ठाडोभाकामा सावित्री र मानसिं विजयी

आदर्श समाज सम्वाददाता
वैशाख १३, २०७८
thado bhaka

लमजुङ । लमजुङमा आयोजना गरिएको ठाडोभाकाको दोस्रो संस्करणको प्रतियोगिताको उपाधि सावित्री शाही र मानसिं दुराले हात पारेका छन् । मध्यनेपाल नगरपालिका ७ का सन्तबहादुर गुरुङ र सुकमाया विकको समूह दोस्रो, सुन्दरबजार नगरपालिका ९ भोटेओडारका धनबहादुर गुरुङ र बुद्धिमाया गुरुङ तेस्रो भए । दोर्दी गाउँपालिका ७ का गजबहादुर गुरुङ र सोही गाउँपालिकाका काली पाख्रिनको टोलीले सान्त्वना स्थान हासिल गरेका छन् ।

ठाडोभाका लोककला प्रतिष्ठान नेपाल लमजुङको आयोजनमा दार्दी गाउँपालिका ६ को कीर्तिपुरबेसीमा भएको प्रतियोगितामा १५ समूह सहभागी भएको आयोजक समिति सदस्य संजोग लामिछानेले बताए । प्रतियोगितामा पहिलो हुने टोलीले २५ हजार, दोस्रोले १५ हजार, तेस्रोले १० हजार र सान्त्वना हुनेले ३ हजारका साथमा प्रमाणपत्र प्राप्त गरे ।

विजयीलाई दोर्दी गाउँपालिकाका उपाध्यक्ष दिलबहादुर घले, दोर्दी ६ का अध्यक्ष नवराज घले, आयोजक संस्थाका संरक्षक एवं ठाडो भाकाका नायक बुद्धिमान दुरा ‘धम्पु’ र अध्यक्ष नवराज पहाडीले पुरस्कार र प्रमाणपत्र वितरण गरेका थिए ।

यस वर्षको प्रतियोगितामा २७ वर्षकी शाही पहिलो हुनुले नयाँ पुस्तामा पनि यो गीत हस्तान्तरण हुन थालेको प्रतीत भएको संस्थाका अध्यक्ष नवराज पहाडीले बताए ।

‘कोभिडविरुद्धको खोप लगाउन सुरु भएपछि परम्परा जोगाउने उद्देश्यले हिम्मत ग¥यौंं,’ आयोजक समिति अध्यक्ष नवराज पहाडीले भने, ‘सहभागी टिम, सहयोगी संस्था र दर्शकले पनि साथ दिएकाले प्रतियोगिता भव्य बनाउन सफल भएका छौं ।’

२०७६ सालदेखि सुरु भएको प्रतियोगिता गत वर्ष कोरोना जोखिमका कारण स्थगित गरिएका थियो । २०७८ सालमा भएको भए पनि यो २०७७ सालको प्रतियोगिता भएको भन्दै अध्यक्ष पहाडीले २०७८ सालमा अर्को प्रतियोगिता गरिने बताए ।

१० जना सम्मानित
यसैबीच स्रष्टा, सामाजिक अभियन्ता १० जनालाई सम्मान गरिएको छ । ठाडोभाका लोककला प्रतिष्ठानका संरक्षक बुद्धिमान दुरा ‘धम्पु’लाई ठाडोभाका महानायकको उपाधिबाट सम्मान गरियो । इन्द्रेणी कार्यक्रमका सञ्चालक कृष्ण कँडेललाई ठाडोभाका–कृष्णकुमारी ढुंगाना स्मृति पुरस्कार अर्पण गरिएको छ । उक्त पुरस्कारको राशि नगद १० हजार ५ रुपैयाँ, दोसल्ला र सम्मान पत्र छ ।

यसैगरी मस्र्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङ र दोर्दी ५ खानीगाउँ स्थित होमस्टेसहित रक गार्डेनका परिकल्पनाकार कामसार्की गुरुङ र ७० वर्ष माथिका गायक गायिकाहरु जितसुब्बा दुरा, उनकी श्रीमती हस्तमाया दुरा, लक्ष्मी गुरुङ, मीनबहादुर गुरुङ, धर्मसिंह गुरुङ र गणेश गुरुङ छन् ।

प्रतिष्ठानले ठाडोभाकाकी अग्रज गायिका नन्दमाया दुरालाई ‘ठाडोभाका साम्राज्ञी’को उपाधिसहित सम्मान गरेको छ ।
संस्थाका उपाध्यक्ष शोभा थापाको अध्यक्षतामा सुरु भएको प्रतियोगिताको समापन कार्यक्रम सल्लाहकार नरेन्द्रराज ढुंगानाको अध्यक्षतामा भएको थियो । प्रतियोगिताको उद्घाटन संविधान सभाका अध्यक्ष एवम् प्रतिष्ठानका सल्लाहकार जमिन्द्रमान घलेले उद्घाटन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width