अक्सिजनसहित १५ आइसोलेसन बेड तयार

आदर्श समाज सम्वाददाता
वैशाख १७, २०७८
News Covid

लमजुङ । जिल्ला अस्पताल लमजुङमा अक्सिजन सिलिन्डरसहितका १५ आइसोलेसन बेड तयार गरिएको छ । जिल्लामा कोरोना संक्रमित बढ्न सक्ने स्थितिलाई ध्यानमा राख्दै आइसोलेसन बेड तयार गरिएको हो ।

लमजुङ जिल्ला अस्पतालको नयाँ भवनमा ती बेड तयार गरिएको हो । तत्कालका लागि १५ बेड तयार भएको भए तापनि ४० बेडसम्म विस्तार गर्न सकिने लमजुङ जिल्ला अस्पतालका प्रशासन प्रमुख हेमन्त श्रेष्ठले बताए । उनका अनुसार नयाँ भवनको दुवै तलामा ती बेड जडान गर्ने काम भइरहको छ । सबै बेडमा अक्सिजनको सिडिन्डरका साथ कम्प्युटरसमेत जडान गरिएको छ । उनले भने, ‘कम्प्युटरले बिरामीको शरीरको समग्र ‘मनिटर’ गर्दछ । अर्थात् बिरामीको शरीरमा अक्सिजनको मात्रा, मुटुको चालका साथै रक्तचापसमेत के कस्तो अवस्थामा छ भन्ने देखाउने प्रविधि जडान गरिएको छ ।’

संघीय र प्रदेश सरकारको सहयोगमा तयार गरिएका ती बेड तयार गर्न १ बेडका लागि करिब साढे ४ लाख रुपैयाँ खर्च भएको लमजुङ जिल्ला अस्पताल प्रमुख श्रेष्ठले उल्लेख गरे । उनका अनुसार प्रत्येक बेडमा अक्सिजनको सिलिन्डर र बिरामीको मनिटर गर्ने कम्प्युटर जडान छ । तयार गर्न बाँकी बेड पनि यही अनुसारको काम हुने उनको भनाइ छ ।

फरक प्रसंगमा उनले हाल नेपालमा अक्सिजन ग्यासको कमी नभई सिलिन्डर अभाव देखिएको स्पष्ट पारे । उनले भने, ‘हामीसँग जिल्ला अस्पतालमा आइसोलेसनमा रहने ४० बेडबाहेक जनरल बेडमा सञ्चालनका लागि छुट्टै २० थान ग्यास सिलिन्डर व्यवस्था गरिएको छ ।’

Related News

सम्बन्धित समाचार

hero news full width