कोरोना छिचोल्दै जुरमुरायो ट्राफिक प्रहरी

आदर्श समाज सम्वाददाता
वैशाख ११, २०७८
traffic police

पोखरा । सरकारले लकडाउन गरेसँगै गत चैत ११ गतेदेखि सडकमा गाडी चलेनन् । ठप्प सडकमा ट्राफिक जाँच नै भएन तर साउन ७ गतेदेखि लकडाउन केही खुकुलो भयो । सडकमा फाट्टफुट्ट सवारी चल्न सुरु गरे । बजार खुल्न थाले, त्यससँगै होटल, रेस्टुरेन्ट पनि मापदण्ड पूरा गर्दै खुल्न सुरु भयो ।

लकडाउन खुल्यो, बजार खुल्यो, चाडबाड नजिकियो तर कोरोना संक्रमितको दर भने दिनानुदिन बढ्दै थियो । फिल्डमा खटिएका ट्राफिकलाई चेकिङमा समस्या भयो । अझ मापसे चेक गर्नु टाउको दुखाइकै विषय बन्यो । ड्युटीमा खटिसकेपछि काम त गर्नै प¥यो, जेनतेन काम चलिरहेको थियो । पछिल्लो सयम नेपालभरि नै कोरोनाको नयाँ भेरियन्ट देखापरेको छ । यसको प्रभावले तराईका केही जिल्ला हतासमा छन्, कुनै ठाँउमा लकडाउन नै सुरु भइसकेको छ ।

गण्डकी प्रदेशसँगै कास्की जिल्लामा पनि नयाँ भेरियन्टको प्रभाव दिन २ गुना रात चौगुनाको ढंगबाट बढिरहेको छ ।
यसको नियन्त्रणका लागि प्रदेश, जिल्ला र पोखरा महानगर तयारीमै रहँदा जिल्ला ट्राफिक कार्यालय कास्की भने जिम्मेवारीपूर्वक अघि बढिसकेको छ ।

शनिबार जिल्ला ट्राफिक कार्यालयका केही ट्राफिक कर्मचारीहरु फिल्डमै खटिएका थिए । फिल्डमा खटिएका ट्राफिक प्रहरीहरु बाटोमा सवारी रोक्दै मास्क, सेनिटाइजर, भौतिक दूरी र आवश्यक सुरक्षाका सामग्रीका बारे सचेत गराउँदै थिए । कोरोना कहरबीचमा पोहोर सालजस्तो स्थिति नदोहोरियोस् भनेर सजग भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रहरी नायव निरीक्षक पूर्णबहादुर अधिकारीले जानकारी दिए ।

शनिबार जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीको अग्रसरतामा सवारी चालकलाई सचेत गराइएको छ । कोरोना संक्रमण बढ्दै गएको बेला पोखराको विभिन्न स्थानमा मास्क नलगाई हिंडेका सवारी चालकलाई सचेत गराइएको अधिकारीले बताए । यो अभियान अझै सशक्तरुपमा अघि बढाउने आफूहरुको योजना रहेको उनको भनाइ छ ।

Related News

सम्बन्धित समाचार

hero news full width