कोरोनाको महामारीपछि घर फर्कनेको लर्को

धनबहादुर गुरुङ
वैशाख १६, २०७८
Home Return Photo 1

पोखराबाट घर फर्कन पृथ्वीचोकमा गाडी कुर्दै गरेका सर्वसाधारण । तस्बिर : सुमन

पोखरा । आडैमा ५ वटा जेब्रा झोला, २ वटा साइडमा बोक्ने काला ब्याग, रातो प्लास्टिकले बेरेको ओड्ने ओछ्याउने सेट, त्यही चाङमाथि एउटा गिटार, नजिकै धनी मनोज थापा । पोखरा पृथ्वीचोकको यात्रु प्रतीक्षालयमा धादिङ जाने बस कुर्दै थिए उनी । थापा पश्चिमाञ्चल अध्ययन संस्थान पोखरामा इलेक्ट्रिकल्स चौथो वर्षमा अध्ययनरत विद्यार्थी हुन् । कोरोना कहरकै बीचमा उनको परीक्षा चल्दै थियो । यत्तिकैमा त्रिभुवन विश्वविद्यालयले मातहतका सबै क्याम्पसका परीक्षा स्थगित गर्ने सूचना जारी गर्‍यो । स्थगित परीक्षा सञ्चालनको पर्खाइमा रहेकै बेला कास्की प्रशासनबाट निषेधाज्ञा आदेश जारी भयो ।

पोखरामा व्यापार, व्यवसाय, अध्ययन, मजदूरी गर्न बसेकाहरु सबै घर फर्कने हतारोमा देखिन्थे

योभन्दा अगाडिको लकडाउनमा भोगेको पीडाको घाउ ताजै थियो उनमा । पहिलाको जस्तो दुख भोग्न नपरोस् भनेर उनी बिहानै पृथ्वीचोकमा झिटीझाम्टा बोकेर घर जाने तरखर लागेका हुन् । गत वर्ष लकडाउन हुँदा गाडी नपाएर हैरानी खेप्नु परेको पीडा उनले सुनाए । पढ्नका लागि पोखरा आएका उनलाई अब पनि पोखरा बसे भोकै मर्नुपर्ने अवस्था आउने चिन्ता थियो । ‘योभन्दा पहिलाको लकडाउनमा घर गएपछि सुबिस्ता भयो, गाउँमा त कोरोनाको डर पनि छैन,’ उनले भने ।

जोरबिजोर नियम लागु भएको बेला घर नगए बिजोग हुने उनको अनुमान छ । ‘अहिले त फाट्टफुट्ट गाडी चलेको छ, अहिले गएन भने पछि झनै गाह्रो पर्छ,’ उनले भने, ‘यो भन्दा ढिलो भयो भने पोहोरकै हालत हुन्छ ।’ घरमै गएर परीक्षाको तयारी गर्ने उनको सोच छ । बुधबार पनि उनी घर जान भनेर बिहानै ८ बजे नै पृथ्वीचोक पुगेका थिए । उनले १२ बजेसम्म बस पाएका थिएनन् । ‘सबै बस प्याक छन्, कोरोना सर्ला भन्ने डर भयो,’ उनले भने, ‘कोचिएर जान मन छैन, भनेजस्तो सिट पाएको छैन, अहिलेसम्म कुरेरै बसेको छु ।’ पोखरा पृथ्वीचोकमा उनीजस्ता सयौंको संख्यामा घर फर्कनेहरुको लर्को देखिन्थ्यो ।

पृथ्वीचोकमा बुधबारको दृश्य निकै खचाखच देखिन्थ्यो । सहचालकहरु पनि प्यासेन्जर तान्नमै व्यस्त थिए । कोही झोला तान्दै थिए, कोही कहाँ जाने भन्दै सोध्दै गरेका भेटिन्थे । काठमाडौं, काठमाडौं…, बुटवल, बुटवल…, नारायणगढ, हेटौंडा पूर्व, पश्चिम यस्तै आवाजले गुञ्जिएको थियो पृथ्वीचोक । पोखरामा व्यापार, व्यवसाय, अध्ययन, मजदूरी गर्न बसेकाहरु सबै घर फर्कने हतारोमा देखिन्थे ।

कास्की प्रशासनले बुधबारदेखि लागु हुने गरी जोर बिजोर प्रणाली अनुसार सवारी चलेका छन् । दिनभरिमा साना ठूला गरी करिब ४० का हाराहारीमा सवारी बाहिरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रहरी नायब निरीक्षक पूर्णबहादुर अधिकारीले बताए । ‘बस, मिनीबस र हाइस गरी लगभग ४० वटा बस पोखरा बाहिरिए,’ उनले भने, ‘दुई पांग्रेमा पनि उत्तिकै संख्यामा घर फर्कनुभएको छ ।’ प्रहरी नायब निरीक्षक अधिकारीका अनुसार निजी तथा सार्वजनिक दुई पांग्रे र चार पांग्रे सवारीबाट करिब २ हजार जनाले पोखरा छाडेका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width