प्रदेश खेलकुद परिषदले तोक्यो जिल्ला इन्चार्ज

आदर्श समाज सम्वाददाता
वैशाख १३, २०७८
sports council (1)

पोखरा । गण्डकी प्रदेश खेलकुद परिषदको पहिलो पूर्ण बैठकले जिल्ला र खेल संघको जिम्मेवारी तोक्ने लगायत निर्णय गरेको छ ।

गण्डकी प्रदेश सामाजिक विकास मन्त्री एवं परिषदका अध्यक्ष नरदेवी पुन मगरको अध्यक्षतामा सोमबार बसेको बैठकले परिषद गठनका लागि प्रदेश सरकारलाई आभार व्यक्त गर्दै परिषदका सदस्यहरुलाई जिल्ला र खेल संघहरुको इन्चार्जको जिम्मेवारी तोकेको हो । कार्यालय तथा कर्मचारी व्यवस्थापन तथा आर्थिक वर्ष २०७८÷०७९ को बजेटका विषयमा समेत निर्णय भएको छ ।

प्रदेश भित्रको खेलकुदमा क्रियाशील खेलाडीहरुको स्वास्थ्य बिमा गरिने

बैठकले गण्डकी प्रदेश खेलकुद परिषदका सदस्य रामचन्द्र थापालाई कास्की जिल्ला खेलकुदको इन्जार्ज, गोरखामा ज्ञानबहादुर बोहरा, लमजुङमा बासु बराल, तनहुँमा तारामाया थापामगर, नवलपुरमा योगिताकुमारी सहानी, म्याग्दीमा चन्द्रा घलेगुरुङ, मुस्ताङमा योगेन्द्र शेरचनलाई इन्चार्जको जिम्मेवारी दिइएको छ । मनाङ इन्चार्जमा योगेन्द्र गुरुङ तथा पर्वत जिल्ला र सञ्चारको इन्चार्जमा केशव पाठकलाई तोकेको छ भने खेल संघहरुको इन्चार्जमा ऋषिराम गौतमलाई जिम्मेवारी दिइएको छ ।

बैठकले कार्यालय तथा कर्मचारी व्यवस्थापनसँगै प्रदेश खेलकुदका लागि अािर्थक वर्ष २०७८÷०७९ बजेट तर्जुमा गर्न परिषदका सदस्य सचिव तेजबहादुर गुरुङको संयोजकत्वमा ५ सदस्यिय कमिटी गठन गरेको छ । सदस्यमा दिलबहादुर गुरुङ, तारामाया थापामगर, प्रदेश खेलकुद महाशाखा प्रमुख तेजप्रसाद काफ्ले र क्षेत्रीय खेलकुद समिति निर्देशक कृष्ण तिमिल्सिना छन् ।

गण्डकी प्रदेश खेलकुद परिषद्को लोगो डिजाइन तथा वेबसाइटको कार्यलाई अगाडि बढाउन परिषदका सदस्य खगेन्द्र क्षेत्रीको संयोजकत्वमा निर्मला बराल र केशव पाठक सदस्य रहने गरी ३ सदस्यीय कमिटी गठन भएको छ ।

प्रदेश भित्रको खेलकुदमा क्रियाशील खेलाडीहरुको स्वास्थ्य बिमा, प्रदेश खेल संघहरुको गठन, जिल्ला–जिल्लामा खेलाडीहरुको पहिचानका लागि ट्यालेन्ट हन्ट लगायत अन्य प्रशिक्षणका कार्यक्रमहरुलाई समेत अगाडि बढाउने निर्णय बैठकले गरेको छ । १ स्थानीय तह १ खेल मैदान अन्तर्गत निर्माण भइरहेका कार्यहरुको निरीक्षण तथा अनुगमनलाई तिव्रताका साथ अघि बढाउने गरी बैठकमा छलफल भएको उपाध्यक्ष तेजबहादुर गुरुङले बताए । नवौं राष्ट्रिय खेलकूद प्रतियोगिताको तयारीका लागि समेत विभिन्न निर्णयहरु गरी अगाडि बढ्ने निर्णय भएको छ ।

बैठकलाई सम्बोधन गर्दै सामाजिक विकास मन्त्री नरदेवी पुनमगरले जिल्लाहरुमा प्रशिक्षणका कार्यक्रम अगाडि बढाउन र स्थानीय तहहरुलाई खेलकुदको ऐन निर्माण गरेर अगाडि बढ्न प्रोत्साहित र परिचालन गर्नुपर्ने बताइन् । उनले भनिन्, ‘प्रदेशको खेलकुद विकासका लागि सबैसँग मिलेर नागरिकहरुलाई खेलकुदमा जागरण ल्याउन आवश्यक छ ।’

Related News

सम्बन्धित समाचार

hero news full width