अविश्वास प्रस्तावककाे प्रश्न : संसद फेस गर्न किन डर ?

प्रकाश ढकाल
वैशाख १४, २०७८
krishna1

पोखरा । गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्तावले प्रदेशसभामा प्रवेश पाएको छ । प्रस्तावक तथा विपक्षी दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले २८ जनाको हस्ताक्षरसहितको प्रस्ताव सदनमा टेबुल गरे ।

कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीको हस्ताक्षरमा वैशाख २ गते संसद सचिवालयमा दर्ता भएको प्रस्ताव सोमबार संसदमा पेस भएको हो । ३ सांसद रहेको जनमोर्चाले प्रस्तावमा अलिखित समर्थन जनाएको छ । प्रस्ताव पेस गर्दै नेपालीले प्रदेश सरकारबाट समृद्धिको चाहना पूरा नहुने भएकोले विश्वास नभएको तर्क गरे ।

संसद फेस गर्न सकेन । सरकार भाग्यो । भागेपछि हाम्रो हतियार नै विशेष अधिवेशन हो

‘पार्टी विभाजन भएपछि मुख्यमन्त्रीले विश्वासको मत लिनुपथ्र्यो । सरकार अल्पमतमा परेपछि राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपथ्र्यो,’ उनले भने, ‘समर्थन गरेको दलले समर्थन फिर्ता लिएपछि पनि सरकार कुर्चीमा बसिराख्यो । यो जायज छैन ।’ उनले संघमा जस्तै असंवैधानिक व्यवहार प्रदेश सरकारले गरेको आरोप लगाए । ‘मध्यरातमा हिउँदे अधिवेशन अन्त्य भयो । जसरी केन्द्रमा नेपाली सुतिरहेको अवस्थामा असंवैधानिक रुपमा कदम चालियो, त्यहि पुनरावृत्ति प्रदेशमा भयो,’ उनी भन्छन्, ‘संसद फेस गर्न सकेन । सरकार भाग्यो । भागेपछि हाम्रो हतियार नै विशेष अधिवेशन हो ।’

प्रधानमन्त्री केपी शर्मा ओलीलाई समर्थन गरेको भएर मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएको तर्क पोखरेलले गरेका छन् ।

‘प्रधानमन्त्रीले प्रतिनिधिसभा भंग गर्ने । संवैधानिक निकाय समाप्त गर्ने गतिविधिलाई गण्डकी सरकारले सहयोग गर्‍यो, समर्थन गर्‍यो । संविधानको सपथ खाएका मन्त्रीले संविधान विपरित कार्यको वकालत गरे,’ उनी अघि थप्छन्, ‘यो परिस्थितिमा गुरुङ सरकार रहिरहँदा चुनौती र समस्या गम्भीर बन्दै गयो । जनताको विश्वास घट्दै जाने भयो । त्यसैले हामीले उहाँमाथि विश्वास छैन भनी अविश्वास प्रस्ताव पेस गर्‍यौं ।’ उनले प्रदेश पनि केन्द्रीय सरकारको ‘मतियार’को रुपमा लागेको आरोप लगाए ।

६ दिन झण्डा हल्लाएर के भो ?
माओवादीका सांसद दीपक कोइरालाले संविधानकै व्यवस्था अनुसार आफूहरु सरकार बनाउने बाटोमा लागेको बताए । ‘खाली सरकार बनाउनका लागि यो सबै भइरहेको छ भनेर भ्रम नछरौं । जसको संख्या पुग्छ, उसैको सरकार हुने स्वभाविक प्रक्रिया हो नि,’ उनले भने, ‘चलिरहेको बैठक हठात रुपमा अन्त्य गरिदिनुभयो । ६ गतेको अधिवेशन १३ गते बस्यो । ६ दिन मात्रै झन्डा हल्लाउन खोज्ने साथीहरु चाहिँ पदलोलुप नहुने । हामी संविधानको रक्षा गर्न खोज्दा चाहिँ झन्डाको लालचमा लागेको भन्दा सुहाएन कि ?’ मुख्यमन्त्री गुरुङले अविश्वास प्रस्ताव आउने थाहा पाएपछि चलिरहेको अधिवेशन वैशाख १ गते राति नै अन्त्यको सिफारिस गरेका थिए ।

त्यसपछि प्रतिपक्षी दलको मागका आधारमा सोमबारका लागि विशेष अधिवेशन बोलाइएको हो । कोइरालाले अहिलेको अवस्था सिर्जना हुनुको कारण खोजी गर्नु आवश्यक रहेको बताए । ‘५ वर्ष स्थायित्व दिन किन सकेनौं ? त्यो वहस गरौं । त्यसबाट हामी भाग्दैनौं,’ उनले भने, ‘तर स्थिरताका नाममा संघीयता खारेज हुने, संविधान खारेज हुने, लोकतान्त्रिक मूल्य मान्यताको अपहरण स्वीकार छैन ।’

‘मोटर चढ्ने रहर’
सत्तारुढ सांसद धनञ्जय दवाडीले कोइरालालाई जवाफ दिँदै भने, ‘यो कोरोना हुञ्जेल मास्क लगाएर हिँड्नुहोला, त्यसपछि जनतालाई के जवाफ दिनुहुन्छ ? एउटै घोषणपत्रबाट चुनाव लड्नुभयो । सरकारमा रहनुभयो । स्थिर सरकार बनाउने कुरा गर्नुभो । अनि आज मोटर चढ्न होइन भनेर म्याउ गर्नुहुन्छ ? तपाईंको म्याउ मोटर चढ्नका लागि हो । झण्डा हल्लाउनका लागि हो । तपाईंको यो अराजकता हो ।’ उनले यस्ता हर्कतले लोकतन्त्रलाई संस्थागत नगर्ने बताए । ‘अविश्वासको प्रस्ताव प्रधानमन्त्री विरुद्ध ल्याउनुभएको कि मुख्यमन्त्री विरुद्ध ? गण्डकी सरकारले के काम गरेन बताउनु पर्दैन ?, उनी भन्छन्, जनताको सपनालाई, विश्वासलाई मलामी लैजानेहरुले सहकार्य गरेर कसरी जन्ति सहित हनिमुन मनाउनु हुन्छ आगामी दिनमा हेरौंला ।’ उनले अपवित्र गठबन्धन भएकोले यसले संघीयता सवल नहुने बताए । उग्रपन्थी र दक्षिणपन्थीको मोर्चाले जनता विरोधी गतिविधि गर्दै आएको भन्दै उनले संघीयता विरोधी काम गर्नेले नै सुशासनको गफ दिनु नसुहाउने बताए ।

‘सत्ता लालचको रुप’
सत्तारुढ सांसद रोशन गाहा थापाले अविश्वास प्रस्तावलाई सत्ता लालचको रुपमा अथ्र्याएका छन् । ‘यति छिटो सत्ता लालची बनेर यस्तो कदम चाल्नुपर्ने थिएन । सरकारले जनताको मन जित्ने काम गरिरहेको छ । विकास देख्न नसकेर अस्थिरता ल्याउने प्रस्ताव ल्याइयो,’ उनले भने, ‘अविश्वास प्रस्तावले विकासको गतिमा ब्रेक लाग्ने छ । यो प्रस्ताव जनताबाट आएको प्रस्ताव होईन, सत्ताको मोहबाट आएको छ । यसमा मेरो सहमति छैन ।’

कांग्रेसका दोबाटे विश्वकर्माले जनताको अधिकार कुण्ठित गर्न खोजेपछि त्यसको परिणाम अहिले देखिएको बताए । ‘अब त जनताले सुख पाउलान भन्ने सोचेका थियौं । त्यहि भएर दुई तिहाई सरकारलाई सहयोग गर्दै आयौं,’ उनले भने, ‘सरकारले कानून मिचेर संसद विघटन ग¥यो । माथिको त्यो घटनासँग प्रदेश पनि अछुतो रहेन । चह्राएको घाउलाई नुन चर्कनु राम्रो होइन तर सरकारले राम्रो गरेन ।’

अधिवेशनमा कांग्रेसका मेखलाल श्रेष्ठ, सरीता गुरुङ ललिता गुरुङले सरकारले जनताको पक्षमा काम गर्न नसकेको बरु उल्टै कुर्सीमा टाँसिन अनेक खेल रचेको बताए ।

संख्यात्मक हिसावले प्रदेश सरकार अल्पमतमा परिसकेको छ । अहिले गुरुङको पक्षमा २७ जना मात्रै सांसद छन् । बहुमत पुर्‍याउन ३१ सांसद आवश्यक पर्छ । सरकारलाई समर्थन गर्दै आएको जनमोर्चा विपक्षमा उभिने निर्णय गरिसकेको छ । अरु तीन दलले प्रस्तावमा हस्ताक्षर नै गरेका छन् । नेकपामा पसेका स्वतन्त्र सांसद दीपक मनाङे (राजीव गुरुङ) पनि आफू स्वतन्त्र नै रहेको घोषणा गरिसकेका छन् । प्रस्तावमाथि २ दिन निरन्तर छलफल हुनेछ र मुख्यमन्त्रीले जवाफ दिएपछि बुधबार मतदान हुनेछ । प्रस्तावमाथि ३१ सांसदले मतदान गरे गुरुङ सरकारको आयु सकिनेछ र नयाँ मुख्यमन्त्रीमा कांग्रेस नेता नेपाली नियुक्त हुनेछन् ।

Related News

सम्बन्धित समाचार

hero news full width