संसदमै अड्कियो गण्डकीको सत्ता खेल, सांसद शाहीकाे पिसिआर रिपोर्ट नै शंकास्पद

प्रकाश ढकाल
वैशाख १६, २०७८
khim bikram

चरक अस्पतालमा उपचाररत सांसद शाही

पोखरा । राष्ट्रिय जनमोर्चाका सांसद खीमविक्रम शाहीले अस्वभाविक रुपमा संसद बैठक छलेपछि गण्डकी प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । बैठक सुरु हुने बेलासम्म आफू आउने बताइरहेका उनी कोरोना पोजेटिभ भएको रिपोर्ट लिएर अस्पताल पुगे ।

उक्त कुरा शाहीको दललाई समेत थाहा भएन । साढे २ बजेसम्म फोन लागिरह्यो । उनले फोन उठाएनन् । एक्कासी फोनको स्विच अफ भयो । त्यसपछि जनमोर्चाकै सांसद पियारी थापालाई मनमा चिसो पस्यो । शाहीलाई केही भयो कि भन्ने डरले कांग्रेस सांसद मेखलाल श्रेष्ठ र जसपा सांसद धनमाया लामालाई भनिन् ।

सांसद खिमविक्रम शाही

उनीहरु तीनै जना संसद चल्दाचल्दै गाडी लिएर शाहीको डेरातिर लागे । त्यहाँ पुग्दा शाहीको डेराको ढोकामा ताला लागेको थियो । थापाले फोन गरिन्, लागेन । थापाले त्यहाँबाट फर्केर आफ्नो सांसद बेपत्ता भएको भन्दै खोजिदिन संसद सचिवालयलाई निवेदन बुझाइन् । ‘मुख्यमन्त्री ज्यूको विरोधमा राखिएको अविश्वासको प्रस्तावमा जनमोर्चाले समर्थन जनाइरहेको सन्दर्भमा सदनको मतदानको परिस्थिति बनेको बेला पार्टीको प्रदेश सभा सदस्य खीमविक्रम शाहीको अवस्था अज्ञात रहेकोले सदनमा उपस्थित नहुँदासम्म सदनको कारबाही नचलाउन विनम्र आग्रह गर्दछु,’ दलकी सचेतक थापाले बुझाएको पत्रमा उल्लेख छ । सांसद थापाले प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रीलाई सम्बोधन गरेर सोही व्यहोराको पत्र बुझाएकी छन् ।

जनमोर्चाको निवेदनमा सभामुख नेत्रनाथ अधिकारीले तोक लगाएपछि प्रदेशसभा सचिव हरिराज पोखरेलले बैठक स्थगित भएको सूचना टाँसिदिए । त्यसअघि संसद बैठक २० मिनेटका लागि स्थगित भएको थियो । एमालेका प्रमुख सचेतक मायानाथ अधिकारीले विशेष अधिवेशनको कार्यसूची स्थगीत गर्नु संसदीय व्यवस्था बाहिरको विषय भएको प्रतिक्रिया दिए ।

‘विशेष अधिवेशन हो । कार्यसूची आएपछि बैठक स्थगित गर्न मिल्दैनथ्यो । जनमोर्चाका माननीयको कुरा आयो, उहाँको समस्या हो भने खोजी गर्नुपर्छ । पत्ता लगाउनुपर्‍यो । मैले सुने अनुसार अस्पतालमा उपचार गरेको थाहा भयो,’ उनले भने, ‘सांसदहरुले नै होहल्ला गरेर नियमित अधिवेसन रोक्ने काम संसदीय व्यवस्था होइन ।’

सभामुखले नियोजित रुपमा घटनाक्रम मोडेको उनको आरोप छ । सभामुखले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएर संसद परिसरबाट वाहिरिएपछि नेकपा एमाले झनै आक्रोसित बनेको छ । ‘बैठक भनेर बोलाउनुभएको थियो । हामी केही ढिलो भयो । हामी आउछौं भनेर सचिवलाई जानकारी गरायौं । उहाँले गलत सन्देश दिनुभएछ,’ अधिकारीले भने, ‘सबै काम नियोजित रुपमा भइरहेको छ । सबैभन्दा ठूलो पार्टीबिना आफूखुसी गर्ने गाह्रो कुरा हो । कसैले त्यसो सोचेको छ भने त्यो पूरा हुन सक्दैन ।’

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता प्रकाशचन्द्र दवाडीले सत्ताको दुरुपयोग गरिएको आरोप लगाए । ‘उहाँहरुले प्रस्तावको पक्षमा भोट हाल्ने निर्णय गरिसक्नु भएको छ । एकाएक सांसद बेपत्ता हुनुहुन्छ । हामीले के बुझ्ने ?,’ उनले भने, ‘सबैलाई सहज रुपमा मतदानको वातावरण सिर्जना गरिनुपर्छ । कांग्रेसले सहजताको जोडदार माग गर्दछ ।’

एमाले सांसद राजीव पहारीले सभामुख राजनीतिक पार्टीको आरोप लगाए । ‘अविश्वास प्रस्ताव फेल हुनेभएपछि छापामार शैलीमा सभा अनिश्चितकालका लागि स्थगित गरियो, यसले अमुक राजनीतिक पार्टीको गोटी बनेको पुष्टि गर्छ, सभामुख कुनै दल केन्द्रित हुनु हुँदैन ।’

बोल्नेको नाम काटियो
सुरुमा एमालेले बोल्नका लागि १८ सांसदको नाम संसद सचिवालयलाई बुझाएको थियो । विपक्षी पार्टीले १–१ जना बोल्ने गरी नाम बुझाएका थिए । सत्तारुढ २ सांसदलाई कोरोना पोजेटिभ आएपछि उनीहरुको नाम काटियो । त्यसपछि बैठक सुरु भयो । बैठक चल्न थालेपछि धमाधम बोल्ने सांसदहरुको नाम काटिन थाल्यो । एमालेका ९ जनाले मात्रै आफ्नो विचार राख्न पाए । प्रतिपक्षी सांसदहरुले सत्तापक्षको नियोजित योजना अनुसार नाम काटिएको आरोप लगाएका छन् । ‘उहाँहरुको चलमल अस्वभाविक थियो । धमाधम बोल्नेहरुको नाम काट्नुभयो । जतिसक्दो छिटो मन्तव्य सिध्याएर निर्णायार्थ पेस गर्ने तयारीमा हुनुहुन्थ्यो,’ बैठकबाट निस्किएपछि १ सांसदले भने, ‘उहाँहरुको खेल यस्तो रहेछ । बल्ल बुझियो ।’

पिसिआर रिपोर्ट कसरी फरक ?
लाइफ केयर डायग्नोस्टिकले अप्रिल २७ दिउँसो ४ बजे स्वाब संकलन गरेको देखाएको छ । त्यतिबेला उनी संसद भवनमै स्वाबको लाइनमा थिए । शाहीले करिब ६ बजेसम्म संसद परिसरमै बिताए । दुईवटा रिपोर्ट हेर्दा कुनैपनि तथ्य मिल्दैन । लाइफ केयरमा उनको रिपोर्ट २८ अप्रिल साढे ७ बजे निकालिएको छ । प्रदेश जनस्वास्थ्यले भने १५ गते बिहान ७ बजेर २० मिनेटमा रिपोर्ट निकालेको छ । लाइफ केयरको रिपोर्टमा उनको फोन नम्बर र वर्ष समेत फरक लेखिएको छ ।

लाइफ केयरले निकालेको कोरोना रिपोर्ट

दुईथरी रिपोर्ट हेर्दा सांसद शाहीले झुट बोलेको स्पष्टै हुन्छ । चरक हस्पिटलमा भर्ना भएपछि बुधबारै लिएको स्वाबको रिपोर्टमा कोरोना पोजेटिभ देखिएको छ । उक्त रिपोर्टको नतिजा बुधबार साँझ आएको हो । प्रदेश सभाका सबै सांसद र कर्मचारीको मंगलबार स्वाब लिइएकामा बुधबार बिहान सबैको नतिजा आएको थियो । सांसदत्रय राजीव पहारी, प्रभा कोइराला र मनकुमारी गुरुङको रिपोर्ट पोजेटिभ आएको थियो ।

दलका नेतालाई ढाँटे
गण्डकीको प्रदेशसभा बैठक बुधबार १ बजेका लागि डाकिएको थियो । आन्तरिक तयारी गर्दागर्दै करिब ४० मिनेट ढिलो मात्रै बैठक चल्यो । १ बजेर ३७ मिनेटमा दलका नेता कृष्ण थापाले शाहीलाई फोन गरे । उनले मतदानको समयसम्म आफू आइपुग्ने बताएका थिए । ‘मलाई उहाँ बिरामी भएको जानकारी नै छैन । प्रदेशसभाको घण्टी बज्दा फोन गरेको थिएँ । छिटो आउनु भन्दा हुन्छ, मतदान हुने बेला अनिवार्य आउँछु भन्नुभएको थियो,’ उनले भने, ‘त्यसपछिका घटना मलाई केही थाहा छैन । म बुझ्छु । स्पष्टीकरण पार्टीले पनि सोध्छ ।’ दिउँसो साढे २ बजेसम्म पनि उनको फोन लागेको थियो, तर उठाएनन् । त्यसपछि जनमोर्चाकै सांसद पियारी थापा, जसपाकी धनमाया लामा र कांग्रेसका मेखलाल श्रेष्ठ उनको डेरामै पुगेका थिए । ‘उहाँ सोमबार देखि नै कोठामा जानु भएको रहेनछ । हामी जाँदा कोठामा ताला लगाएको भेटियो,’ एक सांसदले भने ।

शाहीका भाइ जुनविक्रम शाहीले भने बुधबार १२ बजे कोठामै बिरामी भएर अस्पताल लगेको बताए । ‘खाना खाएपछि १२ बजेतिर टाउको दुख्यो भन्नुभयो । त्यसपछि मैले गाडीमा ल्याएँ । भर्ना ग¥यौं । अहिले आइसियुमा हुनुहुन्छ,’ उनले भने, ‘प्रेसरको कारण यस्तो भएको भन्नुभएको छ । म पनि बाहिरै छु । हेर्न पाएको छैन ।’

उनका भाइले डाक्टरलाई उद्धृत गर्दै प्रेसरको बिरामी भनेका छन्, तर अस्पतालले कोभिडको कारण भर्ना गरेको जनाएको छ । अस्पतालका निर्देशक कपिल पोखरेलले कोभिड पुष्टी भएपछि मात्रै अस्पताल ल्याएको बताए । ‘भेट्न त मिल्दैन । कोरोनाका बिरामी भेट्ने अनुमति कसैलाई छैन । उहाँलाई कोभिड भएरै ल्याएको हो,’ उनले भने । डा. बद्री पौडेलले पनि शाहीको स्वास्थ्य अवस्था निकै कमजोर भएको बताए । ‘उहाँ कोरोनाको सिरियस बिरामी हुनुहुन्छ,’ उनले भने, ‘कोभिडको पोइन्ट २० मा छ ।’ चरकमा भर्ना भएका शाहीको स्वास्थ्य अवस्था बुझ्न मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, अर्थमन्त्री किरण गुरुङसहित सांसदहरु पुगेका थिए ।

प्रदेश प्रयोगशालामाथि नै प्रश्न ?
एकै समयमा लिइएको स्वाबको रिपोर्ट फरक आएपछि अहिले प्रदेश सरकारले स्थापना गरेको प्रयोगशालामाथि नै प्रश्न तेर्सिएको छ । प्रदेश प्रयोगशालाले नेगेटिभ निकालेको रिपोर्ट निजी कम्पनीको प्रयोगशालाले पोजिटिभ देखायो । प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले आफू यसबारे नबोल्ने बताए । ‘म पव्लिक हेल्थको मान्छे हुँ । टेक्निकल्ली बोल्न मिल्दैन,’ उनले भने ।

‘षढयन्त्रको गन्ध’
राष्ट्रिय जनमोर्चा गण्डकी अध्यक्ष शंकर बरालले सांसद खीमविक्रम शाहीको बिरामी प्रकरणमा षड्यन्त्रको गन्ध मिसिएको प्रतिक्रिया दिएका छन् । यस्तो महामारीका बेला बिरामी पर्न सक्ने भए पनि अस्पताल प्रशासन र जिल्ला प्रशासनको रबैया देख्दा पक्कै षड्यन्त्र मिसिएको उनको भनाइ थियो । आफ्ना सांसद बिरामी परेको थाहा पाएपछि चरक पुगेका उनलाई अस्पताल प्रशासनले कुनै हालतमा भेट्न नदिने बताएपछि अध्यक्ष बरालले आक्रोशसमेत व्यक्त गरे । उनले भने, ‘मापदण्ड अनुसार हेर्छु भन्दा पनि दिएनन्, सिरियस हुनुहुन्छ, हाइफ्लोको अक्सिजन दिएको छ, जतिबेला जे पनि हुनसक्छ भनेर डाक्टरले भेट्न दिएनन् ।’ बाहिरबाट हेरेर बिरामी परेको उहाँ हो कि होइन भनेर चिन्न मात्र खोज्दा समेत अनुमति नदिएको उनले बताए । सिडिओ थानेश्वर गौतमले समेत आफूमाथि त्यस्तै व्यवहार गरेको भन्दै उनले असन्तुष्टि जनाए ।

स्वतन्त्र सांसद पनि संसद गएनन्
जनमोर्चाले मतदान गरेकै ठाउँमा भोट हाल्ने प्रतिक्रिया दिँदै आएका स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) पनि बुधबारको संसद बैठकमा सहभागी भएनन् । बैठक चल्ने बेलादेखि नै उनको फोन अफ थियो । कुनैपनि नम्बरमा फोन लागेन । बुधबारको बैठकमा आउनकै लागि उनले मंगलबार पिसिआर परीक्षणका लागि स्वाव दिएका थिए । उनको कोरोना नेगेटिभ आएको छ ।

तर सांसद मनाङे संसदमा आउँदै आएनन् । उनले आफूलाई स्वतन्त्र सांसदको कुर्ची टेबुल मिलाइदिन सोमबार निवेदन दिएका थिए । सोही अनुसार संसद सचिवालयले छुट्टै ठाउँको व्यवस्था गरिदियो । मंगलबार नेकपालाई आफ्नो नामबाट गएको लेबी फिर्ता मागे । उनी आफू कुनै पनि राजनीति पार्टीमा संलग्न नरहेको सार्वजनिक वक्तव्य दिन्थे । जसको सरकार बन्छ, उतै मत दिने उनको प्रक्रिया थियो ।

यस्तो छ अंकगणित
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादीका २८ सांसदको हस्ताक्षर सहित वैशाख २ मा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका थिए । सो अवागै मुख्यमन्त्रीको सिफारिसमा वैशाख १ गते राति नै हिउँदे अधिवेशन अन्त्य गरेका थिए । २ गते नै ३ दलले विशेष अधिवेशन माग्दै प्रदेश प्रमुखसमक्ष निवदेन दिएका थिए । त्यसैका आधारमा प्रदेश प्रमुख अमिक शेरचनले १३ गते विशेष अधिवशेन बोलाएका हुन् ।

विशेष अधिवेशनको तेस्रो दिन बुधबार अविश्वासको प्रस्तावमाथि मतदान हुने कार्यसूची थियो । ६० सदस्यीय प्रदेश सभामा अहिले एमालेसँग २७ मत छ । सरकारलाई स्वतन्त्र सांसद मनाङेको पनि अहिलेसम्म समर्थन छ । ३ सांसद भएको जनमोर्चाले सरकारलाई दिएको विश्वासको मत फिर्ता लिइसकेको छ । कांग्रेसका १५, माओवादी केन्द्रका १२ र जनता समाजवादी पार्टीका २ सांसद छन् । अविश्वास पारित गर्न जनमोर्चाका ३ मत अपरिहार्य थियो । जनमोर्चाका १ सांसद अनुपस्थित हुनेबित्तिकै प्रस्ताव फेल हुन्छ । जुन प्रयास बुधबार गण्डकीमा गरियो ।

Related News

सम्बन्धित समाचार

hero news full width