लकडाउन नजिक कास्की !

आदर्श समाज सम्वाददाता
वैशाख १२, २०७८
cdo kaski

पोखरा । छिमेकी मुलुक भारतमा दैनिक झन्डै ३ हजार हाराहारीमा मानिसको मृत्यु भएकोे समाचारसँगै शव सामूहिकरुपमा जलाएको तस्बिर सामाजिक सञ्जालमा यतिखेर भाइरल छ । सीमा नाका खुला रहेको नेपालमा पनि कोभिड–१९ ले अघिल्लो वर्षकै झल्को दिने महामारीको रुप लिँदै गएको पाइन्छ । तर स्वास्थ्य सुरक्षाको मापदण्ड फितलो हुँदा फेरि लकडाउन हुने हो कि भन्ने संशय कायमै छ ।

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) ले कोरोना भाइरस (कोभिड–१९) संक्रमणको चेन ब्रेक गर्न संक्रमणको अवस्था हेरेर लकडाउनबारे निर्णय गर्न सरकारलाई सिफारिस गरेको छ । आइतबार गरिएको सिफारिसमा पहाडमा २ सय र सहरी क्षेत्रमा ५ सय जना संक्रमित भएमा सम्बन्धित जिल्लास्थित डिसिसिएमसीले निषेधाज्ञा गर्न सक्ने गरी सिफारिस गरिएको छ ।

मास्क नलगाउने १ हजार ७८ जनालाई नियन्त्रणमा लिई कोरोना सचेतनाबारे प्रशिक्षण

कोरोनाको दोस्रो लहर सुरु भएसँगै कास्की पनि उच्च जोखिमको सूचीमा छ । कास्की सहित काठमाडौं उपत्यकाका ३ जिल्ला, मोरङ, पर्सा, दाङ, बाँके, रुपन्देहीमा हाल ५ सय बढी सक्रिय संक्रमित छन् । कास्कीमा आइतबार साँझसम्म यसको संख्या ६ सय ६३ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयले गण्डकीले जनाएको छ । कास्कीमा अघिल्लो सातासम्म ४ सय ९ सक्रिय संक्रमित रहेकोमा बढेर ६ सय ६३ पुगेको हो । यो तथ्यांक हेर्दा सिसिएमसीको गरेको सिफारिस अनुसार कास्कीमा पनि निषेधाज्ञा हुने संकेत देखा परेको छ ।

प्रदेशमा आइतबार ६ सय ३२ पिसिआर परीक्षणमा १ सय ६३ जना थपिएकोका मध्ये कास्कीका मात्रै १ सय २४ जना छन् । स्वास्थ्य मापदण्ड नअपनाउँदा यसरी जिल्लामा संक्रमित संख्या दिनानुदिन बढिरहेको छ ।

प्रदेशमा एक सातामा ६ सय जना कोरोना संक्रमित थप भएका छन् । अघिल्लो आइतबारसम्म कुल संक्रमित संख्या १७ हजार १ सय ६५ रहेकोमा हाल बढेर १७ हजार ७ सय ३७ पुगेको छ । यस साता ४ जनाको मृत्यु सँगै प्रदेशमा मृत्यु हुनेको संख्या २ सय ११ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका निर्देशक डा. विनोदबिन्दु शर्माले बताए ।

पार्टी प्यालेसमा अनुगमन
कास्की प्रशासनले कोभिड १९ को रोगथाम र नियन्त्रणका लागि सचेतना एवं अनुगमन तीव्र पारेको छ । पोखरा बजारमा दिनानुदिन संक्रमितको संख्या बढ्दै गएपछि प्रशासनले सार्वजनिक स्थानमा सुरक्षा मापदण्ड अपनाउन सर्वसाधारणलाई सचेत गराउनुका साथै विभिन्न समारोह हुने पार्टी प्यालेसमा अनुगमन बढाएको हो ।

आइतबार पोखराका बढी भीभाड हुने चिप्लेढुंगा, अमरसिंह चोक, पृथ्वीचोक, सभागृहचोक लगायतमा मास्क नलगाउने व्यक्तिलाई १ घन्टा नियन्त्रणमा लिई कोरोना भाइरसबाट बच्न अपनाउनुपर्ने स्वास्थ्य मापदण्ड लगायतबारे सचेतना गराइएको प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जानकारी दिए ।

मास्क नलगाउने १ हजार ७८ जनालाई नियन्त्रणमा लिई कोरोना सचेतनाबारे प्रशिक्षण दिइएको उनले बताए । साथै सामुदायिक प्रहरीको सक्रियतामा मास्क समेत वितरण गरिएको थियो ।

प्रशासनले पोखराका विभिन्न ५ वटा पार्टी प्यालेसमा पनि अनुगमन गरेको छ । कोरोना संक्रमणको दर बढिरहेको अवस्थामा प्रत्येक नागरिकले स्वास्थ्य मापदण्ड पालना गर्नुपर्नेमा बताउँदै प्रजिअ गौतमले प्रशासनले अनुगमनलाई निरन्तरता दिने जनाए । उनले जिल्लामा निषेधाज्ञा गर्ने वा नगर्ने भन्ने विषयमा निर्णय कुरेर बसेको बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width