सञ्चारिका समूह गण्डकीको पुरस्कार सुष्मा र प्रतीक्षालाई

आदर्श समाज सम्वाददाता
वैशाख ११, २०७८
shusma paudel (2)

पोखरा। सञ्चारिका पत्रकारिता पुरस्कार–२०७७ बाट पत्रकार सुष्मा पौडेल पुरस्कृत भएकी छिन् । यस्तै, गुरुङ ब्युटी एकेडेमी जर्नलिज्म अवार्ड पत्रकार प्रतीक्षा काफ्लेले प्राप्त गरिन् ।

पोखरामा शनिबार आयोजित समारोहमा गण्डकी प्रदेशसभा उपसभामुख सिर्जना शर्माले पत्रकार पौडेललाई २५ हजार १ सय र काफ्लेलाई १० हजार १ सय रुपैयाँ साथमा सम्मानपत्र प्रदान गरेकी हुन् ।

नेपाल पत्रकार महासंघ कास्कीका निवर्तमान अध्यक्ष दीपेन्द्र श्रेष्ठको संयोजकत्वमा, ब्रोडकास्टिङ एसोसिएसन नेपाल (बान) केन्द्रीय महासचिव दुर्गा अधिकारी र नेपाल आदिवासी जनजाति पत्रकार समूह (फोनिज) गण्डकी अध्यक्ष एमबी आस्थामगर सदस्य रहेको छनौट समितिले प्रतिभा चयन गरेको थियो । पत्रकार पौडेल सञ्चारिका समूहकी पूर्व अध्यक्ष हुन् भने काफ्ले कान्तिपुरमा आबद्ध छिन् ।

पत्रकारिता क्षेत्रमा महिलाको सक्रियता, सवलता र नेतृत्व क्षमता वृद्धि गर्न हौसला प्रदान गर्ने उद्देश्यले पोखरा किन्डर गार्डेनकी संस्थापक प्रधानाध्यापक कमला प्रधानले २ लाख रुपैयाँको अक्षकोषमार्फत यो पुरस्कार स्थापना गरेकी हुन् ।

यस्तै, पत्रकार महिलालाई क्रियाशील र पेसाप्रति जिम्मेवर बन्न हौसला प्रदान गर्ने उद्देश्यले सौन्दर्यकर्मी चीनु गुरुङले आफ्नो कम्पनी गुरुङ ब्युटी एकेडेमी नाममा गुरुङ ब्युटी एकेडेमी जर्नलिज्म अवार्ड स्थापना गरेकी हुन् । दुवै पुरस्कार सञ्चारिका समूह गण्डकी प्रदेशले सञ्चालन गर्दै आएको छ ।

सो अवसरमा उपसभामुख सिर्जना शर्माले पत्रकार महिलाले अवसर पाए राम्रो काम गर्न सक्ने बताइन् । उनले आफ्नो क्षमतामा पनि अभिवृद्धि गर्दै जानुपर्ने सुझाव दिइन् ।

सञ्चारिका समूह गण्डकी प्रदेश अध्यक्ष स्मीता अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन महासचिव कविता श्रेष्ठले गरेकी थिइन् ।

Related News

सम्बन्धित समाचार

hero news full width