एमालेले भन्योः हामी दीर्घरोगी छौं, संसद नचलाऔं

प्रकाश ढकाल
वैशाख १४, २०७८
Sansad

गण्डकी प्रदेशसभामा अहिले विशेष अधिवेसन चलिरहेको छ । मुख्यमन्त्री विरुद्धको अविश्वास प्रस्ताव माथी छलफल चलिरहेको बेला दोश्रो दिनको बैठक सत्तारुढ दल नेकपा एमालेले अवरुद्ध गरेको छ । कोभिड १९ को संक्रमण भयावह हुँदै गएको भन्दै एमालेले बैठकको सुरुमै उभिएर बैठकमा अवरोध गरेको हो ।

‘कोभिड संक्रमणको अवस्था जटिल बनेको छ । पोखरामा पनि क्रमशः भयावह हुँदै छ । जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरिसकेको छ,’ एमाले सांसद राजीव पहारीले भने, ‘नयाँ भेरियण्ट तीब्र गतिमा फैलिएको अवस्थामा यो संसद चलाउनु हुँदैन । कोभिडको चेन ब्रेक गर्न आदेश विरुद्ध जान सकिँदैन ।’ प्रदेशसभाका सांसदहरु पनि दीर्घरोगको सिकार भएकोले कोभिड १९ को असर बढी पर्ने सांसद पहारीले बताए ।

‘सबै सांसदको पिसीआर टेष्ट गरियोस् । आधा भन्दा बढी सांसदले भ्याक्सिन लगाउनुभएको छैन । सरकारले नै २५ भन्दा बढी भेला हुन नपाउने निर्देशन जारी गरेको छ,’ उनले अघि भने, ‘सामान्य विधि पनि पालना नगरिकन बैठक चलाउँदा कोहि माननीय वा कर्मचारीको मृत्यु हुन पुगे त्यसको जिम्मेवारी कसले लिने ?’

सांसद पहारीले संसदभित्र २ सय भन्दा बढीको उपस्थितिमा बैठक बस्नु सरकारी मापदण्ड विपरित भएको बताए । सांसदहरु नै विभिन्न प्रकारका रोगबाट ग्रसित भएकोले बैठक सन्चालन नगर्न सभामुखको ध्यानाकर्षण गराए । ‘धेरै माननीयहरु आफैमा स्वास प्रश्वास सम्बन्धि समस्या छ । प्रेसर, सुगर, थाईराईड, लगायत दीर्घ रोगबाट ग्रसित छन्,’ पहारी अघि भन्छन्, ‘उनीहरुलाई बढी संक्रमण हुने देखाएको छ । राष्ट्रिय पत्रपत्रिकाले पनि पिसिआर गराउन ध्यान आकर्षण गराएको अवस्था छ । तर सभामुखले रुलिङ गर्नुभएन ।’

पिसिआर नगरी बैठक नचलाउन उनले आग्रह गरे । एमालेको अवरोधपछि संसद बैठक २० मिनेटका लागि स्थगीत भएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width