टीज सदस्य छन् । उनका झन्डै दर्जन कृति प्रकाशित छन् । अंगेजी–नेपाली दुवै भाषामा मुक्तक कृति प्रकाशन गर्ने प्रथम प्रयोक्ता अधिकारी अनेसासबाट मुक्तकमणि उपाधिबाट विभूषित स्रष्टा हुन् ।

समारोहमा कोष संस्थापक सीतादेवी अधिकारी, विभागीय सदस्य सहप्राध्यापक पुण्यप्रसाद शर्मा, उपप्राध्यापक निर्मल सापकोटा, नारायण न्यौपाने, अनेसास गण्डकीका पदाधिकारी लगायतले बोलेका थिए ।

पृथ्वीनारायण क्याम्पस नेपाली विभागले विभागीय पुस्तकालय सञ्चालन सहितका विविध गतिविधि सञ्चालन गर्दै आएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width