विन्ध्यवासिनीमा बिहे गर्ने हाे ? जन्ती ४ मात्र

श्रीभद्र पौडेल
वैशाख १९, २०७८
bindhyabasani temple

हेमजा । कोरोना भाइरस (कोभिड १९)को बढ्दो संक्रमणलाई ख्याल गर्दै पोखरास्थित विन्ध्यवासिनी मन्दिरमा बेहुला, बेहुलीबाहेक बढीमा ४ जना जन्ती सहभागी गराई बिहे गर्न थालिएको छ ।

वैैशाख ९ गतेदेखि यस्तो नियम बसालिएको हो । त्यसैमाथि स्वास्थ्य मापदण्ड भने पूर्ण पालना गर्नुपर्नेछ । बढ्दो संक्रमणका कारण मन्दिर परिसर बन्द गरिएको भए पनि वैशाख लगनको महिना परेकाले बाध्यकारी अवस्थामा १५÷२० मिनेटभित्रै बिहे सक्ने गरी व्यवस्थ्था गरिएको विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका कार्यालय सचिव नवराज तिमिल्सिनाले जानकारी दिए ।

‘कसैले बोलाएर होइन, बिहे गर्ने भनेर गेटमा आइहाल्नुहुन्छ, मन्दिर बन्दबारे सूचना हेर्ने र जिंगल पनि सुन्नुहुन्छ तर अन्त्यमा फोन गरेर जसरी पनि बिहे गराइदिनु पर्‍यो भन्दै अनुनय विनय गर्नुहुन्छ,’ तिमिल्सिनाले सुनाए ।
बरु मन्दिरमा थोरै जान्छौं, जसरी भए पनि बिहे गर्नैपर्ने छ भन्दै विभिन्न परिस्थिितिजन्य घटना सुनाएर आग्रह गरेपछि मानवीय र धार्मिक दुबै हिसाबले छोटो समयमा विवाह गरिदिने गरेको उनले स्पष्ट पारे ।

स्याङ्जा अर्जुनचौपारीका विशाल रोका र पोखरा २६ की एलिसा रानाभाटबीच शनिबार विवाह सम्पन्न भयो । मन्दिरमा सामान्य अवस्थामा लगनका बेला दैनिक ५०/६० जोडीको बिहे हुने गर्दथ्यो । तर अहिले भने छिटपुटमात्रै हुँदै आएको छ । नित्य पूजाआजा भने रोकिएको छैन । पण्डित र कर्मचारी गरी कुल ३५ कार्यरत रहेकोमा यसबीचमा कसैलाई पनि बिदा दिइएको छैन ।

बढ्दो संक्रमणका कारण मन्दिर बन्द गरिएपछि मर्मतको काम भने सुरु गरिएको छ । जसअन्तर्गत यतिबेला पूर्वपट्टिको सिँढीमा टिपकार लगाउने, बगैंचा सफा गर्ने र मन्दिरको दक्षिणतर्फ पोखरा बागलुङ राजमार्ग स्तरोन्नति गर्दा भत्किएको शौचालय र बाथरुम फेरि निर्माण भइरहेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width