जनमोर्चाका सांसद खीमविक्रम संसदमा देखिएनन्

आदर्श समाज सम्वाददाता
वैशाख १५, २०७८
khim bikram shahi

पोखरा । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्तावमा मतदान हुने दिन आजको प्रदेश सभाको बैठकमा राष्ट्रिय जनमोर्चाका सांसद खीमविक्रम शाही अहिलेसम्म आएका छैनन्।
सरकार ढलाउन र टिकाउन निर्णायक मानिएको जनमोर्चाका सांसद नै यतिबेरसम्म संसदमा नदेखिँदा संशय उत्पन्न भएको छ । अविश्वासको प्रस्तावमा २८ जनाको हस्ताक्षर रहे पनि जनमोर्चाले मौखिक सहमति जनाएको छ ।

मतदानका बेला प्रस्तावको पक्षमै जाने गरी पार्टीले निर्णय समेत भइसकेको अवस्थामा यतिबेरसम्म सांसद शाही नआउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
प्रदेश सभाको उपचुनावमा उनी नेकपाकै सहयोगमा निर्वाचित भएका हुन् ।

६० सदस्यीय प्रदेश सभामा अहिले एमालेसँग २७ मत छ । सरकारलाई स्वतन्त्र सांसद मनाङेको पनि अहिलेसम्म समर्थन छ । ३ सांसद भएको जनमोर्चाले सरकारलाई दिएको विश्वासको मत फिर्ता लिएको जनाएको छ ।

कांग्रेसका १५, माओवादी केन्द्रका १२ र जनता समाजवादी पार्टीका २ सांसद छन् ।

वैशाख २ गते दर्ता भएको अविश्वासको प्रस्तावमा २८ जनाको हस्ताक्षर छ ।

प्रस्ताव पारित गर्न ३१ मत चाहिन्छ । स्वतन्त्र सांसद दिपक मनाङे पनि अहिलेसम्म संसदमा देखिएका छैनन् ।

अहिले सांसदहरुले बोल्ने क्रम जारी छ । सांसदहरुले बोलेर सकेपछि मुख्यमन्त्रीले जवाफ दिने र लगत्तै मतदान प्रक्रिया सुरु हुने कार्यसूची छ ।

Related News

सम्बन्धित समाचार

hero news full width