संवादहीनतामा फस्याे गण्डकी संसद, कसले गर्ने आइसब्रेक ?

सांसद शाही बेपत्ता प्रकरणपछि विशेष अधिवेशनको बैठक अनिश्चित बनेको छ

प्रकाश ढकाल
वैशाख १८, २०७८
parle netra subba

पोखरा । जनमोर्चाका सांसद खीमविक्रम शाहीले सदन छलेर सम्पर्कविहीन भएपछि रोकिएको गण्डकीको प्रदेशसभा बैठक चल्ने सुरसार छैन । यतिसम्म कि अहिले सत्ता–प्रतिपक्ष बीच संवाद टुटेको छ । दुवै पक्षसँग कुरा नगरी सभामुख चुपचाप छन् । दुवै पक्ष आन्तरिक बैठक बसिरहेको छ । तर सदन चलाउने कोर्षको सुरुवात कसैले गरेको छैन । सभामुख नेत्रनाथ अधिकारी जनमोर्चाले आफ्नो सांसद भेटिएको जानकारी गराएपछि मात्रै कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान गर्ने बताउँछन् ।

 यही अवस्थामा संसद चल्न सक्दैन :  मुख्यमन्त्री

‘पहिलो कुरा जो हराउनुभयो, जसको जीवनरक्षाको माग भएको छ, उहाँ भेटिएको जानकारी दिनुपर्‍यो,’ उनले भने, ‘मान्छे नभेटिएसम्म कसरी संसद चलाउने ? भेटिएको थाहा पाएपछि मैले कार्यव्यवस्था बोलाउँछु ।’ संसद स्थगीत भएको दिनदेखि कसैसँग पनि संवाद नभएको बताए । ‘मैले तपाईं मुख्यमन्त्री हो । जनताको रक्षा गर्नुपर्ने दायित्व हो । दलले निवेदन दिएको छ । खोजी गर्नुपर्छ नि भनेको थिएँ,’ उनी भन्छन्, ‘मुख्यमन्त्री ज्यूले एकजना हरायो भन्दैमा किन बन्द गर्ने भन्नुभएको थियो । त्यसपछि मेरो कसैसँग कुरा भएको छैन ।’

सत्तापक्षकै सांसद र मन्त्री कार्यव्यवस्था परामर्श समितिको बैठकमा नआएपछि संसद चलाउने अवस्था नबनेर आफू निस्किएको उनले सुनाए । ‘केहीबेर संसद स्थगित भएपछि सांसद खोजिदिन निवेदन आयो । मैले कार्यव्यवस्थाको बैठक बोलाएँ,’ सभामुख अधिकारी भन्छन्, ‘कार्यव्यवस्था मिटिङमा सत्तारुढ दलका माननीय र मन्त्री ज्यू आउनुभएन । उहाँहरु नआएपछि मैले नै रोकेको हो ।’ सत्तारुढ सांसद बैठकमा आएको भए सोही दिन कार्यव्यवस्थाबाट सर्वसम्मत निर्णय गराएर बैठक चलाउन सक्ने उनको भनाइ छ ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ संसद बैठक अब चल्न नसक्ने बताउँछन् । ‘आफ्नो सांसद सदनमा आएको छ कि छैन भनेर खोज्ने काम संसदीय दलको हो । सभामुखको होइन,’ उनले भने, ‘सभामुखले जे नजिर स्थापित गर्नुभएको छ, यसले पक्षपातपूर्ण व्यवहार देखायो । पार्टीको कार्यकर्ता भएर काम गर्नुभयो । प्रदेशसभा अब सञ्चालन हुन सक्दैन ।’ सभामुखले अस्थिरताको नजिर स्थापित गरेको उनको तर्क छ । ‘बिनाकारण, बिना औचित्य, बिना सन्दर्भ सरकारसँग साजिस रच्नुभयो । कसैसँग छलफल नगरीकन सूचना जारी गरेर हिड्नुहुन्छ भने म हरेक दिन सदन अवरुद्ध गर्छु,’ गुरुङले थपे, ‘सांसदलाइ नआइज भन्छु, हरायो भनेर निवेदन हाल्छु । अनि बैठक चल्छ ? उहाँले अस्थिरताको नजिर देखाउनुभयो ।’ आफूलाई सत्ताबाट हटाउनुपर्ने कुनै कारण नरहेको उनले दोहोर्‍याए ।

सांसद भेटिएको खबर आएपछि बैठक चल्छ : सभामुख,

जनमोर्चाका संसदीय दलका नेता कृष्ण थापाले सदन सञ्चालनको बाटो खोल्न सभामुखसँग आग्रह गरे । आफ्नो पार्टीका सांसद हराएको निवेदनका आधारमा मात्रै सँधै सदन रोक्न नमिल्ने भन्दै उनले संवाद अघि बढाउन अनुरोध गरेका हुन् । ‘हामीले रोक भन्दा रोक्ने, खोल भन्दा खोल्ने त होइन होला नि । सँधै त्यसो गर्न सक्नुहुन्छ र ? कानुन पढेर सदन चलाउनुपर्छ,’ उनले भने, ‘भेटिएको भनेर निवेदन चाहिए दिन्छौं । तर उहाँले आफ्नो दलको स्वार्थका लागि मात्र भन्नुभएको हो । अहिले भोट चाहिएको कारणले अड्को थाप्नुभएको हो ।’

उनले आफ्नो पार्टी संस्थागत निर्णयमा प्रतिवद्ध रहेको बताए । यसैका लागि थप छलफल गर्न विपक्षी ४ दलको बैठक बसेको थियो । ‘नयाँ सल्लाह केही भएन । अवरुद्ध सदन सुरु गरौं भनें । अविश्वासको प्रस्तावको विषयमा टुंगो लगाउने त्यहि त हो नि,’ बैठकबाट फर्किएपछि उनले भने, ‘जनमोर्चालाई निकै मुद्दा बनाइएको छ । भविष्यमा इतिहासले मूल्यांकन गर्ला । पर्दाभित्र वा बाहिर गर्ने कुराको मलाई कुनै सरोकार छैन । म संस्थागत मान्छे हो ।’ उनले सोमबार बैठक चलाउन सुझाव दिएका छन् ।

नेपाली कांग्रेस–माओवादी–जसपा गठजोड आन्तरिक छलफलमै छ । १५ गते मतदान नभएपछि दलका सांसदहरु कुटी रिसोर्टबाट आफ्नै डेरातिर लागेका छन् । दिनहुँ बैठक बसिरहेको छ । कांग्रेस संसदीय दलका प्रवक्ता प्रकाशचन्द्र दवाडीले संसद सञ्चालनको मार्ग खोज्न सभामुखलाई आग्रह गरे । ‘हाम्रोमा छिटै सदन बस्ने कुराको प्रक्रिया सुरु भएको छ । हाम्रो तर्फबाट कुनै समस्या छैन,’ उनले भने, ‘छलफल भयो । अब सदन खुलाएर अगाडि बढ्ने नै हो । यसरी नै कति दिन रहन्छ र ?’

वैशाख २ मा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वास प्रश्ताव दर्ता गरेपछि विपक्षीकै मागका आधारमा प्रदेश प्रमुख अमिक शेरचनले वैशाख १३ गते विशेष अधिवेशन डाकिदिए । प्रस्तावमा छलफल चलिरहेको थियो । कहिले सत्ता र कहिले प्रतिपक्षीको अवरोधले गतिरोधमा फसेको छ । राजनीतिक गतिरोधको अन्त्य र संसद सञ्चालनको वातावरण सिर्जना गर्न नागरिक समाजले समेत दबाब दिएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width